विधान महाधिवेशन तयारी छलफल
एमालेमा नेकपाकालकै जस्तो सचिवालय बनाउन प्रस्ताव
अध्यक्षसहित सवै पदाधिकारी र केन्द्रीय सदस्य पनि निर्वाचित हुनुपर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा नेकपाकालकै जस्तो पार्टीको सर्वाेच्च निकाय सचिवालय गठनको प्रस्ताव गरिएको छ । पार्टीमा अध्यक्षको नेतृत्वमा ७ सदस्यीय सचिवालयको प्रस्ताव गरिएको छ ।
विधान महाधिवेशनको तयारीमा रहेको एमालेले विधानमै सचिवालय ब्यवस्थाको प्रस्ताव गरेको हो ।
‘नेकपामा जस्तै सात सदस्यीय सचिवालयको प्रस्ताव पार्टीभित्र आएको छ, अध्यक्षकै नेतृत्वमा सचिवालय बनाउने प्रस्ताव छ । अहिले विधानमा महासचिवको नेतृत्वमा कार्यलय सम्बन्धी सचिवालय रहेको छ । तर अध्यक्षकै नेतृत्वमा पार्टीको सर्वाेच्च निकायका रुपमा रहने गरी सचिवालयको प्रस्ताव आएको छ,’ एमाले उपाध्यक्ष युवराज ज्ञवालीले भने ।
एमाले र माओवादीबीच एकता हुँदा दुई अध्यक्षसहित ९ सदस्यीय सचिवालय बनाइएको थियो । तर यो पार्टी एकता टिक्न नसकेपछि एमाले र माओवादी आफ्नै पूर्ववत संगठनात्मक संरचनामा फर्केको छ । तर एमालेमा अव नेकपाकालको जस्तै सचिवालय गठनको प्रस्ताव भएको हो ।
विधानबाट पोलिटब्यूरो संरचना हटाइने भएको छ । एमालेमा अहिले पोलिटब्यूरो, वैकल्पिक पोलिटब्यूरो सम्म रहने ब्यवस्था थियो । तर अहिले पोलिटब्यूरो हटाउने प्रस्ताव आएको छ ।
प्रस्तावित विधानमा उपाध्यक्षको संख्या घटाएर सचिवको संख्या बढाइएको छ । तीन जना उपाध्यक्ष र प्रदेश तहवाट गरी ७ जना सचिव रहने गरी ब्यवस्था गर्ने गरी प्रस्ताव आएको पनि नेताहरुले बताएका छन् ।
नवौं महाधिवेशनमा उपाध्यक्ष र सचिवको संख्या पाँच, पाँच रहेको थियो । उपमहासचिव भने २ जना रहने छन् । केन्द्रीय कमिटी भने २ सय २५ जनाको रहने प्रस्ताव गरिएको छ । राष्ट्रिय प्रतिनिधि परिषद् महाधिवेशनको प्रतिनिधिलाई बनाउने प्रस्ताव गरिएको छ ।
अध्यक्षसहित सवै निर्वाचित
एमालेले यस अगाडि विधान महाधिवेशनमा अध्यक्ष र केन्द्रीय सदस्य मात्र निर्वाचित हुने प्रस्ताव गरिएको थियो । तर अध्यक्ष मात्र निर्वाचित हुने र पदाधिकारी निर्वाचित केन्द्रीय समितिबाट मनोनित हुने ब्यवस्थाले पार्टी नेतृत्वको दास वन्ने र उनको आलोचना गर्न समेत नसक्ने र अध्यक्षकै वरिपरि घुम्नेले मात्र अवसर पाउन सक्ने भन्दै त्यसमा चर्काे असन्तुष्टि बढेपछि एमालेले अव अध्यक्षसहितका सबै पदाधिकारीहरु प्रत्यक्ष रुपमा निर्वाचित हुने व्यवस्थाको प्रस्ताव गरेको छ ।
स्थायी कमिटी बैठकमा संगठन विभागले त्यस्तो प्रस्ताव गरेको हो ।
त्यसैगरी कार्यकारी पदमा निर्वाचित हुनका लागि ७० वर्षे उमेरहदको व्यवस्था कायम राखेर प्रस्ताव गरिएको छ ।
एमालेको विधान सम्मेलन असोज १५, १६ र १७ गते हुदैछ । एमालेको आइतबारको स्थायी कमिटी बैठकमा विधान महाधिवेशनमा पेस गरिने राजनीतिक, विधान संशोधनसम्बन्धी र सांगठानिक प्रतिवेदनमाथि छलफल शुरू भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
आइतबारको बैठकमा अमृत बोहरा, केशव बडाल, पुष्प कँडेल, घनश्याम भुसाल र युवराज ज्ञवालीले धारणा राखेका थिए ।
सोमबार पुन: एमाले स्थायी कमिटि बैठक बस्नेछ । दिउँसो १ बजे बैठक बस्ने र बाँकी सदस्यले सुझाव राखेपछि आवश्यक सुझाव समेटेर प्रतिवेदन परिमार्जन गरी ८ र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिने जानकारी भट्टराईले दिए । केन्द्रीय कमिटीबाट पनि आएका सुझावलाई समेटेर विधान महाधिवेशनमा प्रतिवेदन पेस हुने उनको भनाइ छ।
प्रतिक्रिया