शनिबार, वैशाख २७, २०८२

वाइसिएलको नेतृत्व नटुंगिदा पार्टीको हस्तक्षेप, स्थायी समिति बैठकले टुंगो लगाउने

मेरोन्यूज २०७८ भदौ १४ गते १५:३४

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)को नेतृत्व चयन सहमतिमा नटुंग्ग्दिा पार्टीले हस्तक्षेप गरेको छ । सहमतिमा नेतृत्व चयन गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन सत्रमा आग्रह गरेका थिए ।

त्यसो गर्न नसके पार्टीले नै अध्यक्षसहितका पदाधिकारी चयन गर्ने प्रचण्डले यस अगाडि वाइसिएलका नेताहरूलाई बताइसकेका थिए । शनिबारदेखि शुरु भई आइतबार सकिने भनिएको राष्ट्रिय भेला नेतृत्व चयनमा समस्यामा देखिदा सोमबार बिहान ११ बजेसम्मलाई भेला स्थगित गरिएको थियो ।

अध्यक्षका लागि समुन देवकोटा, सुवोध सेर्पाली र यशोदा न्यौपाने प्रतिस्पर्धामा छन् । जसमा देवकोटा र सेर्पालीमध्ये एक जना अध्यक्ष बन्ने सम्भावना छ । तर, दुवैले नेतृत्वको दाबी नछोडेपछि पार्टीले हस्तक्षेप गरेर निर्णय लिन लागेको हो ।

त्यसका लागि पार्टी स्थायी कमिटी बैठक अहिले पोरिस डाँडा बसिरहेको छ । यो बैठकले वाइसिएलको अध्यक्षसहितका पदाधिकारीको टुंग्गो लगाउने र त्यसलाई राष्टि«य भेलाले अनुमोदन गरेर नेतृत्व चयन गर्ने भएको छ । प्रचार विभाग प्रमुख पुष्प वलीले सहमति नजुटेपछि पार्टीले नेतृत्व चयन गर्न लागेको बताए । ‘अहिले पार्टी स्थायी कमिटी बैठक बसिरहेको छ, अब यही बैठकले पदाधिकारी चयन गरेर पठाउने भएको छ,’ वलीले मेरोन्युजसँग भने ।

त्यस्तै, महासचिवमा सहमति जुटेको छैन । महासचिवका लागि कसम गुरुङ, गणेश शाही, मिङ्मातन्डु शेर्पा र नवराज ढुंगाना ‘विश्वास’ले दाबी गरेका छन् । यसमा पनि कसैले दाबी छाडेका छैनन् ।

सम्भवत माओवादी स्थायी समितिले अहिले उपाध्यक्ष रहेका देवकोटालाई अध्यक्ष र महासचिव रहेका सेर्पालीलाई वरिष्ठ उपाध्यक्ष बनाएर राष्ट्रिय सम्मेलनबाट सेर्पालीलाई अध्यक्ष बनाउने मोडलमा सहमति जुटाउन सक्ने पनि बताइएको छ । तर, त्यसको पनि कुनै टुंग्गो लागेको छैन ।

अबको केही घण्टामा नै माओवादी केन्द्रले वाइसिएलको नेतृत्व टुंग्गो लगाइदिने भएको छ ।

प्रतिक्रिया