१० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भोलि अर्थात् कात्तिक ४ गते रु १० अर्ब बराबरको सात दिन अवधिको रिपो जारी गर्ने भएको छ । केही समय अघिदेखि बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनमा समस्या देखिँदा राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गर्न लागेको हो ।
राष्ट्र बैंकले बुधबार जारी गरेको सूचनाअनुसार बैंकले आगामी कात्तिक ११ गते परिपक्व हुने रु १० अर्ब बराबरको रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका बैंक वित्तीय संस्थाले भाग लिन पाउने छन् ।
बजारमा तरलताको अभावले बैंक तथा वित्तीय संस्थाले निक्षेप सङ्कलन गर्न ब्याजदर बढाउन थालेका छन् । निक्षेप बढाउन र आफ्नो निक्षेप बाहिर जान नदिन बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको सुरुआतमै दुई अङ्कको ब्याजदर कायम गरेका थिए ।
त्यसरी बैंक तथा वित्तीय संस्थाले आफूखुसी ब्याजदर असाधारणरूपमा बढाएको भन्दै ब्याजदर व्यवस्थित गर्न राष्ट्र बैंकले मङ्गलबार तीन बुँदे निर्देशन जारी गरेको थियो ।
बैंकिङ प्रणालीमा तरलता असहज हुँदा राष्ट्र बैंकले लगातार रिपोमार्फत प्रणालीमा तरलता प्रवाह गर्दै आएको छ । गत असोज २० गते बैंकले रु २० अर्ब बराबरको १४ दिन अवधिको रिपो जारी गरेको थियो ।
तरलता अभाव समस्याको व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, अस्थायी तरलता सुविधाजस्ता उपकरणको प्रयोग गर्ने गर्दछन् । बैंक तथा वित्तीय संस्थाले यस्ता उपकरणको निरन्तर प्रयोग गरिरहे पनि तरलता व्यवस्थापन सहज हुनसकेको छैन ।















आज लाग्दैछ दुर्लभ प्रकारको खण्डग्रास चन्द्रग्रहण
सुदूरपश्चिममा निर्वाचनको तयारी पूरा
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
प्रतिक्रिया