आइतबार, चैत १०, २०८१

लभलेटर संवाद

‘कति प्रेम पत्र लेखेँ हिसाब छैन, तर आफ्नै प्रेमिकालाई लेख्न सकिनँ’

दया दुदराज २०७८ असोज १६ गते ११:४३

‘मैले धेरै प्रेमील जोडीहरूको प्रेम सफल बनाउन पत्र लेखेको छु । तर, आफ्नै प्रेमिकाका लागि भने प्रेम पत्र लेख्न सकिनँ, मेरो प्रेम सफल पार्न अर्कैले पत्र लेखिदिएका थिए ।’

यो भनाई साहित्यकार मालिका केशरीको हो । सुन्दा अचम्म लागेन ? मलाई अचम्म लाग्यो । कस्तो मान्छे ! अर्काका लागि प्रेम पत्र लेख्नेले आफ्नो लागि किन लेख्न सकेनन् ? यो प्रश्नको जवाफ खोज्न मैले केशरीलाई ३ असोजमा फोन गरेँ । भेट्न समय मागेँ । उनले सोही दिन साँझ ५ बजे भेट्ने अनुमति दिए ।

काठमाडौँको जाम, ५ बजे पुग्नु पर्ने, जामका कारण साढे ५ बजे चक्रपथस्थित एक रेस्टुरेन्टमा पुगेँ । केशरीसँग भेट्न पाउने भएपछि उत्साहित थिएँ । सामान्य अनौपचारिक गफगाफपछि हामी औपचारिकमा लाग्यौँ । उनीसँग प्रेमपत्र संवादका लागि म त्यहाँ पुगेको थिएँ ।

सहज ढंगबाट उनलाई मनमा लागेको प्रश्नहरु खोतल्न सोच बनाएको थिएँ । मलाई प्रश्न गर्न सहज बनाउने मनसायले उनले भने, ‘तपाईलाई लागेका प्रश्नहरु सोध्नुस्, औपचारिकता आफ्नो ठाउँमा छ, ढुक्क कुराकानी गरौँ ।’ उनको यो भनाईले मैले कुराकानी गर्न सहज महसुस गरेँ ।

विं.सं. २०३९ साल पुष २ गते तनहु जिल्लाको साविक ढोरफिर्दी गाउँमा प्रकाशकुमार श्रेष्ठ (मालिकाकेशरी)को जन्म भएको थियो । मध्यम वर्गीय परिवारमा जन्मिएका उनी सानै उमेरदेखि अध्ययनमा निकै चासो राख्थे । उनले आफू सानो हुँदा रेडियो सुनेर धेरै ज्ञान बटुलेको सुनाए ।

आफ्नो बाल्यकाललाई स्मरण गर्दै उनले भने, ‘सानो छँदा घरमा रेडियो सुन्ने गरिन्थ्यो, सायद मनोरञ्जनको साधन नभएर होला, रेडियोको विकल्पमा अन्य मनोरञ्जनका साधन थिएनन्, जसले गर्दा पनि मैले खुबै रेडियो सुनेँ ।’

अध्ययनको लत…

बाल्यकालदेखि उनी पढ्नमा खुब रूची राख्ने मानिस । सानै उमेरमा धेरै पुस्तकहरू उनले अध्ययन गरिसकेका थिए । बाल्यकालका ती दिन मालिकाले कुरकानीका क्रममा स्मरण गरे ।

‘मलाई आज पनि स्मरण छ, हामी सानो छँदा भाडामा पुस्तक ल्याएर पढ्ने गर्थ्यौं,’ मालिकाले एउटा प्रसंग जोड्दै भने, ‘खोला वारी-खोला पारी नामक पुस्तकबाट मैले कक्षाका पाठ्यपुस्तक भन्दा बाहिरी किताबको अध्ययन यात्रा सुरु गरेको हुँ । यो पुस्तक मलाई साह्रै मन पर्छ, यो पुस्तक मैले धेरैपटक अध्ययन गरेको छु, यो पुस्तक भाडामा नै ल्याएर पढेको हुँ । त्यो समयमा कुनै पुस्तक पसल थिएनन्, भाडामा ल्याएर पढ्नुबाहेकका अन्य विकल्प थिएन ।’

सानो उमेरदेखि नै साहित्यमा धेरै चासो देखाउने केशरीले आफ्नो बाल्यकालमा धेरै बाल पुस्तकहरू अध्ययन गरेको सुनाए । ‘घरमा रेडियो थियो, खबर सुन्नका लागि रेडियोहरू सुन्ने गर्थें, तर सधैँ रेडियो सुन्दा धेरै आनन्द आउँदैन थियो, त्यो समय रेडियोको विकल्पमा पुस्तक थियो त्यसकारण पुस्तक अध्ययन गर्नै पर्ने बाध्यता थियो, त्यसैले सानै उमेरदेखि पुस्तकमा लत बस्यो,’ उनले भने ।

प्रेमपत्रको व्यापार गरेँ कि ?

तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका ८ स्थित गणपतिमा रहेको फर्कोदय माध्यमिक विद्यालयमा उनले अध्ययन गरे । त्यही स्कुले जीवनमै उनले धेरै साथीहरूका लागि प्रमे पत्र लेखे । उनलाई स्कुले जीवन अहिले सम्झदा आनन्द लाग्छ । कतिपय अवस्थामा ती दिन सम्झिँदा मालिकालाई रोमाञ्चित बनाउँछ । अनि, कहिलेकाहीँ ती दिन सम्झेर हाँसो ठट्टा गर्छन उनी ।

कति प्रेमिल जोडीका लागि उनले प्रेमपत्र लेखे ? त्यसको उनीसँगै कुनै हिसाब छैन । ‘सयौँ लेखे हुँला, साथीहरुले लैन लेखिदिनु पर्यो भन्दै आउँथे, म नकार्न नसक्ने, लेख्न कस्सिहाल्ने, त्यसपछि लेखिदिन्थे, त्यसमध्ये पनि दर्जनौँ साथीहरुको त्यसबेलाको प्रेम जीवन सफल पनि भएको छ,’ मालिकाले सुनाए । एक मन उनलाई ती दिन सम्झदा आनन्द लाग्छ । ‘साथीहरुको प्रेम सफल बनाउन कही न कही आफूले लेखेको प्रेम पत्रले काम गरेको छ, कतिजना विवाह गरेर नाति नातिनाका हजुरबा–हजुरआमा भइसके,’ उनले भने ।

अहिलेको जस्तो उ बेला कहाँ मोबाइल हुनु, एसएमएस, टेलिफोन, समाजिक सञ्जालहरु थिएन । त्यसकारण आफ्नो मन परेको मान्छे पट्टाउनु पर्यो भने आर्कषक शब्द चयनमा मन्त्र मुग्द बनाउने कलासहितको प्रेम पत्र लेख्न जो कोही चाहान्थे । साहित्यका किताबमा रुची राख्ने मालिका त्यसपछि सबैका प्रेम पत्र लेखिदिने साहारा बने ।

तर, आज उनलाई लाग्छ- त्यसबेला आफूले साथीहरूका प्रेमपत्र लेखिदिँदा स्वार्थमा लेखिदिएँ कि भन्ने लाग्दो रहेछ । मैले प्रश्न गरेँ, ‘किन त्यस्तो लाग्यो ?’

‘त्यो बेलाको अवस्था नै खोई त्यस्तै भएर पो हो कि ? अहिले जस्तो विद्यालयमा खाजा लैजाने चलन थिएन, साथीहरूले खाजा खुवाउछु, पत्र लेख्दे न भन्दा पत्र लेख्न कस्सिहाल्थेँ,’ उनले अगाडि थपे, ‘अहिले सम्झिँदा त्यस बेला मैले प्रेम पत्र साथीहरूका लेखिदिएर कतै व्यापार पो गरेँ कि ? आफ्नो पनि स्वार्थ पो सँगै पाले की ?’

उनले सधै त्यसरी भने प्रेमपत्र लेखेनन् । शुरुका दिनमा मात्र उनले खाजा खुवाउने साथीहरूका प्रेमपत्र लेखे । पछि बुझ्दै जान थालेपछि भने त्यक्तिकै ‘सहयोगी’ भावका साथ लेखिदिन थाले । अझ, रमाइलो त के भने केटाको तर्फबाट पनि, र केटीको तर्फबाट आफैले प्रतिउत्तर जवाफ लेख्ने गरेको कयौँ सस्मरण छ, उनीसँग ।

अनि, आफ्नै प्रेम ?

सयौँ साथीसंगीका प्रेमपत्र लेखेका मालिकाको जीवनमा नयाँ उतारचढाव आयो । उनले पनि एउटी केटीलाई जीवनमा मन पराए । तर उनले आफ्नै प्रेमिकालाई भने ‘प्रेमपत्र’ लेख्न सकेनन् । आफ्नै प्रेमिकाका लागि भने उनले अर्काे साथी ‘प्रेमपत्र’ लेख्ने खोज्नु पर्‍यो ।

‘मैले पनि एउटी केटी मन पराएँ । तर प्रेम पत्र लेख्न सकिनँ,’ उनले आफ्नो प्रेम प्रसंग कोट्याउँदै भने, ‘साथीभाइहरूका लागि आफ्नै हातले सयौं प्रेमपत्र लेखेको मान्छे आफ्नै प्रेमिकाका लागि पत्र लेख्न सकिनँ । मेरो मन परेको मान्छेलाई अर्काे साथीलाई भनेर प्रेमपत्र लेख्न लगाएँ ।’

उनले मन पराएकी केटीसँग उनको त्यसपछि प्रेमील जीवन शुरु भयो । ६ वर्षको प्रेमपछि त्यसलाई उनीहरुले विवाहमा परिणत गरे । उनले अन्तर जातीय प्रेम विवाह गरेका हुन् ।

‘हाम्रो अन्तर जातीय प्रेम विवाह हो, उनी ब्रामह्रण, म नेवार । तैपनि हाम्रो प्रेम सफल भयो । ६ वर्ष प्रेम गरेपछि विवाह गर्ने सुरसार कसियो । प्रेम गरेता पनि विवाहका लागि उनको परिवारलाई मनाउन निकै कठिन । आज पनि उनको हात माग्न गएको दिन सम्झदा मुटु थरर हुन्छ । त्यो समयमा पनि मलाई पत्याएर छोरी जिम्मा लगाउनुभयो । हाम्रो दाम्पत्य जीवन खुसी नै छ,’ मालिकाले भने । अहिले मालिका दम्पतीका २ छोराहरू छन् ।

प्रेमपत्र लेखेर गर्ने त्यो बेलाको प्रेम प्रस्ताव र अहिले प्रविधिमा आएको विकासले बदलिँदो प्रेम प्रस्ताव र प्रेमिल जोडीहरुका कथालाई मालिकाले नियालेर अहिले दाँजेका होलान् ? ‘पछिल्लो समय प्रेम सौदाबाजी जस्तो बनेको छ । अझ भनौ स्वार्थका लागि प्रेम गर्ने प्रचलन बढ्दै गएको छ । हाम्रो समयमा प्रेम निश्चल हुन्थ्यो, अटल हुन्थ्यो अनि प्रगाढ हुन्थ्यो तर हिजो आजको प्रेमिल जोडीहरूलाई देख्दा उनीहरुले केही स्वार्थका लागि वा केही पावन्दी तोकेर मात्रै प्रेम गर्ने गरेको देखिन्छ, तर त्यसलाई प्रेम भनिदैन त्यसलाई मोलमलाई भनिन्छ,’ उनले भने, ‘प्रेम भनेको पीडा, असफलता र त्याग पछिको खुसी हो । पछिल्लो समयका प्रेमिल जोडीहरूमा यो गुण कमैमा भेटिन्छ ।’

साहित्य यात्रा…

विद्यालय जीवनमा अरुका लागि लेखिएको प्रेम पत्रले मालिकालाई अहिले साहित्यिक जग बसाउन आधारभूमि तयार पार्‍यो । विद्यालय जीवनमा लेखिएको प्रेम पत्रले लेखनमा रूची जाग्दै जान थालेपछि उनले विं.सं. २०५८ मा कविता सङ्ग्रह ‘मिरमिरे’ निकालेका थिए । आफू कक्षा ५ मा पढ्दा विद्यालयले आयोजना गरेको कविता प्रतियोगितामा आमा देवीकुमारी श्रेष्ठले लेखेको कविता वाचन गरेर पहिलो स्थान हासिल गर्न सफल भएको स्मरण उनले गरे ।

प्रेम पत्र लेखनको अभ्यासले उनलाई तीन उपन्यास लेख्न सहयोग पुगेको छ । तीनै वटा उपन्यास पनि प्रेमकै विषयमा लेखिएका छन् । विद्यालय जीवनपछि उच्च शिक्षा हासिल गर्दा मालिका साहित्यतिर त्यति सक्रिय हुन पाएनन् । पढाइसकेर पेशामा सक्रिय भएकै बेला साथी होम बेल्वासेले पटकपटक आफ्नो असफल प्रेम जीवनका बारेमा उनलाई सुनाउन थाले । साथीभाइको समूहमा धेरैपटक जिस्क्याएर बेल्वासेका कुरालाई टारेका उनलाई एकदिन आफ्ना साथीले प्रेममा पाएको असफलताकै कारण रोएको देखे । त्यसपछि भने उनलाई उपत्यान्स लेख्ने रहर जाग्यो ।

उनले ती साथीसँग उनको प्रेम जीवनमा रहेर उपन्यास लेख्न अनुमति मागे । साथीले पनि तत्कालै स्वीकृति दिए । अनि सुरु भयो मालिकाको उपन्यास लेखन यात्रा । विसं २०५२ देखि २०६३ का बीचको राजनीतिक घटना क्रमका बेलाको अन्तर जातीय प्रेमकथामा आधारित भएर लेखिएको ‘पुरुत्थान’ पाठकले धेरै नै मन पराइदिए ।

त्यसपछि त उनको मन फुरुङ भइहाल्यो । लेख्दा हुने रैछ भन्ने भावना जागृत भयो । साङ्ग्रिला प्रकाशनले ‘पुरुत्थान’लाई पुनः प्रकाशन गर्ने प्रस्ताव अघि सार्यो । साङ्ग्रिलाले दोस्रो संस्करणमा छापेको तीन हजारप्रति बजारमा सकिएको छ । ‘पुरुत्थान’ छाप्ने बेलामै उनले असली नाम छोडेर साहित्यिक नाम ‘मालिका केशरी’को उपनामले चिनिन थाले ।

पहिलो उपन्यासको मस्यौदा १२ दिनमा गरेका मालिकाले सम्पादनलगायत अन्तिम रुप दिन करिब एक महिना समय खर्चिएका थिए । दोस्रो उपन्यास ‘सुवर्णलता’का लागि भने उनले सात महिना समय दिनु पर्यो । ‘सुवर्णलता’मा आमाबाबुबाट छुटिनु पर्दाका पीडा, विशेषगरी आमाबाबु लाहुर गएका छोराछोरीको अवस्थालाई उपन्यासकार श्रेष्ठले पाठकसमक्ष पस्किए ।

उपन्यासमा खोजी पत्रकारिताको प्रसङ्ग पनि छ । डोल्पाको कुनै गाउँमा सडक खन्दा भेटिएको गुफाका विषयमा खोजी पत्रकारिता गरिएको विषय पनि उपन्यासमा देखाइएको छ । गुफामा सयौँ वर्षदेखि ध्यानावस्थामा रहेकी युवतीको कथालाई रोमाञ्चकताका साथ मालिकाले उपन्यासमार्फत पाठकहरुमा पस्किएका छन् ।

उपन्यासमा मुक्ति मार्गका कुरा, प्रेम दुःखको कारण भएको, मानिस मोहमा बाँधिनु हुन्न भन्नेजस्ता विषय समेटिएका छन् । पाठकलाई प्रेमसँग बौद्ध दर्शन र शान्तिका कुराका माध्यमबाट पढुँ पढुँ लाग्ने गरी उत्सुक बनाउन उपन्यासकार केशरी सफल देखिएका छन् । उनको तेस्रो उपन्यास ‘दुङाल’ हालै बजारमा आएको छ । ‘दुङाल’ भदौ ५ गते विमोचित भएको थियो । नेपालमा शरणार्थी जीवन भोग्न बाध्य तिब्बतीयन युवती कारचुङका माध्यमबाट उनले त्यस जीवनका बारेमा पाठकलाई जानकारी दिन खोजेका छन् ।

‘‘दुङाल’ तिब्बतीयन शब्द हो । जसको अर्थ दुःख भन्ने हुन्छ । उपन्यासमा शरणार्थीका कथा व्यथालाई शब्दका माध्यमबाट उनेका छन् । खम्पा विद्रोहका सन्दर्भलाई पनि उपन्यासमा समेटिएको छ,’ मालिकाले भने ।

हिमालयन बौद्ध दर्शन अध्यापनमा लागेका डा. रमेश ढुङ्गेलको प्रेरणाले उनलाई यो उपन्यास लेखनमा उत्साहित बनाएको उनले बताए । अन्य पुस्तकले जस्तै उनको यो पुस्तकले समेत निकै चर्चा कमाएको छ ।

दया दुदराज

<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>

प्रतिक्रिया