बुधबार, पुष २, २०८२

दुई महिनामा १३ अर्ब ६६ करोड रुपैयाँको तरकारी र फलफूल नेपाल भित्रियो

मेरोन्यूज २०७८ असोज ११ गते ९:५३

काठमाण्डौँ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामै १३ अर्ब ६६ करोड रुपैयाँको हरियो तरकारी र फलफूल नेपाल आयात भएको छ ।

भन्सार विभागका अनुसार साउन र भदौमा ८ अर्ब ३६ करोड ३९ लाख रुपैयाँको तरकारी विभिन्न देशबाट नेपाल भित्रिएको हो । यस्तै ५ अर्ब ३० करोड रुपैयाँको फलफूल आयात भएको छ ।

विभागका अनुसार दुई महिनामा १२ अर्ब ९२ करोड रुपैयाँको खाद्यान्न आयात भएको छ । भारत, चीन, ब्राजिल, स्पेनलगायतका देशबाट धान, चामल, मकै, गहुँ, गेडागुडीलगायतका खाद्यान्न नेपाल भित्रिएको हो ।

यस्तै दुई महिनामा २२ करोड रुपैयाँको कफी र ३४ करोड रुपैयाँको दुग्धजन्य पदार्थ आयात भएको भन्सार विभागले जनाएको छ ।

सरकारले हरेक वर्ष तरकारी, नेपालमै पाइने फलफूल तथा खाद्यान्नमा आत्मनिर्भर हुने भन्दै विभिन्न योजना र कार्यक्रम ल्याए पनि बर्सेनि अर्बाैँ रुपैयाँको हरियो तरकारी, फलफूल र खाद्यान्न आयात हुने गरेको हो ।

गएको आर्थिक वर्षमा नेपालमा ३८ अर्ब रुपैयाँको हरियो तरकारी आयात भएको थियो । यस्तै चामलमात्रै ५० अर्ब रुपैयाँको भित्रिएको भन्सार विभागको तत्थ्यांक छ ।

प्रतिक्रिया