शनिबार, फागुन ३, २०८१

कालो झण्डासँग कांग्रेसका कोही नेता डराउँदैनन् : नेता कोइराला

मेरोन्यूज २०७८ असोज १७ गते १८:०८

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले केही मानिसले कालो झण्डा देखाउँदैमा आफूहरू नडराउने बताएका छन् । सभापति शेरबहादुर देउवा पक्षले डडेल्धुरामा आइतबार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेतालाई लक्षित गरी कालो झण्डा देखाएका छन् ।

Advertisement
IMEnabil

डडेल्धुरामा आयोजना गरिएको पौडेल समूहको सभालाई सम्बोधन गर्दै कोइरालाले भने, ‘अहिले केही साथीहरूले कालो झण्डा देखाउनु भयो, कालो झण्डासँग कांग्रेसका कोही नेता तथा कार्यकर्ता डराउँदैनन् ।’

उनका अनुसार टुँडिखेलमा भएको एक कार्यक्रममा गिरिजाप्रसाद कोइरालालाई कालो झण्डा देखाएका थिए । त्यसले कुनै फरक परेन अहिले पनि केही फरक नपर्ने उनले बताए । ‘डडेल्धुराको जय नेपाल, बालुवाटारमा बसेका शेरबहादुर जीले सुन्ने गरी भन्नु पर्यो,’ उनले भने ।

गत भदौँ २५ मा डडेल्धुरामा सभापति देउवा पक्षले क्रियाशील सदस्यता विवादकै बीच पेलेर नै वडा अधिवेशन गरेको थियो । उक्त स्थानमा फेरि वडा अधिवेशन गर्न माग गर्दै ११ दिनदेखि डडेल्धुरामा रिले अनसन थियो । उक्त अनसन आज पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसी र केन्द्रीय सदस्यहरू नेता कोइराला र गुरूराज घिमिरेको उपस्थितिमा दसैंसम्मका लागि अनसन स्थगित गरेका हुन् ।

प्रतिक्रिया