सोमबार, पुष १४, २०८२

एमसीसी उपाध्यक्ष नेपाल आउने भएपछि ‘हाईअलर्ट’

मेरोन्यूज २०७८ भदौ २२ गते १९:००

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमार नेपाल आउने भएपछि गृह मन्त्रालयले उपत्यकाको सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिएको छ ।

एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा उनी नेपाल आउन लागेपछि चौतर्फी विरोध र आन्दोलनबीच उनको सुरक्षालाई मध्यनजर गर्दै मन्त्रालयले सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा रहन निर्देशन दिएको हो ।

एमसीसीका उपाध्यक्ष नेपाल आउने हुँदा उनको सुरक्षाको लागि मन्त्रालयले सुरक्षा व्यवस्था कडाई गर्न भन्दै विभिन्न सुरक्षा निकायहरुलाई ‘हाईअलर्ट’मा राखेको हो ।

काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) अशोक सिंहले भने, ‘हामी हाईअलर्टमै छौं । सुरक्षा व्यवस्था सधंै नै कडा नै हो तर यसपाली अझ कडा बनाउनुपर्ने निर्देशन छ । त्यही अनुरुप हामी तत्पर छौं ।’

‘हामी सधै हाईअलर्टमै हुन्छौ, हिजो बाढी आयो हामी तत्पर थियौं, यस्तो अवस्थामा सधैं हाईअलर्टमै छौं ।’, एसपी अशोक सिंहले मेरोन्यूजसँग भने, यसपाली आन्दोलन र विरोध चर्किएको हुनाले समेत अझ सतर्क अवस्थामा छौं ।’

नेपाल भ्रमणमा रहँदा उनले एमसीसी परियोजना कार्यान्वयनको अवस्थाबारे विभिन्न पक्षहरुसँग कुराकानी गर्ने बताइएको छ । उनले एमसीसी हेडक्वाटरमा विशेष गरी गरीबी निवारणका लागि लक्षित परियोजनाहरुको सुपरीवेक्षण गर्नेछिन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

यहीबीच, नेपाल सरकारले नेपालस्थित अमेरिकी दूतावासमार्फत एमसीसी मुख्यालयलाई ६ पेज लामो पत्र लेखेर ११ वटा मुख्य प्रश्न र अन्य केही सहायक प्रश्न राखिएको थियो ।

सो पत्रमा एमसीसी अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत हो या होइन, दुई देशबीच भएको सम्झौता नेपालको संविधान र कानूनभन्दा माथि रहने–नरहने, एमसीसी कार्यान्वयन गर्दा नेपालमा अमेरिकी सुरक्षा प्रभाव पर्ने–नपर्ने, परियोजनाको लेखापरीक्षण नेपालबाट हुने कि अमेरिकाले गर्नेलगायतका प्रश्नहरु समेटिएको हो ।

उनी २४ भदौमा आउँदैछिन् तर उनी आउनुपुर्व नै देशका विभिन्न क्षेत्रहरुमा विरोध र आन्दोलन जारी छ ।

उनी आउने संकेत पाएसँगै सत्ता साझेँदारी दलहरु नै विरोधमा उत्रिएका छन् । एमसीसीको उपाध्यक्षको आममनसँगै एमसीसी अनुमोदन हुने छाँटकाट देखिएपछि विभिन्न राजनितिक दल र संगठनहरुले आन्दोलनलाई चर्काएका छन् ।

आन्दोलनका क्रममा सोमबार मात्रै अमेरीकी दुतावास अगाडिबाट ६ जना पक्राउ परेका थिए । मन्त्रालयले विज्ञप्ति सार्वजनिक गर्दै विरोध गर्न रोक लगाउँदै आएको छ तर त्यसका बाबजुत पनि छिटफुट प्रदर्शनहरु भइरहेका छन् ।

आन्दोलनकारीको चेतावनीः ‘गुलेलीले हानेर भगाउने’

एमसीसीकी उपाध्यक्ष आउने भएपछि एमसीसी विरोधी समूहले विरोध प्रदर्शन जारी राखेका छन् ।

सत्ता सहयात्री दलका भातृ संगठनहरुले ठाउँठाउँमा विरोध प्रदर्शन गरिरहेका छन् । नेकपा एकिकृत समाजवादी पार्टी लगायतका विभिन्न दलहरु आन्दोलन जारी राखेका छन् ।

एमसीसीको विरोधमा उत्रिएका संघससंगठनहरुले एमसीसीकी उपाध्यक्षविरुद्ध कालोझण्डा देखाउने लगायतका प्रदर्शन गर्ने तयारी गरिरहेका छन् । एमसीसीकी उपाध्यक्षको यात्रा असफल बनाउने विभिन्न आन्दोलनकारी संगठनहरुले चेतावनी दिँदै आएको छन् ।

उनको सुरक्षामाथी आँच आउने अभिव्यक्तिहरु विभिन्न आन्दोलनकारी संगठनहरुले दिँदै आएका छन् । कसैले ‘गुलेलीले हानेर भगाउन’ भनेका छन् भने कसैले कारबाही गर्ने चेतावनी दिइरहेका छन् । सामाजिक सञ्जालहरुमा पनि एमसीसीविरुद्ध अभियान चलिरहेका छन् ।

राजनीतिक खिचातानीका कारण सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना अझै अगाडि बढ्न सकेको छैन ।

प्रतिक्रिया