एमाले पूर्व सांसद तामाङविरुद्ध एक हजार ६१ जनाको उजुरी

काठमाडौँ । सिभिल समूहका तत्कालिन अध्यक्ष इच्छाराज तामाङ र हालका अध्यक्ष केशवलाल श्रेष्ठसहित १२ जनाविरुद्ध एक हजार ६१ जनाले जाहेरी दिएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का अनुसार तामाङसहित सहकारीका उच्च अधिकारीविरुद्ध उक्त उजुरी परेको हो ।
सहकारीको अर्बौ रकम हिनामिना गरेको अभियोगमा पक्राउ परेका तामाङसहित सहकारी सञ्चालकविरुद्ध मंगलबारसम्म बिगो रकम ४ अर्ब ४५ करोड ३२ लाख ३४ हजार रुपैयाँ पुगेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जनाएको छ । तामाङसहित सहकारीका उच्च अधिकारीविरुद्ध मंगलबार मात्रै ४४ जनाले जाहेरी दिएका छन् । मंगलबार नै २० करोड रुपैयाँको बिगो थपिएको हो ।
अध्यक्ष तामाङमाथि सहकारीको ८ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । उक्त रकम उनले सिभिल होम्समार्फत घर जग्गामा लगानी गरेर व्यक्तिगत सम्पत्ति आर्जन गरी विदेशमा लुकाएको आरोप छ । उनीविरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।
सिभिल सहकारीका तत्कालीन अध्यक्ष तामाङ र हालका अध्यक्ष केशवलाल श्रेष्ठसहित २८ जनाविरुद्ध सहकारीका निक्षेपकर्ताहरुले ठगीको उजुरी दिएका थिए । सिआइबीले गत असोज १८ गते तामाङसहित १२ जनालाई सुन्धाराबाट पक्राउ गरेको थियो ।
प्रतिक्रिया