सोमबार, वैशाख ८, २०८२

‘गीत संगितको यात्रा नेपालसँगै प्रवासमा पनि पुग्यो’

सावित्री गिरी २०७८ भदौ २६ गते १०:५८

न सक्छु भन्न दुःखका कुरा नसके लुकाउन
जीवनको घाउ आँसुको सागर सकिन सुकाउन…..

यो गीत यसपालीको तीजका लागि मैले लेखेको, गाएको र मेरै संगीतमा सबै नाचेको । सबैले आफ्नो घर र जमघट भएको स्थानमा बजाएको । मैले तयार पारेको गीत, युट्युब सावित्री गिरीबाट रिलिज भएसँगै सबैले माया गर्नु भयो । र, सबैले यसपटकको तीजमा बजाउनु भयो । आफ्नो गीतमा आफैले अभिनय गरेकाले मेरो गीत सुन्ने र नाच्नेहरूले मलाई चिन्नु भयो । प्रतिक्रिया दिनु भयो । मलाई खुसी लागेको छ ।

मलाई मन पर्ने गीत, गायन, संगीत तथा म्युजिक भिडियोका कलाकारका बारे यहाँ चर्चा गर्छु ।

म तनहुँमा जन्मेकी हुँ म । सानैदेखि चञ्चल स्वभाव, नाच्न, गीत सुन्न र कविता लेख्नमा रूची थियो । सानो हुँदै सपरिवार तनहुँबाट पोखरा बसाई सराई गर्यौं । म पोखरामा हुर्किएँ । पोखरामै अध्ययन पूरा गरेँ । पोखरकै एउटा स्कुलमा अध्यापन गरेँ । केही वर्ष अध्यापन गरेसँगै वैदेशिक रोजगारीका लागि हङकङ गएँ, दुई छोरीहरूलाई घरमै छाडेर ।

केही वर्ष रोजगारी गरेर हङकङबाट फर्किएसँगै नेपालमै केही गर्ने सोचेँ । तर, कम पैसा हुने भएकाले फेरि कामका लागि कतार पुगेँ । ४ वर्ष कतारमा काम गरेपछि दुबईमा काम गर्न पुगेँ । त्यहाँबाट कतारमा नै फर्किएँ ।

पैसाबिना जीवन चलाउन गाह्रो हुन्छ । त्यसको लागि परिश्रम गर्नु पर्छ । म श्रमजीवी मान्छे । श्रम गरेबापत पारिश्रमिक पाउने भएकाले म त्यसैमै लागेँ । मेरो इच्छा गीत संगीतमा काम गर्ने थियो । यो अवसर धेरै पछि मात्रै पाएँ ।

तर, ४/५ कक्षामा पढ्दा नै गीत लेखन गर्थें । गीतमा रमाउथ्येँ । आमाले सुनाएका संस्कृति गीतलाई लिएर मैले स्कुलका कार्यक्रममा भाग लिँदा सुनाउथेँ ।

यसपालीको तीजमा ‘हे दाजै’ संस्कृति, मौलिकता झल्कने, पारस्परिक गीत संस्कारलाई यो गीतमार्फत ल्याएको छुँ । मैले नारीहरूको विशेष पर्व तीजको अवसरमा म्युजिक भिडियो ल्याएँ । योभन्दा अघि सेतीमा गएको बाढीलाई लिएर सेतीबाढी…, छमछम नाचन हो…, छाता ओझेल पारी…, काठमाडौं जाँदा…, चौबन्दी चोली…,भूकम्प…, काँचको चुरा…, पर्यटन वर्ष मनाउने तयारी गरेका बेला २०७६-२०७७ (भ्रमण वर्ष २०२०) सालमा पर्यटनलाई ध्यान दिँदै भाइरस संसार… गीत बजारमा ल्याएँ ।

यसैगरी, लोकदोहोरीहरू अल्झिए नजर…, भयो जे हुनु…, सेतै फुल्यो काँस…, मेलैमा सरर दोहोरी खेलैमा…, मकै खायो घुनले… नामक गीति एल्बमले बजारमा आए । अधिकांशले गीत मन पराइदिनु भयो । सबैलाई धन्यवाद ।

अहिलेको गीत हे दाजै…लाई पनि सबैले सुनेर नाचेर मनपराइदिनु भएको छ । कसैलाई केही नराम्रो लागे युट्युबमा सावित्री गिरी वा मेरो फेसबुक सावित्री गिरीमा प्रतिक्रिया दिनु हुनेछ भन्ने आशा छ ।

