नौ महिनापछि अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपतिबीच टेलिफोन सम्वाद

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडन र चिनियाँ राष्ट्रपति सि चिनिपिङबीच टेलिफोन सम्वाद भएको छ । अमेरिकाका एक उच्च अधिकारीलाई उधृत गर्दै समाचार संस्था रोयर्टसमा जनाइए अनुसार राष्ट्रपति बाइडन र सिबीच करीब ९० मिनेट वार्ता भएको थियो ।
टेलिफोन सम्वादका क्रममा विश्वका दुई ठूला अर्थतन्त्रबीच वैमन्यता उत्पन्न हुन नदिने विषयमा छलफल भएको जनाइएको छ । पछिल्लो समय अमेरिका र चीनबीचको सम्बन्ध दशककै नराम्रो अवस्थामा पुगेको छ । गत जनवरीमा अमेरिकी राष्ट्रपतिको शपथ लिएपछि बाइडनले चिनियाँ राष्ट्रपति सिसँग पहिलो टेलिफोन सम्वाद गरेका थिए । नौ महीनाको अन्तरालमा बिहीबार दुई नेताबीच भएको सम्वाद दोस्रो हो ।
व्हाइट हाउसबाट प्रकाशित विज्ञप्तिमा दुई देशका नेताले ‘वृहत रणनीतिक आयामका विषयमा छलफल गरेको’ रोयर्टसले जनाएको छ । छलफलका क्रममा दुई देशका स्वार्थ मिल्ने र बाझिने मुद्दाका विषयमा पनि कुराकानी भएको समाचारमा उल्लेख गरिएको छ ।
यस्तै उक्त टेलिफोन सम्वादका क्रममा कोभिड भ्याक्सिन, आर्थिक विषय र जलवायु परिर्वतनको विषयमा पनि छलफल भएको बताइएको छ । विद्रोह मार्फत अगष्ट १५ मा अफगानिस्तानको सत्ताकब्जा गरेको तालिबानी समुहले मंगलबार मात्रै आफू नेतृत्वको सरकार गठन गरेको थियो । सरकार गठनसँगै चीनले तालिबानी सरकारलाई आर्थिक सहयोग घोषणा गरेपछि चीनको उक्त कदमको अमेरिकाले विरोध जनाएको थियो ।
अमेरिका समर्थित अफगानी सरकारबाट चीन समर्थित बताइने तालिबानले सत्ता कब्जा गरेको छ । सत्ता कब्जा गरेको करीब २५ दिनपछि सरकार गठन गरेको तालिबानलाई चीनले आर्थिक सहायता दिने घोषणा गरेसँगै अमेरिका र चीनका राष्ट्रपतिबीच भएको टेलिफोन सम्वादलाई महत्वका साथ हेरिएको छ ।
प्रतिक्रिया