द्वन्दपीडितको गुनासो
‘सम्झनाले निन्द्रा खुल्छ, छोरा देख्दिनँ ……..’
शान्तिसम्झौता भएको १५ वर्ष बितिसक्दा पनि राज्य मौन

कञ्चनपुर । बेलौरी नगरपालिका–५ मैनाहाका ६६ वर्षीया सीता चौधरीलाई छोरा फर्केर आउने आशा अझै छ । सशस्त्र द्वन्दका क्रममा उनका १४ वर्षीय छोरा घरबाटै बेपत्ता भए । चाडपर्व आउने बेला छोरा आउने आशमा उनी बाटो कुरेर बस्छिन् ।
“सपनामा समेत छोरालाई झलझल्ती घर आँगनमै बसेको काम गरेको देख्छु”, उनले भनिन्, “एक्कासी निन्द्रा खुल्छ । छोरालाई देख्दिन, यसपछि आँखाबाट आँसु झर्न थाल्छ ।”
निर्दोष छोरालाई घरबाटै बलजफ्ती लगेर बेपत्ता बनाएको उनले बताइन् । “छोरा जिउँदो छ भने कहाँ छ देखाउनुपर्यो, मारेका हुन् भने लाश दिनुपर्यो”, उनले गहभरि आँसु पार्दै भनिन्, “बेपत्ता बनाउनेलाई कानुनी कारबाही हुनुपर्यो । हामीलाई न्याय चाहिएको छ ।
उनी जस्तै बेलौरी नगरपालिका–५ का जङ्गबहादुर चौधरीलाई द्वन्दका क्रममा घरबाटै बेपत्ता पारिएपछि उनकी श्रीमतीलाई साँझ बिहानको खाना जुटाउन कै लागि अरुकहाँ मजदुरीमा जानुपर्ने बाध्यता छ । घरका कमाउने श्रीमानलाई बेपत्ता बनाइएपछि दुई छोराछोरीको पढाइलेखाइ र साँझ बिहानको खाना खर्च जुटाउनका लागि कृषि र निर्माणसम्बन्धी काममा मजदुरीमा जानुपर्ने बाध्यता भएको कमली चौधरीले बताइन् ।
“द्वन्दका क्रममा बेपत्ता भएका परिवारलाई स्थानीय तहले केही सघाउ पुर्याउँलान् भन्ने आशा थियो”, उनले भनिन्, “हालसम्म बेपत्ता परिवारलाई सहयोग गर्नु त परको कुरा, भेट्नका लागि समेत कोही पुगेका छैनन् ।”
उमेरले ७० वर्ष पुगेका बेपत्ता परिवारका कालुराम थारूले बेपत्ताको अवस्थाबारे पत्तो लगाई न्याय दिनेबारेमा सरकार मौन बसेको आरोप लगाए ।
बेदकोट नगरपालिकाका हीरादेवी भण्डारीका श्रीमान बेपत्ता भएको वर्षौं बितेको छ । उनले भनिन्, “लामो समयसम्म पर्खेर बस्यौं, राज्यले अहिलेसम्म न लाश देखाएको छ न जीवित रहेको बताउन सकेको छ ।” श्रीमान बेपत्ता पारिएपछि जग्गासँगै सम्पत्तिको स्वामित्व पाउन नसकेको उनले बताइन् ।
घरका एक्ला कमाउने श्रीमानलाई बेपत्ता पारिएपछि बालबालिकालाई विद्यालय पढाउन र घरायसी गर्जो टार्नकै लागि निकै अप्ठेरो परेको उनको भनाइ छ ।
बेपत्ता पारिएका परिवारलाई न्याय दिनका लागि गठन गरेको बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगले पाएको अधिकारअनुसार काम गर्न नसक्दा बेपत्ता पारिएका परिवाजनले न्याय पाउन नसकेको न्यायका लागि द्वन्द्वपीडित समाज नेपाल जिल्ला कार्यसमिति कञ्चनपुरका उपाध्यक्षसमेत रहेका भण्डारीले बताए ।
गठन भएका दुवै आयोग सफल भएनन् उनले भने, “आयोगका चार वर्ष उजुरी थन्क्याउने र विवरण सङ्कलनमा मात्रै सीमिति रह्यो ।”
द्वन्दपीडित साझा चौतारीका गणेश मल्ल बेपत्ता पारिएका परिवारलाई न्याय दिनका लागि भन्दै राज्यले दुईपटक आयोग गठन गरेपनि कार्यकर्ता भर्ती केन्द्रका रूपमा विकसित हुँदा न्याय पाउन नसकिएको बताउँछन् ।
“पीडामाथि पीडा थपिँदै जाँदा मर्माहत भएका छौं”, उनले भने, “पीडितका सवाल अझै जस्ताको तस्तै छन् । गम्भीर आरोप लागेका दोषीलाई कारबाही गरिनुपर्नेमा उन्मुक्ति दिने काम भइरहेको छ ।”
उनी राजनीतिक दलमा विगतको जस्तो आत्मीयता र व्यवहारसमेत पाउन नसकेकामा दुखित छन् ।
सत्य, न्यायको पर्खाइमा रहेका द्वन्दपीडितका संविधान कार्यान्वयनको छ वर्ष र शान्ति सम्झौताका १५ वर्ष सार्थक हुन नसक्दा राजनीतिक तथा संवैधानिक परिवर्तनले द्वन्दपीडितका लागि नौलो अनुभूति ल्याउन नसकेको उनको धारणा छ ।
धेरै परिवारका एक्ला कमाउने मान्छे आन्दोलनमा लागेर बेपत्ता भएपछि परिवारको अवस्था नाजुक भएको छ । कोभिड–१९ को महामारीले निम्त्याएको पीडा सबैभन्दा बढी द्वन्दपीडित बेपत्ता परिवारले व्यहोर्नुपरेको छ ।
