मंगलबार, फागुन ६, २०८१

कुमार पौडेल ‘इन्काउन्टर’ प्रकरण : के छ प्रहरीविरुद्धको जाहेरीमा ?

मेरोन्यूज २०७८ कार्तिक ५ गते ८:१४

काठमाडौँ । सर्वोच्च अदालतले आदेश दिएपछि अन्ततः कुमार पौडेल ‘इन्काउन्टर’ प्रकरणमा प्रहरीमा प्रहरीविरुद्ध नै जाहेरी परेको छ । जसमा तत्कालीन प्रदेश प्रहरी प्रमुखदेखि गोली चलाउने प्रहरीमाथि हत्या अभियोगमा कारबाहीको माग गरिएको छ ।

Advertisement
IMEnabil

सर्वोच्चले आदेश दिएको एक सातापछि अर्थात् २० असोजमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता भएको छ । जिल्ला न्यायाधिवक्ता ऋद्धिनाथ निरौलाको रोहवरमा जाहेरी दर्ता भएको हो । सरकारी वकिलको कार्यालयले प्रहरीले अब अनुसन्धान गर्ने र त्यसको प्रतिवेदन आफूहरुलाई बुझाएपछि अदालती प्रक्रिया सुरु हुने जनाएको छ ।

नेत्रविक्रम चन्द विप्लव पार्टीका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको दुई वर्ष अघि ‘प्रहरी मुठभेड’मा मृत्यु भएको थियो । ५ असार २०७६ को यस घटनामा मृतक पौडेलका परिवारजनले भने प्रहरीले नियन्त्रणमा लिइहत्या गरेको आरोप लगाउँदै आएको छ ।

यस घटनामा प्रहरीले जाहेरीसमेत लिन नमानेपछि उनको परिवार सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन पुगेको थियो । उनकी आमा दुर्गादेवी पौडेलले दिएको रिट १२ असोजमा जारी भएको थियो ।

न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरि प्रसाद फूयाँलको इजलासले आदेश पाएको एक साताभित्र जाहेरी लिन जिल्ला प्रहरी कार्यालयलाई १२ असोजमा आदेश दिएको थियो ।

रिटमा सर्लाहीको प्रहरी कार्यालय, सरकारी वकिलको कार्यालय समेतलाई विपक्षी बनाइएको थियो । १२ मंसिर २०७६ मा दायर रिटमाथि १५ मंसिरमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको इजलासले विपक्षीहरुसँग लिखित जवाफ माग गरेको थियो ।

लिखित जवाफ दिँदै प्रहरीले उजुरीको सनाखत हुन नसकेको जनाएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले पनि लिखित जवाफमा हुलाकबाट प्राप्त निवेदनमाथि के कस्तो कारवाही भएको हो खुलाउन सकेको थिएन । यी यस्ता कुरालाई आधार मान्दै सर्वोच्चले जिल्ला न्यायाधिवक्ताका अगाडि निवेदिकाको सनाखत गराइ जाहेरी दर्ताका लागि अन्तिम आदेश दिएको थियो ।

सर्वोच्चको संयुक्त इजलासबाट भएको आदेशमा थियो, ‘..यो आदेशको सूचना प्राप्त भएको मितिले ७ दिनभित्र आफू समक्ष प्राप्त भएको निवेदिकाको जाहेरी दर्खास्त जिल्ला सरकारी वकिल कार्यालय, सर्लाहीका जिल्ला न्यायाधिवक्ताको रोहवरमा निवेदिकाबाट सनाखत गराउने उपयुक्त व्यवस्था मिलाइ ऐनको अनुसूची ६ बमोजिमको भरपाइ निवेदिकालाई उपलब्ध गराइ यथाशीघ्र यस अदालतलाई जानकारी गराउनु भनी जिल्ला सरकारी वकिल कार्यालय, सर्लाहीलाई लेखी पठाइ जवाफप्राप्त भएपछि नियमानुसार इजलाससमक्ष पेस गर्नुहोला ।’ यसपछि बल्ल प्रहरीले जाहेरी दर्ता गर्न मानेको हो ।

