सर्वदलिय बैठक बस्दै, बैठकमा सहभागी हुने वा नहुने भन्नेमा एमाले अन्योल

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले सर्वदलिय बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले बैठक बिहीबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएका हुन् ।
प्रमुख प्रति पक्ष नेकपा एमालेले गत २३ गतेबाट लगातार संसद् बैठक अवरोध गर्दै आएपछि संसद्को गतिरोध अन्त्य गर्न सर्वदलिय बैठक बोलाइएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । यसबीचमा संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री देउवाले आफ्नो दुतका रुपमा कानुन मन्त्री ज्ञानेन्द्रवहादुर कार्कीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालकोट पठाएका थिए ।
तर एमालेले संसद अवरोध कायमै राखेपछि त्यसको अन्त्य गर्न देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । एमालेले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसद्लाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरेको भन्दै संसद् बैठक अवरोध गर्दै आएको छ ।
एमालेले संसद अवरोध कायमै राखे सरकारले संसद्को जारी अधिवेशन अन्त्य गर्ने जनाइएको छ । एमाले सचेतक शान्ता चौकधरीले प्रतिनिधि सभाको बैठकमा आज पनि अवरोध जारी रहने बताइन् ।
एमाले सर्वदलीय बठैकमा सहभागी नभएर वा सहभागी भएर संसद्को अवरोध अन्त्य गर्न सहमति नभए सरकारले संसद्को जारी अधिवेशन अन्त्य गर्ने बताइएको छ । एमाले सर्वदलिय बैठकमा सहभागी हुने वा नहुनेमा अन्योलता देखिएको छ ।
यस विषयमा एमाले नेताहरुसँग बुझ्दा कुनै जानकारी नभएको बताएका छन् । प्रधानमन्त्री देउवाले आजै मन्त्रिपरिषद्को बैठक बालाएका छन् । सर्वदलीय बैठकमा संसद् अवरोध अन्त्य गर्ने सहमति नभए आज बस्ने मन्त्रिपरिषद्को बैठकबाट संसद्को जारी अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने जनाइएको छ ।
प्रतिक्रिया