बुधबार, मंसिर २४, २०८२

कांग्रेस महाधिवेशन : यी तीन युवा नेताहरुबीच महामन्त्रीमा भिडन्त

सञ्जिता खनाल २०७८ मंसिर २ गते २०:४५

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा तीन युवा नेताबीच प्रतिस्पर्धा हुने भएको छ । तीन चर्चित युवा नेताले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेसँगै कांग्रेस महामन्त्रीको भिडन्त रोचक हुने देखिएको हो । जसमा अहिलेका प्रवक्ता एवम् केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा र केन्द्रिय सदस्यहरु प्रदीप पौडेल र गगन थापा महामन्त्री पदमा आमनेसामने हुने भएका छन् ।


कांग्रेसको तेस्रो धारका रूपमा चिनिने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समूहबाट नेता प्रदीप पौडेलले गत शुक्रबार शुक्ला गण्डकी नगरपालिका वडा नम्बर ८ मा आयोजित पार्टी कार्यक्रमबाटै महामन्त्री पदमा उठ्ने घोषणा गरे । उनले भने ‘पार्टी बलियो बनाउँन आफू महामन्त्री पदमा उठ्ने छु ।’


एउटै समुहका पौडेल र थापा दुई धारमा


महामन्त्रीका तीन युवाका रोजाईमा परेका प्रतिष्प्रर्धी मध्ये दुई पौडेल र थापाको प्रतिस्पर्धा अझ रोचक हुने देखिएको छ । अघिल्लो अर्थात १३ औं महाधिवेशनसम्म थापा कांग्रेसको तेस्रो धारका रूपमा चिनिने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समुहमा नै थिए । गत भदौं १७ गते पौडेल समुहको पत्रकार सम्मेलनमा थापा देखिए । तर थापाले कृष्ण प्रसाद सिटौला र रामचन्द्र पौडेल दुबैलाई मिलाएर लैजाने बताएका थिए । थापाले आफू चुनाव लड्ने समूह भने खुलाइसकेका छैनन् ।


‘अहिले नै म यो समुहमा रहेको भन्न नमिल्ने’ उनले बताएका थिए । थापाले पनि गत भदौ १४ मै काठमाडौं महानगरपालिका वडा नम्बर ३० को कार्यक्रमबाट आफू फेरि महामन्त्री पदमा लड्ने घोषणा गरेका थिए । २०७२ मा भएको १३ औं महाधिवेशनमा सिटौला पक्षबाट महामन्त्रीमा लडे पनि शशांक कोइरालासँग ससुरा अर्जुन नरसिंह केसीसँगै पराजित भएका थिए ।


पौडेल नेविसंघका पूर्व अध्यक्ष समेत हुन् । पार्टीको केन्द्रिय सदस्य पनि हुन् । उनी क्रियाशील सदस्यता विवाद समाधानका लागि केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठित छानबिन समितिका सदस्य बने । कांग्रेसमा करिब पाँच हजार उजुरी परेकोमा सबै विवाद हल गरिसकेपछि महामन्त्री पदमा उम्मेदवारी दिएको पौडेलको भनाई छ । उनी १३ औं महाधिवेशनदेखि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग निकट छन् ।


यसैगरी, अहिलेका प्रवक्ता शर्माले गत भदौ २४ गते बिपी जयन्तीमा सुन्दरीजल पुगेर महामन्त्री लड्ने घोषणा गरेका थिए । उनले अहिलेसम्म चुनाव लड्ने समूह भने खुलाइसकेका छैनन् । तर घोषणा गरेको केही दिनपछि निधि निवासको घरको पुजामा देखिए शर्मा । तर उनले पुजामा गएको सामान्य भनेपनि धेरैले अब शर्माले देउवा समुह छोडेर निधि समुह प्रवेश गरेका हुन् कि भन्ने अड्कल काटेका छन् ।

शर्मा ,पौडेल र थापामात्र हैनन, कांग्रेसको महाधिवेशन मिति नजिकिदै गर्दा आफ्ना आफ्ना समुहमा महामन्त्रीका आकाक्षी पनि खुलेर देखिन थालेका छन् । संस्थापन समुहमा महामन्त्री पदमा सहमहामन्त्री प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, केन्द्रीय सदस्य बालकृष्ण खाँण, एनपी साउद लगायत नेताहरू पनि उठ्ने चर्चा छ । तर उनीहरूले घोषणा भने गरिसकेका छैनन् । इतर समूहबाट डा. चन्द्र भण्डारी, डा. मीनेन्द्र रिजाल, धनराज गुरुङ, गुरुराज घिमिरे आकांक्षी देखिएका छन् ।

यता, कांग्रेसमा १४ पदाधिकारी मध्ये कोषाध्यक्षमात्रै मनोनित हो । सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री चुनाव मार्फत् आउँछन् । महाधिवेशन आउन एक महिनामात्रै बाँकी रहँदा विभिन्न पदका आकांक्षीहरूले उम्मेदवारी घोषणालाई तीव्रता दिएका छन् ।


यस्तै कांग्रेसमा संस्थान पक्षबाट शेरबहादुर देउवा पुन उठ्ने भएका छन् । संस्थापनइतर वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा केन्द्रीय सदस्य शेखर कोइरालाले सभापति पदमा उठ्ने तयारी अगाडी बढाएका छन् । कांग्रेस महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया