कुख्यात अपहरणकारी बूढाथोकीको प्रमाण जुटाउन प्रहरीको कमजोरी

काठमाडौँ । कुख्यात अपहरणकारी दुर्गाबहादुर बूढाथोकीलाई प्रयाप्त प्रमाण नभएको भन्दै अदालतले छाडेपछि प्रमाण जुटाउने प्रहरीको कमजोरी ठहरिएको छ । प्रहरीकै छानबिन समितिले अनुसन्धानमा संलग्न प्रहरीले नै आवश्यक प्रमाण नजुटाएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौँमा रहेका मुद्धा शाखाका प्रहरीको कमजोरी ठहर गरेको हो ।
‘प्रहरीकै कमजोरीले बूढाथोकी छुटेका हुन्, प्रहरीको कमजोरीलाई टेकेर अदालतले उनलाई घर पठायो’, छानबिन समितिका एक सदस्यले भने । अदालतबाट बूढाथोकी छुटेपछि प्रहरीले एसएसपी चक्रबहादुर सिंहको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । सो समितिले अनुसन्धान र अभियोजन प्रणालीलाई त्रुटिरहित बनाउन महानगरीय प्रहरी परिसरमा मुद्दा हेर्ने गरी प्रहरी उपरीक्षक९एसपी० राख्नुपर्ने सुझाव दिएको छ । काठमाडौँमा अत्याधिक जाहेरी आउने र चापका कारण कतिपय अवस्थामा लापरबाही हुने भएकाले मुद्दाको अनुसन्धान र निरीक्षणमा खटाउने गरी एसपी खटाउनुपर्ने सुझाब एसएसपी सिंह नेतृत्वको छानबिन समितिले दिएको हो ।
बूढाथोकी एक पेसेवर अपहरणकारी समूहका सदस्य भएपनि उनी अदालतबाट सहजै छुटेका थिए । सो कमजोरी बुझ्न महानगरीय प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको थियो । समितिले गत हप्ता नै आफ्नो प्रतिवेदन बुझाउँदै दोषी प्रहरीलाई कारबाही गर्न र अनुसन्धान प्रणालीमा सुधार गर्न सिफारिस गरेको छ ।
प्रहरी बयानमुखी अनुसन्धानमा केन्द्रित हुँदा सो घट्नाको अनुसन्धानमा कमजोरी भएको छानबिन समितिको निष्कर्ष छ । ‘पक्राउ परेका अभियुक्तले प्रहरीसँगको बयानमा सबै कुरा स्विकारेको देखिन्छ,’ छानबिन समितिका एक अधिकारीले भने, ‘त्यसपछि प्रहरी थप प्रमाण खोज्न लागेन, त्यसैको फाइदा उठाई अभियुक्त छुटेको देखिन्छ ।’ पछि अभियुक्त बुढाथोकीले अदालतमा गएर आफू भारतीय नागरिक भएको र सो घटनामा संलग्न नभएको भनेर बयान फेरेर उनी छुटेका हुन् । अदालतले पनि आरोपी व्यक्तिको नागरिकतालगायत प्रमाण पेस हुन नसकेको भन्दै छाडेको थियो ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश अम्बिकाप्रसाद निरौलाले अपहरणका आरोपी बुढोथोकीलाई सफाइ दिएका थिए । व्यवसायी बाबुराजा रावलको अपहरणमा संलग्न रहेको अभियोगमा प्रहरीले बुढाथोकीलाई गत वर्ष १५ पुसमा पक्राउ गरी मुद्दा दायर गरेकोमा गत ५ असोजमा न्यायाधीश निरौलाले उनी दुर्गा बुढाथोकी नै हुन् भन्ने पर्याप्त प्रमाण नभएको भन्दै सफाइ दिएपछि प्रहरीमा हल्लीखल्ली नै भएको थियो । त्यसपछि जुन फैसला मात्र होइन मुद्दाको अनुसन्धानमा भएको कमजोरीबारे पनि प्रश्न उठेको थियो ।
घटनाको अनुसन्धान अधिकृत नानीकाजी थापा, एक असइ र हवल्दारलाई विभागीय कारबाही गर्न सिफारिस भएको छ । मुद्दामा लापरबाही हुनुको कारण मुद्दाको चाप धेरै रहेको र त्यसमा माथिल्लो निकायबाट अनुगमन र निरीक्षण नहुने गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ । एसएसपीको नेतृत्व रहने काठमाडौँ परिसरमा एसपीको एक दरबन्दी छ । जो बढी अप्रेसनमा खटिने गर्दछन् । परिसर र मातहतका वृत्तको मुद्दाको अनुगमन,निरीक्षण र निर्देशन दिने काममा मात्र खटिने गरी अर्का एक एसपी राख्न सुझाब दिइएको समिति स्रोतले जनाएको छ ।
अभियुक्त नेपालकै नागरिक हो भनेर प्रमाण पेस नभएकाले पुष्टि हुन नसक्ने उल्लेख गर्दै उनले उन्मूक्ति पाएका थिए । प्रहरीले बुढाथोकी सर्लाहीको बागमती नगरपालिका– २ का बासिन्दा भएको दाबी गरेको थियो, तर त्यसलाई प्रमाणित गराउने नागरिकता तथा कागजपत्र पेस गरेको थिएन । प्रहरी अनुसन्धानको यही कमजोरीमा टेकेर उनलाई अदालतले सफाइ दिएको हो । ‘शरीर बन्धक तथा अपहरण गर्नेजस्तो अभियोगमा अभियुक्तको स्पष्ट पहिचान मिसिलमा पेस गर्न नसक्दा यी प्रतिवादीको हकमा पुष्टि हुन नसक्ने ठहर हुन्छ,’ फैसलामा उल्लेख थियो ।
प्रहरीले नागरिकता पेस गर्न नसकेको कमजोरीलाई स्विकारेर छानबिन समिति बनाएको थियो । तर, सो घटनाका अभियुक्त उनी नै भएको पर्याप्त प्रमाण भएको दाबी गरेको छ । कतिसम्म भने अपहरणका पीडितले समेत आफूलाई अपहरणमा उनी संलग्न रहेको भनेर किटानी सनाखत गरेका थिए । चौकीदारी गरिराख्ने, स्लिपिङ ट्याब्लेट खुवाउने, बुबालाई फोन गर्न लगाउने, खाना दिने, धम्की दिने, शौचालय ल्याउने र लैजाने व्यक्ति उनी नै भएको भनेर सनाखत गरिदिएका थिए । तर, न्यायाधीशले पीडितलाई बकपत्रका लागि बोलाउँदै नबोलाई प्रहरीले प्रमाण नपुर्याएको भन्दै छाडेका थिए ।
प्रतिक्रिया