सोमबार, फागुन १८, २०८२

चालकलाई परीक्षणकालीन लाइसेन्स दिन सुरु

मेरोन्यूज २०७८ भदौ १८ गते १९:०१

काठमाडौँ । यातायात व्यवस्था विभागले सवारीचालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका र नविकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाईका कारण सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिन सेवाग्राही वर्षदिन कुुर्नपर्ने बाध्यताका कारण त्यसको विकल्पमा विभागले अस्थाईरुपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको हो । लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नविकरणका लागि आवेदन दिएका चालकलाई क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स पाउने यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए । उनले हालका लागि काठमाडौंको एकान्तकुनास्थित कार्यालयबाट परीक्षणकालीन लाइसेन्स वितरण सुरु भइसेको र क्रमशः देशैभरका यातायात कार्यालयहरुमार्फत वितरण गरिने पनि बताए ।

अहिले स्मार्ट लाइसेन्स लिनका लागि करिब ७ लाख सेवाग्राही महिनौ दिनदेखि लाइनमा छन् । विभागका प्रवक्ता डा. भुसालले अबको दुई महिनाभित्र स्मार्ट लाइसेन्स वितरणको काम सुरु हुने पनि बताए । उनले कोरोना महामारीका कारण विदेशबाट कार्ड ल्याउन नसकेकोले छ सात महिनादेखि लाइसेन्स वितरण गर्न नसकेको भन्दै अबको दुई महिनाभित्र वितरण गरिने बताए । उनले अबको एक, डेढ महिनाभित्र १४ लाख स्मार्ट कार्ड आउन लागेको जानकारी दिदैँ कार्ड आए लगत्तै तीन सिफ्टमा काम गरेर भएपनि वितरण गरीने बताए ।

विभागका प्रवक्ता डा. भुसालले कोरोना भाइरस महामारीका कारण स्थगित गरिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा आउँदो भदौं २० गतेबाट सञ्चालन हुने जानकारी दिए । उनले लाइसेन्सका लागि परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड तयार पारेर त्यसैअनुरूप परीक्षा सञ्चालन गर्नका लागि देशभरिका यातायात कार्यालयहरूलाई पत्राचार गरी सकेको उल्लेख गरे । उनले पहिलो चरणमा आवेदन दिएकाहरूको मात्र लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा र त्यसपछि मात्रै नयाँको लागि आवेदन खोल्ने पनि बताउनुभयो । नयाँको लागि आवेदन खोल्न भने अझै केही महिना लाग्ने उनको भनाई छ ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षाका लागि छ लाख जनाको आवेदन परेको छ । विभागले लाइसेन्सको लागि आवेदन अनलाईनबाटै लिने गरेको छ ।

प्रतिक्रिया