मंगलबार, फागुन ५, २०८२

भारतले नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि चुनौति दियोः राष्ट्रिय जनमोर्चा

मेरोन्यूज २०७८ भदौ १९ गते १०:३७

काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेपाली भूमि माथिको आकाशमा हेलिकोप्टर उडाएर भारतले अन्तर्राष्ट्रिय नियमको उल्लंघन गरेको जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

जनमोर्चाका महासचिव मनोज भट्टले विज्ञप्ति जारी गर्दै भारतले नेपालको राष्ट्रियता तथा सार्वभौमिकता र अखण्डतामाथि चुनौति दिएको उल्लेख गरेका छन् ।

भारतको उक्त हस्तक्षेपकारी कार्यको घोर विरोध तथा भत्र्सना गर्दै त्यसप्रकारका हर्कत नगर्न नेपाल सरकारले भारतीय पक्षसँग दृढतापूर्वक कुटनीतिक पहल गर्नुपर्नेमा जनमोर्चाले जोड दिएको छ ।

राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टको प्रेस विज्ञप्ति
प्रेस वक्तव्य
नेपालको स्वीकृतिबिना दार्चुला जिल्लाको सदरमुकाम खलङ्गास्थित नेपाली सेनाको गुरु गुल्म हेडक्वाटर, लेकम, मालिकार्जुन, महाकाली, दुहुँ र व्यास गाउँपालिका क्षेत्रको आकाशमा पटक–पटक भारतीय हेलिकोप्टर उडेको समाचार सार्वजनिक भएको बारे हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षण भएको छ ।
नेपालको स्वीकृतिबिना नेपालको आकाशमाथि भारतीय हेलिकोप्टर उडाउने कार्य गरेर भारतले अन्तर्राष्ट्रिय नियमको उल्लंघन गर्नुका साथै नेपालको राष्ट्रियता तथा सार्वभौमिकता र अखण्डतामाथि चुनौति दिएको छ । भारतको उक्त हस्तक्षेपकारी कार्यको हाम्रो पार्टीले घोर विरोध तथा भत्र्सना गर्दछ । त्यसप्रकारका हर्कत नगर्न नेपाल सरकारले भारतीय पक्षसँग दृढतापूर्वक कुटनीतिक पहल गर्नुपर्ने कुरामा जोड दिन्छौं ।
महाकालीको तुइन काण्डका सम्बन्धमा छानवीन गर्न गठित आयोगले सरकारलाई बुझाएको प्रतिवेदनका सम्बन्धमा पनि हाम्रो ध्यान गम्भीररुपमा आकर्षित भएको छ । छानवीन समितिको प्रतिवेदन अनुसार भारतीय सुरक्षाकर्मीले तुइन चुडाली दिएका कारण जयसिंह धामीको मृत्यु भएको ठहर गरेको छ । त्यसअनुसार भारतीय सुरक्षाकर्मीद्वारा जयसिंह धामीको हत्या भएको कुरा स्वतः स्पष्ट नै छ । त्यसैले जयसिंह धामीको हत्यामा संलग्न भारतीय सुरक्षाकर्मीलाई कडाभन्दा कडा सजाय गर्नका लागि नेपाल सरकारले भारतीय पक्षसँग पहल गर्न जोड दिँदै मृतक जयसिंह धामीको परिवारलाई आवश्यक क्षतिपुर्ति दिन समेत सरकारसँग माग गर्दछौं ।
मिति : २०७८ भदौ १९ गते
मनोज भट्ट
महासचिव

प्रतिक्रिया