कांग्रेसको चाहना : सत्तामा गठबन्धन गर्ने तर, चुनाव एक्लै भिड्ने

काठमाडौँ । नेकपा एमालेविरुद्ध गठबन्धन गरी सत्ता सम्हालेको पाँच दलले आगामी चुनाव लक्षित गरी गठबन्धनका विषयमा भित्री छलफल शुरु गरेका छन् । नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले कम्तिमा स्थानीय, प्रदेश र संघीयको चुनावसम्म गठबन्धनलाई जोगाएर लैजानु पर्ने धारणा सार्वजनिक रुपमै व्यक्त गरिरहेको बेला सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले भने मुख खोलिसकेको छैन ।
कम्युनिष्टहरू टुक्रा-टुक्रा भई विभाजित भएको र एमाले अध्यक्ष केपी शर्मा ओलीको दुई-दुई पटक संसद विघटन गरी असंवैधानिक कदमको भण्डाफोर गरेर कांग्रेस एक्लै चुनावमा अन्य पार्टीसँग प्रतिस्पर्धा गर्नु पर्ने मत कांग्रेसमा बलियो छ । तर, सत्ता सहयात्री दलले कांग्रेसलाई एक्लैभन्दा चुनावी गठबन्धन बनाएर अगाडि जानु पर्नेमा दबाब सिर्जना गरिरहेको छ । यता कांग्रेसले आफ्नो ठोस धारणा सार्वजनिक गरेको छैन ।
कांग्रेसले पार्टीको महाधिवेशन मुखैमा रहेकाले पनि यस विषयमा कुनै औपचारिक धारणा तय नगरिसकेको हो । उसलाई भित्रभित्रै गठबन्धन दलले चुनावमा गठबन्धन गरेर जान बल गरिरहेको छ । अर्काेतिर पार्टीका नेता कार्यकर्ताले भने कांग्रेसलाई एक्लै चुनावमा भिड्न सुझाइरहेको छ । ‘हामी चुनावमा एक्लै भिड्छौँ, हाम्रो पार्टीको जनमत र शुभेच्छुकहरूको आग्रह पनि कांग्रेसलाई त्यही छ,’ कांग्रेसका एक केन्द्रीय नेताले भने ।
एमाले अध्यक्ष ओली नेतृत्वको सरकारदेखि प्रदेशमा एमाले नेतृत्वमा रहेका सरकार ढाल्नेसम्मका काममा गठबन्धन दलहरू सक्रिय भएकाे छ । सोही आधारमा प्रदेश १ मा बाहेक अन्यत्र सबै प्रदेशमा एमाले विपक्षीमा खुम्चिएको छ । गठबन्धन दलको सरकार निर्माण भएको छ । प्रदेश १ मा पनि सम्भवत भोलि नभए पनि केही दिनभित्रै एमाले सचिव भीम आचार्य नेतृत्वको सरकार गठबन्धन दलले ढाल्दै छन् ।
यी सबै दृश्य हेर्दा सत्तारुढ दलको यो गठबन्धन कमजोर छैन भन्ने देखिदै छ । यसलाई आगामी चुनावसम्म जोगाउन माओवादी र एकीकृत समाजवादीले जोडबल गरिरहेका छन् । तर, कांग्रेसलाई आफ्नै पार्टीभित्रको दबाबका कारण गठबन्धन दलको सोचअनुसारको निर्णय लिन कठिन भइरहेको छ ।
कांग्रेसको चाहना गठबन्धन गर्ने चुनाब एक्लै लड्ने
कांग्रेसले अहिले चुनावी तालमेलको विषयमा खासै नबोले पनि अधिकाशं कांग्रेस नेताहरु पार्टी निर्वाचनमा एक्लै लड्नु पर्ने बताउँछन् । कांग्रेस आफ्नो माधिवेशनको किचलोमै व्यस्त रहेको करिब दुई वर्ष बित्यो । अहिले कांग्रेस महाधिवेशन गर्ने अन्तिम तयारीमा जुटेको छ ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा निकट एक नेताले अहिलेको अन्तिम वा पुसको पहिलो सातासम्म पार्टीको महाधिवेशन गरेर कांग्रेस चुनावमा होमिँदा कांग्रेसलाई फाइदा पुग्ने बताए । उनले अबको चुनावमा कांग्रेसले कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने रणनीतिमा कांग्रेस रहेको पनि बताए ।
