बिहीबार, वैशाख १७, २०८३

गण्डकी प्रवेश नाकामा स्वास्थ्य निगरानी केन्द्र स्थापना

मेरोन्यूज २०७८ असोज २ गते ७:११

काठमाडौँ । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनीमा स्वास्थ्य प्रवर्धन तथा निगरानी केन्द्र स्थापना गरेको छ । आँबुखैरेनी गाउँपालिका ४ पुलजीपमा मन्त्रालयले निगरानी केन्द्र स्थापना गरेको हो ।

Advertisement
NiccNicc

निगरानी केन्द्रमा मुग्लिङ पुल हुँदै गण्डकी प्रदेश प्रवेश गर्ने हरेक सवारी साधनको नम्बर दर्ता गरिने र स्वास्थ्यको मापदण्ड पालना गरे-नगरेको परीक्षण गरिने आँबुखैरेनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमप्रसाद उपाध्यायले जानकारी दिए । ‘सबै यात्रुलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न लगाइनेछ, केही समस्या भए तत्कालै समाधान पनि गरिनेछ,’ उनले भने, ‘यसका साथै स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गरिनेछ ।’

निगरानी केन्द्रमा हेल्थ असिस्टेन्टको नेतृत्वमा तीन स्वास्थ्यकर्मी खटाइएको छ । ‘निगरानी केन्द्रबाट कोरोनाको मात्र नभई हाल फैलिएको निपा भाइरस, सेतो पुतलीको प्रकोपलगायतका बारेमा यात्रुलाई जानकारी दिन्छौँ,’ उपाध्यायले भने । गाउँपालिका र मन्त्रालयको सहकार्यमा स्थापना गरिएको निगरानी केन्द्रको शुक्रबार शुभारम्भ गर्दै प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारीले कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकार गम्भीर रुपमा लागिरहेको बताए ।

गण्डकी प्रदेशका बासिन्दालाई कोरोना भाइरसबाट सुरक्षित राख्नका लागि निगरानी केन्द्र स्थापना गरिएको मन्त्री अधिकारीले जानकारी दिए ।

मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्माले हरेक व्यक्तिको स्वास्थ्यको निगरानी गर्न र सूचना प्रवाह गर्ने उद्देश्यले निगरानी केन्द्र स्थापना गरिएको बताए ।

प्रतिक्रिया