के भएको थियो घटना ?
चन्द पार्टीका जिल्ला इञ्चार्ज कुमार पौडेल घटना भएको दिनबिहान ८ बजेतिर आफ्ना मित पूर्णबहादुर राना मगरको घर पुगे । हरिवन नगरपालिका वडा नं. १ स्थित घरमा उनी झन्डै मध्याह्न १२ बजेसम्म बसेको उजुरीमा परिवारजनले उल्लेख गरेका छन् ।

‘कुमारको बाइकमा सँगै रहेका विजय लामा र अर्को निलो पल्सर बाइकमा हरि उप्रेती गरी दुवै बाइक सँगै निस्केका रहेछन् । कुमार त्यहाँबाट हिरापुर जाने भनी निस्कनु भएकोमा बाटोमा ठाउँ–ठाउँमा प्रहरीहरु देखेपछि उनीहरुसँग छलिने कोसिस गर्दै जाँदैगर्दा हिरापुर नवलपुर बीचमा पर्ने सामुदायिक वन र अर्को साइडमा नम्बरी जग्गा आवादि भएको सो को बीच बाटोमा रहेको कटवासको झाडी भएको ठाउँमा प्रहरीहरु मध्येका प्रहरी इन्सपेक्टर कृष्णदेव शाहले हानेको गोलीबाट दाइको मृत्यु भएको देखिन्छ,’ जाहेरीमा थप छ, ‘…जंगलमा पुग्दै गर्दा पिसाव फेर्न भनी बाइक रोकेर ओर्लन लाग्दा पछाडिबाट दुई जना सादा पोशाकको प्रहरीहरु आएर कञ्चटमा पेस्तोल राखेर तँ कुमार पौडेल होस् भनी सोधे । म कुमार पौडेल होइन भनेपछि मास्क खोल् भने । दाइले मास्क खोल्नु भयो । दाइलाई उनीहरुले चिनेपछि तँ बाइकबाट झर् भनेर झारेपछि हातमाथि गर्धनमा लगाइ भुइँमा घुँडा टेकेर घोप्टो पर्न लगाएर गोलीप्रहार गरे ।’

घटना हुँदा पौडेलको बाइकमा पछाडि बसेका विजय लामा भागेको जाहेरीमा जनाइएको छ । प्रहरीले उनलाई पनि गोलीप्रहार गरिएको तर उनी बचेको उनले बताएका छन् ।

‘शरीरभरी गोलीले बनाएका घाउचोटहरु छ, तर पाइन्ट र टिसर्टमा कुनै प्रकारको गोलीले बनाएको प्वाल तथा च्यात्तिएको पनि थिएन । टाउको कञ्चटमा ठूलो घाउ थियो । शरीरमा तथा लगाएको लुगा पाइन्टमा पनि प्वाल देखिएको छैन । यसरी हेर्दा नियन्त्रणमा लिएर लुगाखोलेर गोली हानेको अवस्था देखिन्छ,’ जाहेरीमा भनिएको छ ।

प्रदेश सांसददेखि चिकित्सकमम्म विपक्षी
उजुरीमा प्रदेश सांसददेखि जिल्ला अस्पतालमा घटनाका बखत कार्यरत रहेका चिकित्सकलाई समेत विपक्षी बनाइएको छ । योजनाबद्ध तरिकाले आफ्नो छोराको हत्या भएको आमा दुर्गादेवीको आरोप छ । तत्कालीन गृहमन्त्री र प्रहरी प्रमुखलाई पनि कारवाही माग गरिएको छ ।

‘..गृहमन्त्री रामबहादुर थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल तथा मेयर भरत थापा, वसन्तराज भट्टराई, कमल बुढाथोकी र प्रदेश सांसद डिल्लीराज उप्रेतीको सल्लाह योजना तयारी बमोजिम मेरो छोरालाई हत्या गरिएको हो,’ जाहेरीमा भनिएको छ, ‘सो सम्बन्धमा यस जाहेरीमा किटान गरिएका प्रतिवादीहरुबाट समेत खुलाइ पाउँ । सोबाट खुली आएमा सोही बमोजिम नाम सहितको पुरक वा स्वतन्त्र जाहेरी दिने नै छु ।’

साथै तत्कालीन सिडिओमाथि पनि अनुसन्धानको माग गरिएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्लाका प्रहरी प्रमुख एसपी गोपाल भट्टराई, प्रदेश नं. २ का प्रमुख डिआइजी हरिबहादुर पाल, इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक किरणप्रसाद न्यौपाने र इलाका प्रहरी कार्यालय नवलपुरका सइ सूर्यकुमार कार्कीलाई कसूरदार भन्दै अनुसन्धान र कारवाही हुनुपर्ने पौडेलको परिवारले माग गरेको छ ।

यस्तै ‘प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत रही प्रहरी महानिरीक्षकबाट खटाई खटीइ गएका’प्रहरी हवल्दार सत्यनारायण मिश्र र विनोद शाहमाथि पनि अनुसन्धान र कारवाहीको माग गरिएको छ ।

‘सर्लाही, लालबन्दी नगरपालिका वडा नं. १ लखन्देही जंगल नजिक भएको घटनामा मुख्य सुटर’ प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहलाई पनि विपक्षी बनाइएको छ । सर्लाहीको बागमती नगरपालिका प्रमुख भरतकुमार थापालाई समेत कसूरदार भनिएको छ ।

जाहेरीमा त्यस बखत जिल्ला अस्पतालमा कार्यरत र पौडेलको शव परीक्षण प्रतिवेदन तयार गरेका चिकित्सकलाई पनि विपक्षी बनाइएको छ । उनले गलत प्रतिवेदन तयार गरी अपराधीलाई जोगाएको परिवारजनको आरोप छ ।

‘..जिल्ला अस्पताल सर्लाहीका डा. वीरेन्द्र कुमार मण्डलले लासको पोष्टमार्टम गर्ने काममा झुटा प्रतिवेदन तयार गर्ने, पोष्टमार्टम गर्ने कानूनी मापदण्ड पुरा नगरी अपराधीलाई जोगाउने उद्देश्यले काम गरेकाले उनलाई समेत प्रतिवादी बनाएको छु,’ जाहेरीमा छ ।

यस्तो छ मानवअधिकार आयोगको प्रतिवेदन
राष्ट्रिय मानवअधिकार आयोगको अनुसन्धानले पनि परिवारकै आरोपलाई पुष्टि गरेको छ । पौडेलको इन्काउन्टर नभइ हत्या भएको र यसमा प्रत्यक्ष संलग्न प्रहरीविरुद्ध कर्तव्य ज्यान मुद्दा तथा आदेश दिनेलाई समेत विभागीय कारबाही हुनुपर्ने आयोगको प्रतिवेदनले सिफारिस गरेको छ ।

गोली प्रहारमा संलग्न प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साह र हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रलाई निलम्बन गरी फौजदारी मुद्दा चलाउन आयोगले सिफारिस गरेको थियो । यद्यपि दुई वर्षअघिको प्रतिवेदन कार्यान्वयन भने भएको छैन ।

आयोगले ४ कात्तिक २०७६ मा प्रतिवेदन बुझाएको हो । स्थलगत छानबिन र सम्बन्धित व्यक्तिहरूसँगको बयानपछि आयोगले प्रतिवेदन तयार गरेको थियो ।

यो घटना दोहोरो मुठभेड नभइ हत्या भएको आयोगको निष्कर्ष थियो । घटनाका बखत प्रहरीले आत्मरक्षाका लागि गोली चलाउनुपर्ने स्थिति नरहे पनि प्रहरीले पौडेललाई नियन्त्रणमा लिई नौ वटा गोलीप्रहार गरेको आयोगको प्रतिवेदमा उल्लेख छ ।

तत्कालिन महानिरीक्षक सर्वेन्द्र खनालले बिशेष टोलीका रुपमा पठाएका प्रहरीले पौडेललाई गोली हानेका थिए । पछिमात्र स्थानीय प्रहरीलाई त्यसबारे जानकारी दिइएको थियो ।

प्रतिक्रिया