बिहीबार, जेठ १, २०८२

‘नेपालका तीन कलाकार असाध्यै मनपर्छ’

जोन सन्जोग सुन्दास २०७८ असोज १६ गते १२:४१

अहिले रंगमञ्चमका कलाकारितामा थोरै व्यस्त छु । नाटक पहिलाजस्तो खेल्न पाइएको छैन । कोरोनाका कारण लकडाउनले सबै क्षेत्रमा असर पारेको जस्तै कला क्षेत्रमा पनि असहज भएकोमा दुई मत छैन । अहिले दसैँ नजिकिँदै गर्दा नयाँ कामहरू सुरु हुँदै छन् । रंगमञ्च चल्न सुरु गरेकाले केहीमा सानो भूमिकामा खेल्ने तयारीमा छु । रंगसँग सम्बन्धित नयाँ काम बजारमा आउन थालेकाले यसैमा व्यस्त छु ।

हाम्रो काम कला देखाउने होे । राम्रो, नराम्रो भन्दा पनि कलामा नयाँ भूमिका नयाँ दृष्टिलाई अगाडि बढाउने हो । त्यसैमा लागिरहेको छु । यस क्षेत्रमा नयाँ आउने साथीहरुले योजनाबद्ध रुपमा आउनु पर्छ भन्न चाहन्छु । पुराना व्यक्तिहरु जो यस क्षेत्रमा लाग्नु भयो, गाह्रो अवस्थामा हुनु हुन्छ । रंग, कला क्षेत्रमै जीवन बिताउन गाह्रो भएकाले अन्य व्यवसायलाई सँगै लिनु पर्ने भएकाले रंगमञ्चमा दुःखको देखिएको छ । आफ्नो क्षेत्रलाई हेर्नुभन्दा पनि आफ्नो मान्छेलाई च्याप्नु पर्ने अवस्थाले केही कठिन देखिएको छ ।

मेहनत गर्ने कलाकार मञ्चमा आउन नसकेर, छायामा पर्नु पर्ने स्थितिले केहीलाई नरम बनाउन खोज्दा अशैय्य हुन्छ । कलाकारिता क्षेत्रमा लागेका लाग्न चाहेकालाई उसको कला, अभिनयलाई हेरेर काम दिनुपर्छ । रंगमञ्चसँगै टेलिफिल्म, सिरियल, फिल्ममा लागेका, लाग्न चाहेकालाई आफ्नो मान्छे, निर्देशक, निर्माताको मान्छे, वरिष्ठ कलाकारको मान्छे भनेर नछुट्टाई सिप भएकालाई अवसर दिनुपर्छ भन्छु म । म जस्ता हजारौं यस क्षेत्रमा हुनु हुन्छ तर उत्कृष्ठ र राम्रो भनेर छुट्टाउदा उत्तम हुन्छ भन्ने लाग्छ मलाई ।

नयाँ पुस्ताले नयाँ खोज्छ । जस्तो उदाहरणको लागि लुट चलचित्र, लुटले नयाँ पुस्तालाई अंगिकार गर्यो र चल्यो । पुरानो फिल्मभन्दा नयाँ स्वरुपमा आफूलाई उभ्यायो । नयाँ पुस्ताले प्रयोग गर्ने शब्दलाई सहज रुपमा प्रयोग गरेर समाजमा केही गर्ने उदाहरण देखायो । जसले फिल्म क्षेत्रमा परिवर्तन आवश्यकताको उदाहरण दियो जुन मलाई असाध्यै मनपर्छ । अब परिवर्तन हुनुपर्छ सबै क्षेत्रमा परिवर्तनले विकाससँगै चुनौती दिनेमा दुई मत छैन जस्तो लाग्छ मलाई ।

