शनिबार, फागुन ९, २०८२

दर्शकसहितको नेपाल–भारतबीचको पहिलाे मैत्रीपूर्ण खेल आज

रंगशाला छिर्न दर्शकलाई खोप र पीसीआर रिपोर्ट अनिवार्य

मेरोन्यूज २०७८ भदौ १७ गते ८:२६

काठमाडौं । नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज हुँदै छ । दुई टोलीबीचको खेल नेपालको घरेलु मैदान काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५ः३० बजे सुरु हुनेछ।

Advertisement
nepal life insurencenepal life insurence

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपाल र भारतबीचको दोस्रो मेत्रीपूर्ण खेल आइतबार हुनेछ।

साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुने तालिका रहेको छ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्ध जित्नकै लागि खेल्ने बताएका छन्।

‘भारत धेरै बलियो छ । इतिहास राम्रो छ । दुबै खेल जित्न आवश्यक छ। राष्ट्रिय टिमले खुसी बनाउने हैन गर्व गर्न लायक बनाउन आवश्यक छ,’ बुधबार आयोजित प्रि–म्याच कन्फरेन्समा अलमुताइरीले भने, ‘हामी बराबरीको लागि खेल्ने छैनौं । हामी जित्नका लागि खेल्छौं ।’

फिफा वरीयतामा भारत १ सय ५ औं स्थानमा रहँदा नेपाल १ सय ६८ औं स्थानमा छ।

यस्तै भारतविरुद्धको हेड टु हेडमा समेत नेपाल निकै पछि छ । नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ। जसमा भारतले १३ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ४ खेल बराबरीमा सकिएको छ।

तर, प्रशिक्षक अलमुताइरीले भारतविरुद्ध भविष्य हेरेर प्रतिस्पर्धा गर्ने समेत बताए । ‘ईतिहास हैन, भविष्यलाई हेरेर खेल्नेछौं। ईतिहास र वरीयताले असर गर्ने छैन । उनीहरु बलिया छन् तर हामी सच्चा गोर्खाली हौं,’ उनले भने।

नेपालले पछिल्लो पटक भारतसँग २०१७ को जुन ६ मा मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा भारत २–० ले विजयी भएको थियो ।

नेपालले पछिल्लो पटक २०१३ को साफ च्याम्पियनसिपमा भारतलाई हराएको थियो। अनिल गुरुङ र जुमानु राईले गोल गरेपछि दशरथ रंगशालामा नेपालले भारतलाई २–१ ले हराएको थियो।

नेपाली टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले भारतविरुद्धको दुबै खेल कठिन हुने बताए ।

यस्तै भारतका कप्तान सुनिल क्षेत्रीले पनि नेपालसँगको खेल सधै कठिन हुने बताए। ‘हाम्रो लागि खेल सधै कठिन हुन्छ । हामी उत्कृष्ट दिने छौं । हामीलाई निमन्त्रणा गर्नु भएकोमा धेरै धन्यवाद,’ उनले भने ।

भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले नेपालविरुद्धको खेल सहज नहुने तर खेलका लागि टिम तयार रहेको बताए ।

यसैबीच नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि दर्शकलाई मैदानमा प्रवेश गरी अवलोकन गर्न दिइने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले दर्शकलाई मैदान प्रवेशका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले अनुमति दिएको जानकारी दिए ।

नेपाल र भारतबीचको पहिलो खेलका लागि पाँच हजार एक सय दर्शक मैदान प्रवेशका लागि अनुमति पाएको शेर्पाले बताए । दर्शकका लागि अनलाइनबाट टिकट किन्न सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया