मंगलबार, फागुन ६, २०८१

जनताको पक्षमा काम गर्न नवनियुक्त मन्त्रीलाई माधव नेपालको निर्देशन

मेरोन्यूज २०७८ असोज २४ गते १५:४९

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट नियुक्त मन्त्रीलाई इमान्दारी र कर्तव्यका साथ काम गर्न निर्देशन दिएका छन् । पार्टीबाट नियुक्त मन्त्रीलाई आइतबार पार्टी केन्द्रीय कार्यालमा बोलाएर नेता नेपालले इमान्दारी र कर्तव्य निष्ठ भएर काम हुने विश्वास लिएको बताए ।

Advertisement
IMEnabil

उनले राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दूमा राखेर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका हुन् । उनले निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरुबाट मुक्त हुनसमेत सचेत गराएका थिए । कुनै पनि संस्थामा व्यक्तिको छनौट गर्दा व्यक्तिको योग्यता, क्षमता र कार्य सम्पादनमा गरेको उत्कृष्टताको आधारमा गर्न पनि उनले मन्त्रीहरूलाई सुझाव दिएका थिए ।

‘तपाईहरुले इमान्दारिताका साथ, कर्तव्य निष्ठताका साथ आफ्नो काम सम्पादन गर्नु हुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ, काम गर्दा राष्ट्रको हित र जुन संस्थाको जिम्मवारी तपाईहरुले सम्हाल्नु भएको छ, त्यो संस्थाको हितलाई केन्द्र बिन्दूमा राखेर काम गर्नु हुनेछ,’ उनले भने, ‘यस अर्थमा राष्ट्रको हित, जनताको हित र संस्थाको हितलाई तपाईहरुले केन्द्रबिन्दूमा राखेर काम गर्नु पर्ने हुन्छ, काम गर्दा नीजि स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरुबाट मुक्त हुनु पर्छ ।’

अध्यक्ष नेपालले मन्त्रीहरुबाट विवादमा आउने र बदनामी कमाउने कुनै काम हुनु नहुनेमा जोड दिए । पदीय मर्यादा र गरिमाविपरीत काम नगर्न उनले निर्देशन दिए । कुनै प्रकारका दुव्र्यसन र आचरणसँग जोडिने काम नगर्न उनले निर्देशन दिए ।

उनले गठबन्धनको भावनाअनुसार अन्य राजनीतिक दलसँग समन्वयमा काम गर्न अनुरोध गरे । मन्त्रीहरुको सल्लाहकार पिएलगायतका राजनीतिक नियुक्ति गर्दा पार्टीसँग सल्लाह गरेर मात्रै गर्नु पर्ने उनको भनाई छ ।

अध्यक्ष नेपालले मन्त्रिपरिषद् बैठकमा आउने विभिन्न विषय वस्तुमाथि अगाडि नै सामूहिक रुपमा बसेर, छलफल गरेर साझा राय बनाएर मात्रै प्रस्तुत हुनु पर्ने बताए । सिंगो मन्त्रिपरिषद्ले गर्ने निर्णयको जस अपजसको भागिदार सबै मन्त्री हुने उल्लेख गर्दै उनले मन्त्रिपरिषद्का विषयवस्तुहरु पार्टीलाई समेत जानकारी गराई पार्टीको मार्गदर्शन लिएर प्रस्तुत हुनु पर्ने बताए ।

प्रतिक्रिया