विश्वकप क्रिकेट लिग–२: नेपाल ओमानसँग पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृंखलाअन्तर्गत गए राति भएको खेलमा नेपाल ओमानसँग पाँच विकेटले पराजित भएको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाएर १९६ रन मात्र बनाउन सक्यो । एक सय ९७ रनको विजयी लक्ष्य ओमानले ३१ दशमलव एक ओभरमा पाँच विकेटको क्षतिमा पूरा ग¥यो ।
जतिन्दर सिंहको शतकमा ओमानले नेपाललाई सहजै पराजित गर्न सकेको हो । सिंहले उत्कृष्ट खेल प्रदर्शन गरे । उनले ६२ बल खेल्दै १०७ रन बनाए । प्लेयर अफ दी म्याच भएका उनले छ छक्का र १२ चौका प्रहार गरे । यस्तै मोहमद नदिमले अविजित ३८, सुरज कुमारले २० र आयन खानले १८ रनको योगदान दिए । बलिङतर्फ नेपालका कुशल मल्ल र करन केसीले दुई/दुई तथा सुशन भारीले एक विकेट लिए ।
त्यसअघि नेपालका लागि ब्याटिङ गर्ने क्रममा आशिफ शेखले ९० रनको योगदान दिएका थिए । उनले ११२ बल खेल्ने क्रममा एक छक्का र सात चौका प्रहार गरे । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २१, करन केसीले २१, रोहितकुमार पौडेलले २० र सन्दीप लामिछानेले १६ रन बनाए । बलिङतर्फ ओमानका बिलाल खानले चार, नेस्टोर धम्बाले दुई तथा जेशन मसुद र मोहमद नदिमले एक/एक विकेट लिए ।
जितसँगै ओमान लिगको शीर्षस्थानमा कायमै रहेको छ । ओमान ११ खेलमा नौमा जित तथा दुईमा हारका साथ १८ अंकसहित शीर्षस्थानमा छ । नेपाल भने हालसम्म खेलेका छ खेलमध्ये तीनमा जित तथा तीनमा हारका साथ आफ्नो समूहको अंक तालिकाको छैटौँ स्थानमा छ ।
आइसिसी विश्वकप लिग–२ खेलिरहेको अमेरिका १३ खेलमा छमा जित र सातमा हारसहित १२ अंक जोड्दै दोस्रो, स्कटल्याण्ड आठ खेलमा चारमा जित र तीनमा हारसहित नौ अंकसहित तेस्रो, नामिबिया सात खेलमा चारमा जित र तीनमा हार व्यहोर्दै आठ अंकसहित चौथो, युनाइटेड अरब इमिरेटस् (युएई) सात खेलमा तीनमा जित र तीनमा हारका साथ सात अंक जोड्दै पाँचौँ तथा पपुवा न्यूगिनी हालसम्म खेलेका आठवटै खेलमा पराजयका साथ अंकविहीन बन्दै लिग–२ को पुछारमा छ ।
लिग–२ अन्तर्गत सन् २०२३ सम्म नेपालसहित उक्त समूहका सातवटै देश प्रत्येकले ३६ एकदिवसीय खेल खेल्ने छन् । लिग–२ का शीर्ष तीन टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्ने छन् । नेपालले अब शुक्रबार अर्को खेल अमेरिकासँग खेल्ने छ ।
















रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
प्रतिक्रिया