उपनाममा सुकु

सुकु उपनाम म सानै हुँदा मेरी आमाले राखिदिनु भएको नाम हो । मेरो सर्टिफिकेटमा, नागरिकता, पासपोर्ट सबैमा सावित्री नै छ । तर, आमाले म शुक्रबार जन्मिएकाले सुकु राखिदिनु भो । आमाको मायाले साहित्यको क्षेत्रमा सुकु उपनामलाई पनि मैले सँगै जोडेको छु । गीतमा पहिलेदेखि सावित्री भए पनि उपनाममा सुकु छ । मैले लेखेका कविता, गजल, मुक्तक सबैमा सुकु नामलाई सँगै लिएको छु । मेरो माइती पक्ष, गाउँमा सुकु भनेर चिन्छन् । आमाको मायाको नाम हो, यो ।

८४ वटा गजल संग्रहित ‘मनको छाल’ पुस्तकमा देश विदेशमा बस्दा मनमा आएका शब्दहरू संकलित रहेको हो । जुन भर्खरै बजारमा आएको छ । यसमा उपनाम आमाको मायाका कारण सुकु भनेर राखेकी छु । ‘मनको छाल’ले माया प्रेम, जीवन जगत्, सामाजिक विकृति, विसंगतिका बारेमा प्रष्टाएको छ । मेरो मुक्तक संग्रह ‘अवकाश’ नामको पुस्तक दशै-तिहार पछि प्रकाशन हुँदै छ ।

हजुर आमाको सहयोगले गीत संगीतमा

मेरो गीत संगीतको यात्रामा मेरी हजुर आमाको देन छ । हजुर आमाले गाउनु भएको गीतलाई याद गर्दै स्कूलमा सुनाउथेँ । वादविवाद, वक्तृत्वकला, कवितामा आदी क्षेत्रमा रुची जगाउने काममा पनि आमाको ठूलो भूमिका छ । हजुर आमाकै कारण गीतसँगै साहित्यका बाटोमा पाइला चलेकी हुँ ।

आफूले देखेका, अनुभव गरेका, घर परिवार, समाज र मुलुकमा रहेका घटना, अवस्थालाई उन्ने काम एउटा रुपमा बजार आउँदा गीत, कविता, मुक्तक, गजल भएर आए । ती विधिअनुसारको मापदण्डमा रहेकाले विभिन्न विषयका नामले चिनिएका छन् ।

मन पर्ने कलाकार

मैले कलाकार भनेर गीत लेखन, गायक गायिका, संगितकार म्युजिक भिडियोमा अभिनयसँगै नृत्य गर्ने सबैलाई सम्झन्छु । गीत सबैको सुन्छु, हेर्छु, नाच्छु । सबै मन पर्छ । मैले लेखेका, गाएका, संगीत भरेका गीतहरू आफैलाई असाध्यै मन पर्छ । प्राय: सबै कलाकारहरू मन पर्छ ।

प्रशंसा र सुझाब

प्रशंसा र सुझाब म सानोदेखि ठूलो हुँदासम्म घरमा काम गर्दा पाएको प्रशंसा र सुझाबलाई सम्झन्छु । स्कुलमा पढ्दा पढाईकै सिलसिलामा शिक्षकबाट पनि प्रशंसा र सुझाब खाएँ । काम गर्दा सबैबाट प्रशंसासँगै सुझाब पाइन्छ ।

राम्रो काम ठिक र बिग्रिँदा यसरी गरौ भनेर सल्लाह दिने भेटिन्छन् । प्रशंसा र सुझाबको कुरा गर्दा म आफू विदेशमा हुँदाका क्षणहरूलाई सम्झिने गरेको छु । करिब १०-१२ वर्ष विदेशमा बिताएँ । साना दुई छोरीलाई छाडेर पैसा कमाउन विदेश गएकी भन्दै गाली खाएँ । विदेशमा बस्दा कुनै दुस्ख पाइनँ । कतार र युएई दुबैमा काम गरेँ । तर, अरूको सुझाब खाइरहेँ । अहिले गीत संगीतमा लागेकी छु ।

मेरो कामलाई हेरेर धेरै मानिसहरूले प्रशंसा गरिदिनु हुन्छ । खुसी लाग्छ ।‘गीत संगितको यात्रा नेपालसँगै प्रवासमा पनि पुग्यो ’ ।प्रवास छाडेर नेपाल आएकी छुँ नेपालबाट सबै ठाउँमा मेरो आवाज र शब्द पुग्छ ।

कोरोना कालमा गाह्रो

सरकारले कोरोनाको बेला लकडाउन गर्दा केहीलाई फरक नपर्ला । तर, परिश्रम गर्ने, संगीतमा लाग्ने मानिसले दु:ख पाएका छन् ।

साना कर्मचारी, दैनिकी रोजीरोटी चलाउनेलाई कसैले हेर्दैनन् । सरकारले लकडाउन गरेर केही ठाउँमा खाना बाडेर हुँदैन । दु:ख पाएकालाई सहज र सुरक्षित तरिकाले काममा लगाएर परिश्रममा खटाउनु पर्छ ।

(मेरो न्युजकर्मी किरण अधिकारीसँगको कुराकानीमा आधारित)

तस्वीर : जुली गिरी

प्रतिक्रिया