सेवा तथा सुविधाका हिसाबले विशेष ध्यान दिनुपर्ने नागरिकको सूचीमा द्वन्दपीडित परिवारलाई राखिएको छैन । अधिवक्ता वीरबहादुर विष्ट संविधान प्रदत्त शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार यथोचित उपयोग त परै जाओस्, द्वन्दपीडित बहुसङ्ख्यकलाई न्यूनतम जीवन धान्न पनि मुस्किल हुँदै गएको बताउँछन् ।
“एकातर्फ कोभिडको त्रास र अर्कोतर्फ चरम आर्थिक समस्याका पिरलोमा धेरैजसो पीडित प्रताडित हुनुपरेको छ”, उनले भने । दैनिक खानाको जोहो गर्न नसक्ने अवस्थामा समेत केही परिवार पुगेका छन् ।
बेपत्ता भएका परिवारको मृत्यु दर्ता गर्न सकिँदैन । फर्केर अझै आएका छैनन् । बेपत्ता पारिएका नागरिकको सत्यतथ्य ६० दिनभित्र सार्वजनिक गर्ने शान्ति सम्झौताको प्रावधान १५ वर्षसम्म पनि कार्यान्वयन गर्नुको साटो सरकारले नागरिकको सत्य जान्ने अधिकारको उल्लङ्घन र उपहास गरेको बेपत्ता पारिएकाका परिवारको गुनासो छ ।
ढिला गरी गठन गरिएका सङ्क्रमणकालीन न्यायसम्बन्धी संयन्त्र स्थापना भएको छ वर्ष बितेपनि एउटै पनि घटनाको सत्यतथ्य उजागर गरी पीडितलाई न्याय र पीडकलाई कारबाहीको सिफारिस गर्न सकेको छैन ।
बलपूर्वक बेपत्ता पार्ने कार्य मानवअधिकारको गम्भीर उल्लङ्घन हुनुका साथै गम्भीर फौजदारी अपराधसमेत रहेको अधिकारकर्मीको भनाइ छ ।
“बेपत्ता बनाइएका व्यक्तिका श्रीमतीले सामाजिक लाञ्छना र विभेदको सामना गर्नुपरेको छ”, कृष्णपुर नगरपालिकाका उपप्रमुख रमिता वडायकले भनिन्, “पीडितको पीडामा राज्य संयन्त्र संवेदनशील बन्न जरुरी छ । पीडित परिवारले सत्यतथ्य र परिपूरणको अधिकार सुनिश्चित गरिनुपर्छ ।”
विश्वसनीय र परामर्शयुक्त प्रक्रियाद्वारा सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐनलाई सर्वोच्च अदालतले दिएको आदेश, पीडितको सरोकार र अन्तर्राष्ट्रिय चासोसमेतलाई मध्यनजर गर्दै गर्दै मानवअधिकारसम्बन्धी कानुनको मापदण्डअनुरुप संशोधन गर्न बेपत्ता परिवारको माग छ ।
द्वन्दकालमा भएका बेपत्ताका घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने, बेपत्ता पार्ने कार्यविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि अनुमोदन गरिनुपर्ने, बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई सामाजिक सुरक्षाभत्ताको व्यवस्था गरिनुपर्ने, बेपत्ता परिएका व्यक्तिका नाममा रहेको सम्पत्ति हस्तान्तरणको कानुनी व्यवस्थाका लागि सहजीकरण गरिनुपर्नेलगायतका माग बेपत्ता परिवारले स्थानीय तहमार्फत प्रधानमन्त्रीलाई पठाएका छन् ।
यससँगै बेपत्ताको तथ्याङ्क सङ्कलन गरी लक्षित पर्याप्त परिपूरणको कार्यक्रम ल्याउनुपर्ने, सङ्क्रमणाकालीन न्याय प्रक्रियामा राजनीतिक हस्तक्षेप बन्द गरिनुपर्ने मागसमेत उनीहरुको छ ।
न्यायको प्रतिक्षामा रहेका बेपत्तालगायत द्वन्दपीडितलाई लकडाउनले दैनिक हातमुख जोड्न औषधोपचार गर्न, नियमित खानुपर्ने औषधि खरिद गर्न र दैनिक गुजारा चलाउन निकै समस्या परेकाले पीडित लक्षित कार्यक्रम ल्याउनुपर्नेमा द्वन्दपीडित परिवारको माग छ । जिल्लामा बेपत्ता भएकाको सङ्ख्या ९९ छ । रासस

















यस्ताे छ आज सुनचाँदीकाे मूल्य
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
पर्यटकीय गाउँ धम्पुसमा थपियो पर्यटकीय आकर्षण आलडाँडा उद्यान
पासोमा परेर घाइते भएको चितुवा उपचारका क्रममा मर्यो, कर्मचारी घाइते
टी-२० विश्वकपमा आज नेपालको अन्तिम खेल, स्कटल्याण्डसँग भिड्दै
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
शेख हसिनाको विज्ञप्ति: बंगलादेशको निर्वाचन ‘पूर्वनियोजित छल र प्रहसन’
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
प्रतिक्रिया