जो दसैँमा माटो बेचेर खर्च जोहो गर्छन…

काठमाडौँ । दसैँको छेकोमा किनमेलले बजार तातेका बेला बागलुङ नगरपालिका ३ मा भने भिन्न दृश्य देखियो । साँझ छिप्पिनै आँटेको थियो । महिला कोही रातो माटो खन्दै थिए, कोही थैलामा भर्दै ।
नवरात्रको पहिलो दिन रातो माटो बेच्न उनीहरुले दिनभर सडक कुरे । मध्यपहाडी लोकमार्ग भएर आउजाउ गर्ने सवारीका चालक र यात्रुलाई माटो बेचे ।
बागलुङ बजार कटेपछि रातामाटा, मुलपानी, खहरेदेखि अछेतेसम्मै सडक छेउछाउ रातो माटो देखिन्छ । बर्सेनि दसैँमा त्यस आसपासका महिला रातो माटो बेच्न तम्सिन्छन् । लोकमार्ग किनारमा खसेका पहिरा र ढिस्काबाट रातो माटो झिक्छन् ।
पहिराबाट माटो झिकेर माटो बेचेको पूजा विश्वकर्माले सुनाइन् । “पहिराको माटो मात्र बेच्न पाइन्छ, अन्त खन्न मिल्दैन”, उनले भनिन् । उनीसहित तीन महिलाले विगत ६ दिनदेखि रातो माटो बेच्दै आएका छन् । चामलको थैला बराबरको माटो २ सय रुपैयाँमा बेच्ने गरिएको उनले बताइन् । दैनिक एक हजार ५ सयदेखि दुई हजारसम्म माटो बेच्ने गरेको उनले बताइन् ।
रातो माटो बेचेर दसैँ खर्च जोहो गर्ने गरिएको सोही ठाउँकी अविसा सुनारले बताएकी छन् । “यहाँबाट नजिकका गाउँदेखि गलकोट, बुर्तिबाङसम्म रातो माटो जान्छ”, उनले भनिन्, “गाडीका चालकले माटो बनाएर राख्दिनुस्, हामी लान्छौँ भनेपछि खनेर बेच्न थालेका हौँ, ढुङ्गा चालेर बोरामा भरेर दिन्छौँ ।”
त्यस क्षेत्रका कैयन महिला रातो माटो बेचेर दसैँमा मिठामसिनो र लुगाफाटा किन्छन् । सुनारले आफ्ना आमा दिदीहरुले पनि माटो बेच्ने गरेको बताए ।
रातो माटो पाइने भएपछि टाढाका गाउँलेले सवारी चालकलाई किनेर ल्याइदिन भन्छन् । कतिपय यात्रु आफैँले पनि माटो किनेर लान्छन् । चाडपर्वमा घर पोत्न रातो माटोको प्रयोग हुन्छ । पहिलेपहिले झैँ कमेरो र राता माटोले घर रङ्गाउने चलन भने घट्दै गएको छ ।
पक्की घर बन्न थालेपछि लिपपोतमा माटोको प्रयोग कम भएको हो । गाउँमा रहेका पुरानै शैलीका घरमा पनि अहिले सिमेन्ट र रङ लगाउन थालिएको छ । आधुनिक विकासले परम्परालाई ओझेलमा पारिदिएको छ ।
रातमाटा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष वैकुण्ठप्रसाद सापकोटाले रातो माटो पाइने भएकाले ठाउँको नामै रातमाटा राखिएको बताए । “यहाँका छोरीचेलीले घर जाँदा रातो माटो लिएर जाने चलन थियो”, अध्यक्ष सापकोटाले भने, “पहिले किनेबेच हुँदैनथ्यो, अहिले कहीँकतै त्यस्तो छ ।”
पहिराको जोखिम हुने भएकाले वन क्षेत्रमा भने माटो खन्न प्रतिबन्ध लगाइएको छ । खतरा नभएका सीमित ठाउँलाई गाउँलेले माटो खन्नका लागि तोक्ने गरेका छन् । बढीजसो पहिरा खसेर थुप्रिएका ठाउँबाट रातो माटो निकाल्ने गरिएको छ ।
















इरानी जहाजमा अमेरिकी आक्रमण, ६ जना घाइते ६ वेपत्ता
चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने
अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ
रसुवा भन्सारमा सामान जाँचपास सुरु
गगनलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रश्न– देउवालाई टिकट नदिनुको कारण के ?
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया