शनिबार, जेठ ३, २०८२

दशैँमा पनि खुसी छैनन् सञ्जिता !

जुली गिरी २०७८ असोज २३ गते ८:१४

‘चरी ररी ररी रै…
चरी ररी ररी रै
चरी ररी ररी ररी रै’

यो गीत सुन्दा तपाईलाई दशैँ आएको जस्तो लाग्दैन ? मलाई त दशैँ आँगनमै आइपुगेको जस्तो लाग्छ । सानैदेखि यही गीत सुनेर हुर्केको भएर होला सायद । यो गीत सुन्नासाथ दशैँ आएको जस्तै लाग्छ ।

ह्या कति पुराना दिनहरू सम्झनु है ? साच्चै अहिले पनि दशैँको माहोल पो चल्दै छ क्यारे । त्यसको माहोल हेर्न बजार जानै पर्छ भन्ने पनि त छैन नि हैन र ? आफ्नै घरअगाडि फूलेका फूलहरू, बिहानीकाे माैसम हेरे पनि भयो नि हैन । तपाईलाई दशैँ आएको जस्तो अनुभूति कतिबेला हुन्छ ? तर, मलाई त बजार डुलेपछि ।

ल सुन्नुस् है त, आज म बल्खुको खजी बजारमा दशैँ आएको छ रे भनेर फोटो खिच्न पुगेँ । त्यहाँ दशैँ मज्जाले आएको देखियो । मान्छेको भिडभाड अनि खसी र खसी किन्ने मान्छेको भिड देखेर दशैँ त कोरोनाभन्दा बलियो पो रहेछ भन्ने ठानेँ । तर, खैर नेपालीको महान पर्व न पर्यो कोरोनाको कसलाई डर हैन ?

खसी बेच्नेहरू र किन्नेहरूको चहलपहल मोलमलाईले मेरो आँखा थाकिसकेका थिए । तर, त्यहीबीचमा मेरो छेउमा एउटी बच्ची देखिइन् । जसले मेरो आँखा मात्रै होइन् पूरै मनलाई अडिक बनाइदिइन् । अन्दाजी ७ वर्षीय बालिका खसी सुम्सुम्याई रहेकी थिइन् । उनलाई देखेर मेरो मन अत्तालियो । अनि, उनकै छेउमा पुगेर कुरा गर्ने जमर्को गरेँ ।

घाँटीमा क्यामेरा बोकेको मलाई देखेर उनी थोरै हच्किइन् । तैपनि आफूलाई नरम बनाएर म उनीतिर लम्किएँ ।

र, सुटुक्क उनलाई बोलाएँ, नानु । हजुरको नाम के हो ?

मेरो प्रश्नप्रति सम्मान गर्दै उनले जवाफ दिइन्- सञ्जिता बस्नेत ।

कतिमा पढ्छौँ ? उनको ध्यान खसीतिर भएर होला मेरो प्रश्न यसै बिलायो ।

उनी मौन थिइन् । तर, शब्दमा बयान गर्न नसकिने बोलिरहेकी थिइन् ।

खसीप्रति उनको मायालाई देखेर मैले फेरि सोधेँ, ‘किन यसरी खसीलाई अँगालो हालेर बसेको ?’

मेरो प्रश्नको जवाफ दिँदै भनिन्, ‘माया लाग्छ, बिचराहरू अब काटिन्छन् होला है ? मारिन्छन् होला है ? अब बेचिन्छन् होला है ?’

उनको यो प्रश्नले म एकोहोरिएर केही बोल्न सकिनँ ।

उनको जवाफसँगै खल्लो भएको मेरो मनले उनलाई धेरै प्रश्न गर्न सकेन । तर, उनले पशुप्रति देखाएको माया र स्नेहलाई क्यामेरामा कैद भने गरिरहेँ ।

अफिसमा आएँ । उनको कुरा मनमा गुञ्जिरह्यो । र, आफैले सोचेँ । मानिसहरू कति निर्दयी है ? अर्काको ज्यान लिएर खुसीयाली मनाउनु पर्ने ?

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया