शनिबार, पुष ५, २०८२

दसैँको मुखमा विद्यालय खोल्ने निर्णय

मेरोन्यूज २०७८ असोज ७ गते १९:३७

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आइतबारदेखि भौतिक रुपमा उपस्थित हुने गरी विद्यालय खोल्ने निर्णय गरेको छ ।

विश्वभरि फैलिएको कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण गत वैशाखको दोस्रो सातादेखि बन्द रहेका विद्यालय भौतिक रुपमा खोल्ने निर्णय भएको हो । कामपा शिक्षा विभागको बुधबार बसेको बैठकले विद्यालय खोल्ने अनुमति दिने निर्णय गरेको हो ।

कामपा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीका अनुसार भौतिक रुपमा विद्यालय खोल्न व्यवस्थापन समितिको बैठक बसी अभिभावकको सहमति लिएर कार्ययोजना बनाएर कामपामा पेश गर्नु पर्नेछ । विद्यार्थी संख्या धेरै भएका विद्यालय भने खोल्नका लागि अनिवार्य नगरेको पनि कामपाले जनाएको छ ।

कामपाभित्र सञ्चालनमा रहेका विद्यालय पुनःसञ्चालन गर्न व्यवस्थापन समितिको बैठक बसी आपसी समझदारीमा मात्र सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउने, विद्यालय सञ्चालनको विस्तृत कार्ययोजना बनाई महानगरको शिक्षा शाखामा पेश गर्नुपर्ने र शिक्षक, विद्यालय कर्मचारी, चालक सबैले खोप लगाएको हुनु पर्ने छ ।

शिक्षक, कर्मचारी, चालक कसैले खोप लगाउन बाँकी रहेको अवस्थामा कामपाले खोप लगाउने व्यवस्थासमेत गर्ने जनाएको छ । कामपाले औपचारिक जानकारी आज गरे पनि यसअघि नै विद्यार्थी संख्या कम भएका विद्यालय आलोपालो गरेर सञ्चालनमा आइसकेका छन् ।

लामो समय विद्यालय बन्द रहेको, चाडबाडको समय नजिक आएको र कोरोनाको त्रास अझै कायमै हुँदा अधिकांश विद्यार्थी गाउँमा रहेकाले दशैँ तिहारपछि मात्र भौतिक रुपमा विद्यालय पुनःसञ्चालन गर्नु पर्ने माग अभिभावकको छ ।

प्रतिक्रिया