सोमबार, वैशाख २९, २०८२

संखुवासभा सामूहिक हत्या : यसरी बनेको थियो योजना, अनुकूल मिले धनमालसम्म लाने

मेरोन्यूज २०७८ असोज ४ गते १५:२९

काठमाडौँ । संखुवासभा जिल्लाको मादी नगरपालिका १ उम्लिङ खोला गाउँमा गत भदौँ २१ गते भएको सामूहिक हत्याका मुख्य योजनाकार पक्राउ परेका छन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको लोकबहादुर कार्कीका काकालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाका मुख्य योजनाकार लोकबहादुरका काका खड्गबहादुर कार्कीसहित उनका बुवालाई प्रहरीले पक्राउ गरेको हो । घटनामा संलग्न भएको भन्दै प्रहरीले
खड्ग बहादुरका छोरालाई समेत पक्राउ गरेको छ । लोकबहादुरका भाइलाई यसअघि नै पक्राउ परेका थिए ।

प्रहरीका अनुसार उक्त घटनामा लालबहादुर कार्कीका दुई छोरा र तीन नाती सहभागी रहेका थिए । उनीहरूले ५५ वर्षीय तेजबहादुर कार्की परिवारको हत्या गरी धनमाल लैजाने योजना भएका थिए ।

प्रहरीले सार्वजनिक गरेको अनुसन्धान सम्बन्धि प्रेस विज्ञप्तिमा भनिएको छ, ‘घटना योजनाबद्ध ढंगबाट ५ जनाको समूहले घटाएको जुन योजना अभियुक्त लोकबहादुर कार्कीको घरमा घटनाको अघिल्लो रात राति ८ बजे मुख्य योजनाकार खड्गबहादुर कार्कीसहित हस्त बहादुर कार्की, लोकबहादुर कार्की र नरेश कार्कीसमेत बसी बनाएको, योजनाअनुसार घटनाको दिन २१ गते बिहान मृतक तेजबहादुर कार्की खेताला बोलाउन लोक बहादुरको घरमा आउने र सोही अवसरमा मौका छोपी तेजकुमार र कमला कार्कीको हत्या गर्ने अन्यले थाहा पाए भने उनीहरूको पनि हत्या गर्ने साथै अनुकूल मिलेमा तेजबहादुरको घरमा भएको धनमालसमेत लाने योजना रहेको ।’

घटनामा लोकबहादुरको परिवारका सबै जना संलग्न भएको देखिएको छ । प्रहरीले जारी गरेको विज्ञप्तिअनुसार लोकबहादुर प्रहरी हिरासतमा छन् भने उनका बुवा रणबहादुर र भाइ नरेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, घटनामा लोकबहादुरका काका खड्गबहादुर र उनका छोरा हस्तबहादुरलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनामा तेजबहादुरकी आमा ८४ वर्षीय पार्वती, ५४ वर्षीय श्रीमती कमला, ३२ वर्षीय बुहारी रञ्जना, ८ वर्षीय नाती दिपेन र ५ वर्षीय नातिनी गोमाको हत्या भएको थियो । घटनामा लोकबहादुरले चिर्पटले हान्ने र हस्तबहादुर र नरेशले एकपछि अर्को गरी छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसन्धान रञ्जनाको हराएको फोनमा केन्द्रीत भई सुरु भएसँगै थप आरोपीलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । हराएको फोन लोकबहादुरको भाइको साथबाट फेला परेसँगै अन्य व्यक्तिहरू पनि घटनामा सामेल भएको भन्दै प्रहरीले थप अनुसन्धान सुरु गरेको थियो ।

सोही क्रममा प्रहरीले थप आरोपीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो । यस क्रममा प्रहरीले मुख्य योजनाकारसहित बाँकी आरोपीलाई पक्राउ गर्न सफल भएको हो । घटना भएको एक हप्तापछि लोकबहादुरले मात्रै आफूले हत्या गरेको स्वीकार गरेका थिए । तर, प्रहरीले अनुसन्धान जारी राख्दै आएको थियो ।

प्रतिक्रिया