कला क्षेत्रका मन पर्नेहरू

म विदेश गएको बेला नेपाली रंगकर्मी भनेर सुनाउदा खुसी लाग्छ । सबै विदेशीले नेपाली कलाकार चिनुन् भन्ने लाग्छ । सबै प्रणालीअन्तर्गत चलोस् । हलिउड, बलिउड जस्तै नेपाली कला, कलाकार भनेर चिनुन् । सबै दाजुभाइलाई समेटेर, एक अर्काको साथमा अघि बढ्नुपर्छ ।
तर, मलाई चाहिँ मन पर्ने कलाकार भनेर छान्नु पर्दा सौगात मल्ल, विपिन कार्र्की र दयाहाङ राई असाध्यै मनपर्छ । त्यसको मतलब अरु मन नपर्ने भन्ने होइन यद्यपि छनोट गर्दा यी तीन जनाको नाम नै लिन्छु ।

अहिलेको अवस्था

कोरोनाका कारण सबैलाई कठिन भयो । तर, पहिलो कुरा आफ्नो ज्यान हो । कलामा अरुलाई देखाउनका लागि पनि ज्यान सन्तुलनमा राख्न व्यायामसँगै खानपानमा ध्यान दिनु पर्छ ।

कोरोनाका कारण भएको लकडाउनले आय श्रोतमा अवरोध भयो । लुगा, कपडा बिक्री गर्ने काममा लागेको छु । अनलाइनबाट व्यवसाय गर्दै आएको छु । तर, मुख्य कुरा कला नै हो । कला क्षेत्रको विकाससँगै मेरो व्यक्तित्वको पनि विकास भएको छ ।

पहिला रंगमञ्च भनेको के ? खुला क्षेत्रमा देखाउने नाटक नै हो त ? भन्ने प्रश्न अधिकांशमा हुन्थ्यो । तर अहिले कला क्षेत्र रोज्दा कला सिक्ने ठाउँ, कलाको कुन क्षेत्रमा लाग्ने भन्ने पहिले योजना भएकाले सहज भएको छ । त्यसैले रंग क्षेत्र पहिलोभन्दा अहिले राम्रो हुँदैछ जसले मलाई पनि टेवा दिएको छ । तर पनि निकै गाह्रो भएको अवस्थाले निराश नपार्ने होइन । यस क्षेत्रमा लागेका र लाग्ने चाहनेका लागि । त्यसैले सोच विचार योजनासहित अघि बढ्नु पर्छ ।

रंगमञ्चको यात्रा

मैले सुरुदेखि नै कला क्षेत्रमा लाग्ने योजना बनाएको थिएँ । म कलाकार भएको सम्झिन्थेँ । नाटकमा भूमिका खेलेको कल्पना गरेँ । स्कुले समयमा कार्यक्रम हुँदा भाग लिन्थेँ । मेरो काम कला हो, चाहे म सफल रहुँ, चाहे विराऊँ । म कला नै रोज्छु भनेर यही क्षेत्रमा लागेको हुँ । त्यस बेला मेरो आत्माले यही क्षेत्रबाट रोजी रोटी चल्छ भनेर निर्णय गरेकाले यस क्षेत्रमा लागेको हुँ ।

म रंगमञ्च प्रवेश गर्नुअघि टेलिसिरियलमा पाइला टेकेँ । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने तिते करेली मेरो पहिलो कला क्षेत्रको यात्रा हो । त्यसपछि नेपाल टेलिभिजनबाट प्रसारण हुने जीवनचक्रमा काम गरेँ । प्रेमलिला, सम्मान नामक चलचित्रमा काम गरेँ । कलाकारिता क्षेत्र नै मेरो जीवन हुने छ भन्ने सोचले यस क्षेत्रमा लाग्ने सोचेँ । यदि, म यो क्षेत्रमा सफल नभएको भए, यत्तिकै हुन्थेँ । यो नै मेरो जीवन हो भनेर लागेको हो ।
दसैँको अवसरमा रंगमञ्चमार्फत ‘हरियो ढुंगा’ नामक नाटकमा आबद्ध छु । जय माया आफूमात्र लेकावेली आइपुगिन् नामक नाटक खेल्दै छु । प्रयास जारी छ, अबका दिनमा राम्रो हुन्छ भन्ने लागेको छ ।

(मेरोन्युजका लागि कलाकार सुन्दाससँग किरण अधिकारीले गरेको कुराकानीको संम्पादित अंश)

प्रतिक्रिया