शनिबार, फागुन ३, २०८१

कांग्रेस महाधिवेशन : जिल्ला सभापतिमा पौडेल पक्ष दोब्बरले अगाडि

६ जिल्ला अधिवेशन हुँदा पौडेल ४, देउवा २

मेरोन्यूज २०७८ असोज १८ गते ९:२९

काठमाडौँ । सत्ताको नेतृत्वमा रहे पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जिल्ला अधिवेशनमा अग्रता ल्याउन सकेका छैनन् । नतिजा आएका ६ जिल्लामा देउवा समूहका भन्दा दोब्बर बढी पौडेल समूहका नेताले सभापति जितेका छन् ।

Advertisement
IMEnabil

परिणाम आएका ६ मध्ये २ जिल्ला सभापति संस्थापन पक्ष अर्थात सभापति देउवानिकट छन् । बाँकी ४ सभापति नेता रामचन्द्र पौडेलनिकट छन् । संस्थापन पक्षले मनाङ र हुम्लामा सभापति जितेको छ । पौडेल पक्षबाट मुस्ताङ, रुकुम पूर्व, कालीकोट र संखुवासभामा जिल्ला सभापति जितेको छ ।

संखुवासभामा पौडेल पक्षका दीपक खड्का देउवा पक्षका राइमान राईभन्दा आठ गुणा बढी मतले विजयी भएका छन् । दोलखामा पौडेल पक्षका बर्मा लामा पहिलो र कृष्ण सिटौला पक्षका तारा खड्का दोस्रो हुँदा देउवा पक्षका रुद्रबहादुर खड्का तेस्रो भए । दोलखामा सभापति चयनका लागि बर्मा लामा र तारा खड्काबीच सोमबार दोस्रो पटक निर्वाचन हुँदैछ ।

संस्थापनबाट मनाङमा शंकर गुरुङ र हुम्लामा मोहनविक्रम सिंह सभापति बन्न सफल भएका छन् । त्यस्तै पौडेल समूहबाट मुस्ताङमा रोमी गौचन थकाली, रुकुम पूर्वमा केशरमान रोका र कालिकोटमा अम्मबहादुर शाही सभापतिमा निर्वाचित भएका छन् । मुस्ताङमा सभापतिमा निर्वाचित थकाली पूर्व उद्योगमन्त्रीसमेत हुन् ।

त्यस्तै पौडेल समूहबाट संखुवासभाको पार्टी सभापतिमा निर्वाचित दिपक खड्का पनि पूर्वमन्त्री हुन् । खड्काले प्रतिस्पर्धी राइमान राईलाई १ हजार बढी मत अन्तरले पराजित गरे । खड्काले १ हजार १ सय ९८ मत ल्याउँदा राईले १ सय १० मत ल्याए । खड्का कांग्रेसको राजनीतिमा महामन्त्री डा. शशांक कोइरालाको विश्वासपात्रका रुपमा परिचित छन् । त्यहाँको उपसभापतिमा रामकुमार जिमी (९१६), अनन्त गौली (६७०), सचिवमा टकमान घले र कुमारबाबु अधिकारी, सहसचिवमा किशोर कुमार गुरुङ र सुवास कालाखेती विजयी भएका छन् ।

ठूला दुई महानगरमा पनि पौडेल समूहका नेता सभापतिमा निर्वाचित भएका छन् । विराटनगर र काठमाडौंमा पौडेल समूहका नेता सभापतिमा निर्वाचित भएका हुन् । विराटनगरमा दिपक चापागाई र काठमाडौंमा नीलकाजी शाक्य सभापतिमा निर्वाचित भए । उनीहरु दुवैजना नेता पौडेल समूहका हुन् ।

प्रतिक्रिया