शुक्रबार, वैशाख ४, २०८३

यात्रुसँग बढी भाडा लिने ९ जना पक्राउ

मेरोन्यूज २०७८ असोज २१ गते १५:५२

काठमाडौँ । उपत्यका बाहिर जाने यात्रुसँग तोकिएभन्दा बढी भाडा लिन खोज्ने ९ जना बिचौलियालाई काठमाडौँबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ । ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेसँगै यात्रुलाई परेका समस्याहरु समाधान गर्दै आएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

विगतका वर्षमा जस्तै चाडपर्वको समयमा उपत्यका बाहिरिने यात्रुहरूको चाप अत्याधिक हुने गर्दछ । यस्तो भिड भाडको मौका छोपी यात्रुहरूलाई ठगी गर्ने, बढी भाडा लिने, डबल टिकट काट्ने समूहलाई नियन्त्रण गर्न र सहज र सुरक्षित यात्राको व्यवस्था गर्न ट्राफिक प्रहरीले विशेष निगरानी एव अनुगमन गर्न टोली परिचालन गरेको छ ।

ट्राफिक प्रहरीको सादा पोशाकमा खटिएको टोलीले उपत्यका बाहिरिने यात्रुसँग बढी भाडा लिई टिकट काट्ने व्यक्तिहरूलाई निगरानी गर्ने, आफै यात्रु बनेर भाडा मोलमोलाई गर्ने, यात्रुहरूसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिने व्यक्तिहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने गरेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

तोकिएको टिकट काउण्टरमा परिचय पत्रबहेकले मात्र टिकट काट्ने व्यवस्था भए पनि अनाधिकृत व्यक्तिले बिचौलिया बनेर यात्रुसँग मोलमोलाई गरी तोकिएभन्दा बढी भाडा लिँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको एसएसपी भट्टराईले जानकारी दिए ।

विभिन्न टिकट काउण्टरमा आबद्ध भई विना परिचय पत्र बसपार्क आसपास यात्रुलाई टिकट काटिदिन्छु भनी मोलमोलाई गर्ने भरतपुर चितवनका ३८ वर्षका समिर श्रेष्ठ, धनकुटाका ३० वर्षीय किरण लिम्बु र सुनसारीका २८ वर्षे सविन राई पक्राउ परेका हुन् । त्यस्तै, टिकट काउण्टरको कर्मचारी हुँ भन्दै भाडा बार्गेनिङ्ग गर्ने काठमाडौँ बस्ने वर्ष ४६ का राज ठकुरी, दाङ घोराहीका २९ वर्षे विशाल गुरुङ्ग र कैलालीका २९ वर्षे रमेश कठायत गंगबुबाट पक्राउ परेका हुन् ।

उनीहरूलाई अवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको महाशाखाले जनाएको छ । त्यसैगरी काठमाडौँको कलंकीबाट वर्ष ३९ को नवीन केसी र बल्खुबाट शुभयात्री काउण्टरमा काम गर्ने निजगढका अरुण मगर र जाजरकोट घर भई कीर्तिपुर बस्ने नारायणी काउण्टरका वर्ष ३७ को विनोद रानालाई समेत पक्राउ गरी कारबाहीको लागि प्रहरी बृत्त कालीमाटीमा बुझाएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया