सोमबार, फागुन ४, २०८२

मीन विश्वकर्माको राजीनामा प्रकरण

किन दिए मीन विश्वकर्माले राजीनामा ?

मेरोन्यूज २०७८ भदौ १७ गते १०:१०

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वासपात्रका रुपमा चिनिएका मीन विश्वकर्माले बुधबार साँझ एकाएक पार्टी केन्द्रीय सदस्य तथा कांग्रेसको भ्रातृसंस्था नेपाल दलित संघको अध्यक्ष पदबाट राजीनामा दिए । राजीनामामा उनले पार्टीको १४ औं महाधिवेशनका लागि बनाइएको निर्वाचन निर्देशिकामा रहेको व्यवस्थामाथि प्रश्न उठाएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

यो निर्देशिकाका कारण दलित समुदायको सहभागिता केही समयपछि शून्य हुने उनको तर्क छ । कांग्रेसका दलित सदस्यहरू आफूहरूको सहभागितामा अंकुश लगाउने गरी निर्देशिका आएको भन्दै आन्दोलन गरिरहेका छन् । पार्टीभित्रका दलितहरूको आन्दोलनमा अध्यक्ष भएको नाताले विश्वकर्मा सहभागी नहुने कुरै भएन । यसरी हेर्दा उनले आफ्नो ‘फेस सेभिङ’का लागि राजीनामा दिएको देखिन्छ ।

एकाएक पार्टी केन्द्रीय सदस्य र दलित संघको अध्यक्षबाट किन राजीनामा दिनुभएको भन्ने प्रश्नमा विश्वकर्मा भन्छन्, ‘पार्टीको १४ औं महाधिवेशनका लागि बनाइएको निर्वाचन निर्देशिकामा दलितको सहभागिता सुनिश्चित भएन । हामीले परिवर्तन गर्नुपर्‍यो भनेर पटक–पटक आवाज उठाउँदा पनि सुनुवाइ नभएपछि आन्दोलनमा साथ दिन दुवै पदबाट राजीनामा दिएको हुँ ।’

उनले राजीनामाबारे सभापति देउवा र पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालाई जानकारी गराएका छन् । तर राजीनामा लगेर केन्द्रीय कार्यालयमा बुझाएका छन् । बाहिरी कारण उनले भनेजस्तै भए पनि भित्री कारण भने अर्कै छ ।

जानकारहरूका अनुसार उनी वर्तमान सरकारमा मन्त्रीका आकांक्षी हुन् । तर, प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवाले उनलाई यो पटक मन्त्री दिन नसक्ने बताइसकेका छन् । देउवाले पार्टीको प्रमुख सचेतकसम्म सल्लाह गरेर बनाउन सक्ने बताएका थिए ।

त्यसपछि विश्वकर्माले प्रमुख सचेतकको पत्र नपाउँदै सिंहदरबारस्थित दलको कार्यालयमा प्रमुख सचेतकमा बालकृष्ण खाण (गृहमन्त्री)को नेमप्लेट बाहिर टाँसिएको भए पनि भित्र कुर्सीमा पुगेर निस्फिक्री बसिरहेका हुन्छन् । ‘यहाँ आउने म नै हो, ढोका खोल्नुस् भनेर सचिवालयका कर्मचारीलाई निर्देशन दिने’ गरेको कांग्रेस संसदीय दलका कर्मचारीहरु बताउँछन् ।

बैठक र मिडियालाई अन्तरवार्तासमेत त्यही कुर्सीमा बसेर दिन्छन् । यसको कांग्रेसकै सांसदहरूले विरोध गरिरहेका छन् । त्यो विषयबारे सांसदहरूले सभापति देउवा र गृहमन्त्री खाणलाई पनि जानकारी गराइसकेका छन् । किन त्यसो गरेको भनेपछि नाजवाफ भएका विश्वकर्मा कतै प्रमुख सचेतक पनि नपाइने त होइन भन्ने आशंकामा छन् । किनकि अहिले सचेतक रहेकी पुष्पा भुसाल मन्त्री बन्न नसक्ने अवस्थामा स्वतः प्रमुख सचेतककी दाबेदार हुन्छिन् ।

दोस्रो, १८ भदौबाट अधिवेशनको प्रक्रिया आरम्भ हुने पार्टीको १४ औं महाधिवेशनमा दलित कोटाबाट सहमहामन्त्री बन्ने दाउमा छन् विश्वकर्मा । तर देउवाले उनीभन्दा सिनियर आफ्नो समूहका नेता मानबहादुर विश्वकर्मालाई उम्मेद्वार बनाउने ग्रिन सिंग्नल दिएका छन् ।

तेस्रो सभापति देउवाले फेरि सभापतिमा दोहोरिने तयारी गरेका छन् । तर उनकै गुटमा रहेका उपसभापति विमलेन्द्र निधि र पूर्वउपसभापति गोपालमान श्रेष्ठले सभापतिमा उम्मेद्वारी घोषणा गरिसकेका छन् ।

राजनीतिका चतुर खेलाडी विश्वकर्मा यति गरेमा सभापति देउवाले बोलाउने र एउटा पद आफ्ना लागि सुरक्षित हुने रणनीतिका साथ उनले राजीनामा दिएको हुन सक्ने कांग्रेसवृतमै अहिले चर्चा चल्न थालेको छ । सभापतिमा उम्मेद्वारी घोषणा गरेका उपसभापति निधिले विश्वकर्मालाई आफूसँग आएमा सहमहामन्त्री बनाउने बचन दिएपछि उनले देउवालाई घुर्क्याएको रिपोर्ट देउवासम्म पुगेको स्रोतले बतायो ।

देउवा भने समानुपातिकबाट तीन पटकसम्म प्रतिनिधि सभाको सांसद बनाएको, एक पटक मन्त्री बनाएकाले अब तत्काल धेरै जिम्मवारी नदिने पक्षमा छन् ।

प्रतिक्रिया