बिहीबार, फागुन २१, २०८२

एमाले महाधिवेशन

निम्तो नदिएका माधव नेपाललाई ओलीले टिप्पणी नै गरेनन्

मेरोन्यूज २०७८ मंसिर १० गते १७:१८

चितवन । नेकपा एमालेको शुक्रबारदेखि चितवनको सौराहामा शुरु भएको दशौं महाधिवेशनको उद्घाटन सत्रमा एमालेबाट विभाजित भई गठन भएको नेकपा (एकीकृत समाजवादी)ले निम्तो पाएन ।

सत्ता गठबन्धनका सबै दललाई निम्तो दिएर नारायणी नदी किनारको मञ्चमा विशेष स्थान दिए पनि माधव नेपाल नेतृत्वमा गठन भएको एकीकृत समाजवादीलाई एमालेले निम्तोसमेत दिएन ।

एमाले कार्यक्रममा नेकपा कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवादेखि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासम्मले मन्तब्य राख्ने मौका पाए ।

एमालेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निम्तो आए पनि प्रचण्ड सहभागी भएनन् । प्रचण्ड आफू नै चुनाव लड्ने तयारी गरेको जिल्ला चितवनमा एमालेले महाधिवेशन आयोजना गरेकोमा यसअघि नै प्रचण्डले चर्चा गर्ने गरेका थिए । उनले चितवनमा महाधिवेशन गरेको आफ्नो ओज अझै बढेको भन्दै आएका थिए । त्यसैले प्रचण्डले एमाले महाधिवेशनको उदघाटनसत्रमा पार्टीका तर्फबाट नेता लिलामणि पोखरेललाई पठाए ।

Advertisement
nepal life insurencenepal life insurence

एमाले महाधिवेशनको उदघाटन समारोहमा कांग्रेस सभापति देउवाका साथै, माओवादी केन्द्रका स्थायी समिति सदस्य लिलामणि पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका नेताहरु उपस्थित थिए ।

निकै तामझामका साथ गरिएको एमालेको दशौं महाधिवेशनको उदघाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरुले सम्बोधन गरिसकेपछि अध्यक्ष ओलीले सम्बोधन गरे ।

यसअघिका विभिन्न हरेकजसो कार्यक्रममा ओलीले आफूबाट अलग भएर गएका नेता माधव नेपालको निकै आलोचना गर्ने गरे पनि ओलीले महाधिवेशनमा कुनै टिप्पणी नै गरेनन् । सत्ता गठबन्धनका सबै दलहरुप्रति इंगित गर्दै ओलीले ‘प्रधानमन्त्रीजी मेरा खुट्टा तान्नेहरुले तपाईको खुट्टा समाइरहेका छन्’ भने पनि माधव नेपाललाई नै किटान गरेर कुनै आलोचना गरेनन् ।

बरु उनले ढंग नभएकाहरु मन्त्री भएर रमाइहेको भन्दै माधव नेपालका केही मन्त्रीहरुलाई इंगित गरेका थिए । ओलीले विकास र समृद्धिको धेरै कुरा गरे । पानीजहाजदेखि स्याटेलाइटकोसमेत चर्चा गर्न भ्याएका ओलीले माधव नेपाललाई न कुनै टिप्पणी गरे, न त कुनै आलोचना नै गरे । एमालेले लाखौं मान्छेको उपस्थितिमा सत्ता गठबन्धनकै नेताहरुलाई विशेष निम्तो दिएर मञ्च उपयोग गर्न दिँदा नेता नेपाललाई कुनै महत्व नै दिएनन् ।

ओलीले देशकै सबैभन्दा ठूलो पार्टी एमाले रहेको र यसको देशैभर उभार आएको बताइरहँदा एमालेबाट छुट्टिएर नयाँ पार्टी बनाएका माधव नेपाल भने कर्णाली प्रदेशमा गएर ओलीप्रति धारेहात लगाइरहेका थिए ।

प्रतिक्रिया