सवारी दुर्घटनाबाट एक वर्षमा ४८ जनाको मृत्यु

दमौली । सवारी दुर्घटनाबाट तनहुँमा एक वर्षको अवधिमा ४८ जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ को अवधिमा ३७ पुरुष, आठ महिला र तीन बालकले ज्यान गुमाएका छन् ।
आव २०७६/७७ मा ४४ र आव २०७५/७६ मा ६० जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । पछिल्ला तीन वर्षको अवधिमा जिल्लामा १५२ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।
ट्राफिक प्रहरी कार्यालयका प्रमुख डोलेन्द्रबहादुर हमालले ७२ किलोमिटर पृथ्वीराजमार्ग रहेको तनहुँ खण्डमा गत वर्ष ९० स्थानमा दुर्घटना भएको जानकारी दिए ।
त्यसक्रममा १२८ सवारी साधन दुर्घटनाग्रस्त भएका थिए । उनका अनुसार मोटरसाइकल र स्कुटर ६६, ट्रक/ट्याङ्कर १८, जिप/कार १७, ट्र्याक्टर १७, बस पाँच, माइक्रो चार र एउटा टिपर दुर्घटना भएका थिए ।
दुर्घटनामा ७६ जना गम्भीर र ५१ जना सामान्य घाइते भएको सो कार्यालयले जनाएको छ । जिल्लामा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन दुर्घटना हुने गरेका छन् । दुई पाङ्ग्रे सवारी साधन अत्यधिक भएकाले मोटरसाइकल र स्कुटर बढी दुर्घटनामा पर्ने गरेको हमालले बताए ।
सडकको भौगलिक बनावट र खाल्डाखुल्डी पनि सडक दुर्घटनाको प्रमुख कारण रहेको उनले बताए । “पृथ्वीराजमार्गका ठाउँ–ठाउँमा खाल्डाखुल्डी छन्, त्यसले पनि दुर्घटनाको जोखिम बढाइरहेको छ”, उनले भने ।
दुर्घटना कम गराउन प्रहरीले अभियान पनि सञ्चालन गरिरहेको उनले जानकारी दिए । सवारी चालक र पैदललाई प्रशिक्षणदेखि ‘चालकसँग एक मिनेट’ कार्यक्रम सञ्चालन गरिएको छ ।
जिल्लामा बढी जसो दुर्घटना पृथ्वी राजमार्गमा हुने गरेका छन् । पृथ्वी राजमार्गअन्तर्गत कोत्रे, गाछेपानी, अकला, गुणादी, कमलबारी, नाहाला, विमलनगर, आँबुखैरेनीस्थित पावरहाउस बढी दुर्घटना हुने स्थान हुन् ।
२० हजार सवारी साधन कारबाहीमा
प्रहरीले एक वर्षको अवधिमा २० हजार सवारी साधनलाई कारबाही गरेको छ । नियम उल्लङ्घन गरी सवारी चलाउने २० हजार सवारी साधनलाई कारबाही गर्दा रु एक करोड ३१ लाख २३ हजार ५०० राजस्व सङ्कलन गरिएको छ ।
कारबाहीमा पर्नेमा पाँच हजार ७४५ ट्रक/टिपर, एक हजार ८१८ बस, चार हजार ७३ कार÷जिप, एक हजार ५८७ ट्र्याक्टर, ११३ अन्य र छ हजार ६४६ मोटरसाइकल/स्कुटर छन् ।
कारबाहीमा पर्नेमा पनि दुई पाङ्ग्रे सवारी अत्यधिक छन् । मोटरसाइकल÷स्कुटर कारबाहीबाट मात्रै ४६ लाख ७९ हजार ५०० राजस्व सङ्कलन गरिएको सो कार्यालयले जनाएको छ ।
आव २०७६/७७ मा २१ हजार १५० सवारी साधनलाई कारबाही गर्दा एक करोड ३४ लाख ५१ हजार राजस्व सङ्कलन गरिएको थियो । त्यस्तै २०७५/७६ मा २६ हजार ६४६ सवारी साधनलाई कारबाही गर्दा एक करोड ६६ लाख ९४ हजार ५०० राजस्व सङ्कलन गरिएको थियो । रासस











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया