मंगलबार, फागुन १९, २०८२

व्यावसायिक च्याउखेतीमा रमाउँदै अर्याल

मेरोन्यूज २०७८ असोज ३१ गते ११:२३

काठमाडौं । च्याउ बिक्रीबाट वालिङ – २ धौखोलाका हरि अर्यालले राम्रो आम्दानी गर्न सफल भएका छन् । झण्डै नौ वर्ष खाडीका मुलुकहरुमा पसिना बगाउनुभएका अर्यालले स्वदेश फर्किएसँगै ‘भौभका कृषि फार्म’ मार्फत व्यावसायिकरुपमा च्याउ खेती गरी राम्रो आम्दानी गर्न सफल भएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

विगत तीन वर्षदेखि व्यावसायिकरुपमा च्याउ खेती थालेका अर्यालले वार्षिकरुपमा मनग्य आम्दानी गर्दै आएका छन् । यूट्यूबमा देखेकै भरमा च्याउ खेतीप्रति आकर्षित हुनुभएकाले अर्यालले पहिलो वर्ष २५० मुढा सीताके च्याउ र २५० पोका कन्य जातको च्याउ खेतीबाट व्यवसाय थालेका थिए । च्याउको संभावना र माग राम्रो देखेपछि दोस्रो वर्षमा दुई हजार मुढामा सीताके च्याउ र पाँच सय वटा पोका कन्य जातको च्याउ लगाएको उनले बताए।

“छ जनाको परिवारको अहिलेको मुख्य आम्दानीको स्रोत भनेकै च्याउ खेती हो”, उनले भने, “हाल दुई ठाउँमा रहेको फर्ममा झण्डै दश हजार मुढामा सीताके च्याउ छ ।”

व्यावसायिक च्याउ खेतीको विकास र विस्तारका लागि आवश्यक मेसिन, उपकरण खरिद, च्याउ घर निर्माण, मुढा खरिद गर्दा झण्डै ९० लाख लगानी भएको उहाँ बताउछन् ।

अर्यालले हालसम्म च्याउ बिक्रीबाट ४० लाख आम्दानी गर्नुभएको बताए । शुरुका वर्षहरुमा लगानी धेरै भएपनि अब केही वर्ष लगानी नगरी आम्दानी लिन सकिने अर्यालको भनाइ थियो । शुरुका २÷३ वर्ष निक्कै संघर्ष गर्नुपरेपनि पछि सहज भएको छ । उनले सीताके च्याउ प्रतिकेजी रु। ५०० र कन्य च्याउ प्रतिकेजी रु। २५० मा बिक्री गर्दै आएका छन् । “उत्पादन गर्न झ्याउ मान्न भएन, उत्पादन जति गरेपनि बजारको कुनै समस्या छैन”, उनले भने, “यहाँ उत्पादन भएको च्याउ काठमाडौं, पोखरासहितका स्थानीय बजारहरुमा खपत हुँदै आएको छ ।”

मुढाको आकार अनुसार न्यूनतम २÷३ केजीदेखि अधिकतम ७÷८ केजी एक पटकमा उत्पादन लिन सकिने छ । एकपटक तयार पारेको मुढाबाट ५÷६ वर्ष उत्पादन लिन सकिन्छ । हाल उहाँको फार्ममा बाह्रैमास उत्पादन दिने उन्नत जातको च्याउ रहेको छ । अर्यालले थाल्नुभएको च्याउ खेतीलाई थप व्यावसायिक बनाउनका लागि वालिङस्थित कृषि विकास स्रोत केन्द्रमार्फत आवश्यक तालीम तथा प्रविधिहरु हस्तान्तरण गरिएको कृषि विकास स्रोतकेन्द्रका बाली विकास अधिकृत सुदीप रेग्मीले बताए ।

प्रतिक्रिया