सभापति देउवा पार्टीको महाधिवेशनअघि चुनावमा कसरी जाने भन्ने विषयमा बोल्ने पक्षमा देखिदैनन् । कांग्रेस नेता डा. प्रकाशरण महतले गत कात्तिक ३ गते चितवन विमानस्थलमा पत्रकारसँगको कुराकानीमा कांग्रेसले चुनावमा अन्य दलसँग तालमेल नगरी एक्लै लड्ने बताएका थिए । कांग्रेसका युवा नेता गगन थापाले कांग्रेसले कसैसँग मिलेर नभई एक्लै लडेर अबको चुनाव जित्ने बताए । उनले भने, ‘सबै दल मिलेर आए पनि कांग्रेस एक्लै चुनाव लड्छ, एक्लै बहुमत ल्याउँछ ।’
करिब दुई साताअघि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि कांग्रेसले वामपन्थीहरूसँग मिलेर निर्वाचन नलड्ने आशय व्यक्त गरेका थिए । यद्यपि, निर्वाचनसम्मै गठबन्धन मात्रै कायम राख्ने या केही स्थानमा चुनावी तालमेल गर्ने भन्ने विषयमा कांग्रेसमै मतभेद छ । अहिलेसम्म पार्टीमा भने कसरी चुनावमा जाने भन्ने विषयमा छलफल नभएको कांग्रेस नेताहरु नै बताउँछन् ।
कांग्रेसको चाहना भनेकै अहिले गठबन्धनमा रहेका दलहरूबीचको सत्ता गठबन्धन टिकाइराख्ने र चुनावमा भने एक्लै अन्य पार्टीसँग प्रतिस्पर्धा गर्ने भन्ने हो । कम्युनिष्ट विभाजन र अलोकप्रिय भएको फाइदा जुटाउन पनि उसले चुनावमा एक्लै भिडने रणनीति बनाएको हो ।
तीन दलको वडा तहसम्मै गठबन्धन
माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले स्थानीय तह, प्रदेश र संघीय संसदको चुनाव एकैपटक गर्नु पर्ने आवाज उठाएका छन् । राज्यको आर्थिक व्ययभार कम हुने र एकै चरणमा चुनाव गराउँदा सबै स्रोत साधान पनि कम खर्चिलो हुने भन्दै माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाले गठबन्धन दलभित्रै आवाज उठाइरहेको छ । यद्यपि, कांग्रेसले भने त्यसमा सहमति जनाइसकेको छैन ।
सत्ता गठबन्धनभित्र एमालेविरुद्ध एकचरण चुनावमा सबै मिलेर जानुपर्ने र त्यसबाट एमालेलाई पराजित गरेर निरंकुशता, स्वेच्छाचारिता र अहंकारका विरुद्ध गठबन्धन बनाएर जानु पर्ने मत माओवादी, नेकपा एस र जसपाले राख्दै आएका छन् । तर, कांग्रेसले कम्युनिष्टहरुबीचको विग्रहबाट फाइदा लिन पनि एक्लै चुनावमा जाने रणनीति बनाएको देखिन्छ ।
कांग्रेस चुनावी गठबन्धनमा आउन नचाहे आफूहरु तीन पार्टीको भने वडादेखि संघीय संसदसम्मै चुनावी गठबन्धन बनाउने तयारीमा माओवादी केन्द्र, नेकपा एस र जसपा जुटेका छन् । केही समयअगाडि एक टेलिभिजन अन्तर्वार्तामा नेकपा एसका सचिव तथा शहरी विकास मन्त्री रामकुमारी झाक्रीले स्थानीय तहदेखि संघसम्मको चुनावमै तीन पार्टीको बीचमा भने गठबन्धन हुने बताएकी थिइन् । वडाको सदस्यसम्मै भागबन्डा लगाएर जाने गरी तीन दलका बीचमा छलफल भइरहेको त्यसबेला झाँकीको भनाई थियो ।
माओवादी र जसपाले भने सकभर कांग्रेसलाई पनि चुनावी गठबन्धनभित्रै तान्ने, त्यसो गर्न सम्भव नभए एमालेका मुख्य नेताहरुका क्षेत्रमा एमाले उम्मेदवार हराउन छानेरै १५/२० क्षेत्रमा मात्रै भए पनि गठबन्धनमा कांग्रेसलाई पनि तान्ने र त्यो पनि सम्भव नभए आफूहरुका शीर्ष नेताहरुको निर्वाचन क्षेत्रमा कांग्रेसले नाम मात्रको उम्मेदवारी दिएर गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुलाई अघोषित सहयोग गर्ने गरी कांग्रेसलाई तान्ने प्रयास जारी राखेको छ ।
तर, कांग्रेसको महाधिवेशनबाट आउने परिणाम र त्यसपछिको विकसित घटनाक्रमले मात्र यस विषयमा निर्क्यौल निकाल्ने गठबन्धन दलका नेताहरुको भनाई छ ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।
प्रतिक्रिया