पार्टी विभाजन गर्नुको औचित्य पुष्टि गर्न नेम्वाङको चुनौती

काठमाडौँ । नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवाष नेम्वाङले पार्टीलाई विभाजन गर्नुको औचित्य पुष्टि गरेर देखाउन नेकपा (एकीकृत समाजवादी) पार्टीको नेतृत्वलाई चुनौती दिएका छन् । संविधानसभाका अध्यक्षसमेत रहेका उपनेता नेम्वाङले माधव नेपालप्रति लक्षित गर्दै ‘खाली तँ र म’ को कुरा गरेर पार्टी विभाजनको औचित्य स्थापित गर्न नसकिने पनि स्पष्ट पारे ।
विनाविचारधारा, दर्शन र कार्यक्रमविना पार्टी फुटाउन नपाउने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै उनले त्यस विपति गएर माधव नेपालहरुले पार्टी फुटाएको आरोप समेत लगाए । पार्टी निकट प्रगतीशील तथा पेशागत कानून व्यवसायी संगठनले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपनेता नेम्वाङले कुन विचारधारा, दर्शन र कार्यक्रमको आधारमा पार्टी विभाजन गरेको ? भनेर माधव नेताहरुलाई प्रश्न गर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे ।
उनले भने, ‘मैले तपाईहरु समक्ष राख्न खोजेको कुरा के हो भने तपाइहरु आ आफ्नो ठाउँबाट जुरुक्क उठनुपर्छ । गाउँगाउँबाट उठनुपर्छ, घरघरबाट उठनुपर्छ, र सोध्नुपर्छ – कुन चाँही विचारधारामा फरक प¥यो, कुन चाँही दर्शन फरक प¥यो ? कुन चाँही कार्यक्रम फरक प¥यो ? र तिमीले नेकपा एमाले छोडेर छुट्टै राजनीतिक दल बनायौं भनेर प्रश्न गर्नु पर्दछ । विभाजनको औचित्य स्थापित गर्न सक्ने छैनन् साथीहरुले । म यतिमात्रै भन्छु । विभाजनको औचित्य स्थापित गर्नु पर्छ । अहिले नै प्रष्ट देखिएको छ । विभाजनको औचित्य स्थापित हुन सक्ने ठाउँछैन । हिजोअस्ती एक दुई जना साथीहरुले भन्नु भयो, जो पहिलो माले विभाजनका पालामा पनि हुनुुहुन्थ्यो । उहाँले भन्दै हुनुहुन्थ्यो । ठयाक्कै यही कुरा उठाउँदै कुनै विचार सिद्धान्त छैन, खाली तँ र म को कुरा छ । हामीले के आधारमा जनतालाई भन्ने ? हामीले यो आधारमा पार्टी फटायौं । त्यति बेला हामीले माले फुटाउँदा त राष्ट्रियताको प्रश्न थियो ।’ उपनेता नेम्वाङले घरघरबाट बाहिर आएर पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुटन पार्टी निकट कानुन व्यवसायीहरुलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता एवम् पूर्व कानुनमन्त्री अग्नीप्रसाद खरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालले अध्यक्ष केपी ओलीमाथि हुँदै नभएको जघन्य आरोप लगाएर पार्टीलाई फुटाउने काम गरेको बताए । उनले भने, ‘प्रचण्डको रणनीति जतिखेर पनि सिध्याउने रणनीति अन्तरगत उनले जतिखेर पनि काम गरिरहे । पार्टीलाई बलियो बनाउने तर्फ प्रचण्डको कहिल्यै पनि ध्यान गएन । सरकार कब्जा गर्ने र पार्टी कब्जा गर्ने । यो नीति अन्तरगत उहाँ चल्नु भयो । जब उहाँको नीति यो हो भन्ने देखिन थाल्यो । पार्टीको नेतृत्वले यो कुरालाई देख्न थाल्यो । स्वभाविकै रुपले यो कुरालाई परास्त गर्नुपर्ने थियो । त्यो कुरालाई परास्त गर्ने क्रममा पार्टी भित्र द्धन्द्ध सुरु हुन थाल्यो । कयौं अपराधजन्य कामहरु भए, १९ बूँदे आरोपपत्रहरु लगाउने काम गरिए ।’
नेता खरेलले दल फुटाउन अध्यादेश ल्याउने काम गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे । लोकतन्त्रमा दलहरु फुटाउने काम गर्नु अपराध हुने उनको तर्क थियो ।

















निर्वाचन सुरक्षाबारे चार सुरक्षा निकायका प्रमुखसँग मानवअधिकार आयोगकाे छलफल
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
प्रतिक्रिया