राष्ट्रिय सम्पदा र संस्कृतिको जगेर्ना महत्वपूर्ण : राष्ट्रपति भण्डारी

महोत्तरी । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सम्पदा र संस्कृतिको संरक्षणमा जुट्न अनुरोध गरेकी छन् । महोत्तरीको मटिहानी नगरपालिका–७ मा नवनिर्मित रंगशालाको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्राचीन ऋषिमुनिको तप र साधना भूमि मिथिलाक्षेत्रका राष्ट्रिय सम्पदा र यहाँको गौरवमय संस्कृतिको संरक्षणमा पहलकदमी लिन सम्बद्ध सबैपक्षसँग आग्रह गरेकी हुन् ।
“प्रदेश–२ प्राचीन मिथिलाका अष्टावक्र, याज्ञवल्क्य, गार्गी, मैत्रेयी र राजा जनकसहितका विद्वान, विदुषीको साधना र तपको थलोका रुपमा परिचित छ”, राष्ट्रपति भण्डारीले भनिन्, “हामीले आफ्नो गौरवपूर्ण विगतलाई सम्मान गर्दै यी सम्बद्ध धरोहरको संरक्षण र सम्वद्र्धन गर्न पर्दछ ।” मैथिली भाषाका महाकवि विद्यापतिको साधनाले मुलुकको वाङ्मय समृद्ध बनेको पनि उनले चर्चा गरिन् । मुलुकको विकास र पहिचानमा खेलकूद क्षेत्रको महत्वपूर्ण स्थान हुने राष्ट्रपति भण्डारीको भनाइ छ ।
यो यथार्थलाई हृदयांगम गरी मटिहानी नगरपालिकाले विशाल रंगशाला निर्माण गरेर समयोचित काम गरेको उनले बताइन् । नवनिर्मित रंगशालामा हुने अबका नियमित अभ्यासले खेल क्षेत्रमा राष्ट्रिय प्रतिभा जन्माउने विश्वास लिएको राष्ट्रपति भण्डारीले उल्लेख गरिन् ।
मुलुकको तराई क्षेत्र अन्न उत्पादनको उर्वर भूमि रहेको हुँदा कृषिमा नयाँ प्रविधिको प्रयोग र अभ्यास बढाउँदै किसानलाई आधुनिक खेतीतर्फ लाग्न आवश्यक सीप, प्रविधि र सुविधा बढाउन स्थानीय तह, प्रदेश र केन्द्रसहित तीनै तहका सरकारले पहलकदमी लिनपर्ने राष्ट्रपति भण्डारीको भनाइ छ ।
नेपालको समग्र इतिहासमा मिथिला क्षेत्रले विशिष्ट स्थान ओगटेको चर्चा गर्दै राष्ट्रपति भण्डारीले जनकनन्दिनी सीताको जन्मभूमि रहेको यस ठाउँमा अझै जातीय भेदभाव, महिला उत्पीडन, अन्धविश्वास र अशिक्षाले सिर्जित गरिबी अहिलेको चुनौती बनेको बताइन् ।
यसलाई न्यूनीकरण गर्न प्रदेश–२ सरकारले थालेको ‘छोरी बिमा’ र ‘बेटी बचाउ–बेटी पढाउ’ कार्यक्रमको राष्ट्रपति भण्डारीले सराहना गरिन् । “प्रदेश–२ सरकारले थालेको यो प्रयत्नले नारी शिक्षालाई बल दिनसँगै सक्षम नागरिक बनाउन मद्दत गर्नेछ”, भण्डारीले भनिन् । शिक्षाको अवस्था फेर्नसँगै बालविवाह, अनमेल विवाह, बहुविवाह, दहेज र तिलक प्रथा एवं बोक्सीप्रथा जस्ता विसङ्गति र विकृति समाजमा अझै देखिनु दुःखको विषय रहेको राष्ट्रपतिले बताइन् । “हाम्रा प्रयत्न यसको समूल अन्त्यका लागि केन्द्रित हुन आवश्यक छ”, उनले भनिन् ।
मटिहानीमा ३०० वर्ष पहिले स्थापित तत्कालीन संस्कृत पाठशाला र हालको राजकीय संस्कृत माध्यमिक विद्यालयले देशमा शिक्षाको ज्योति छर्न महत्वपूर्ण योगदान दिएको राष्ट्रपति भण्डारीले उल्लेख गरिन् । शैक्षिक जागरणका अग्रदूत बालगुरु षडानन्दलेसमेत अध्ययन गर्नु भएको यो विद्यालयको समयोचित सुधार र विकासमा योगदान पु¥याउनु सबैको दायित्व भएको भण्डारीले बताइन् ।
मटिहानीका धार्मिक सम्पदा लक्ष्मीनारायण मठ, लक्ष्मीनारायण मन्दिर, तश्मैयाबाबाको खन्ती, पिरबाबा मजारस्थान, लक्ष्मीसागर र नजिकको जलेश्वरनाथ महादेव मन्दिरको संरक्षण, सम्बद्र्धनमा पहलकदमी लिन सकेमात्र आफ्नो गौरवपूर्ण विगत सन्ततिले देख्न÷बुझ्न पाउने उनले उल्लेख गरिन् ।
तराईको जीवन चुरे पर्वतसँग अभिन्नरुपले जोडिएको हुँदा चुरेको संरक्षणमा समुचित ध्यान पुग्न आवश्यक रहेको राष्ट्रपति भण्डारीको भनाइ छ । चुरेको संरक्षणविना तराईको समृद्धि सम्भव नरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले भनिन्, “चुरे संरक्षण र तराईको समृद्धि एकअर्काका पूरक हुन् ।” यसका लागि चुरेको दोहनलाई निरुत्साहित गरी नदी प्रणालीलाई व्यवस्थित गरिन आवश्यक रहेको उनले बताइन् ।
समारोहमा राष्ट्रपति भण्डारीलाई मटिहानी नगरपालिका, सांसद चन्दा चौधरी र महोत्तरी उद्योग वाणिज्य संघले मिथिला कला, संस्कृति झल्कने उपहार प्रदान गरेका थिए ।








र्यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार
जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन
बुधबारदेखि सरकारले तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने
एमालेमा युवा नेत्री केन्द्रीय सदस्यका दावेदार
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड
जनार्दन शर्मालाई गृहजिल्लामै कालो झण्डा
एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै
जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
प्रतिक्रिया