बिहीबार, फागुन २१, २०८२

पौडेलले कांग्रेस रुपान्तरणका १० सूत्र सार्वजनिक गदै भने ‘लोकतन्त्र अहिले जोखिममा पर्यो’

मेरोन्यूज २०७८ मंसिर १२ गते १६:२०

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस रुपान्तरणका १० सूत्र सार्वजनिक गरेका छन् । वरिष्ठ नेता पौडेलले आइतबार काठमाडौं बत्तीसपुतलीमा १० सूत्र एजेण्डाए सार्वजनिक गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

उनले आफूले जीवनभर लोकतान्त्रिक पद्धतिका लागि संघर्ष गरेको भन्दै ७० वर्ष लगाएर ल्याएको संघीयतासहितको लोकतन्त्र र समावेशी लोकतन्त्र अहिले जोखिममा परेको बताए । बुद्धिजीवीहरूबाट सुरुवात गेर देशभरका पार्टीका साथीहरू र जनतामा पुर्‍याउने प्रयास गरेको उनको भनाई छ ।
उनले भने, ‘बुद्धिजीवीहरूबाट सुरुवात गेर देशभरका पार्टीका साथीहरू र जनतामा पुर्‍याउने प्रयास गरेको छु ।’

रुपान्तरणका एजेन्डा सूत्र सार्वजनिक कार्यक्रममा बोल्दै नेता पौडेलले देशमा लोकतान्त्रिक प्रणाली स्थापना भएपनि दलहरूलाई नै लोकतान्त्रिकरण गर्नुपर्ने आवश्यक रहेको बताए ।


उनले आजको अदालतको अवस्था बिग्रनुमा आन्तरिक लोकतन्त्र कमजोर हुनु उल्लेख गरे । संवैधानिक परिषदलाई भत्काउन देशको प्रधानमन्त्री, प्रधानन्यायाधीश देखि विपक्षी दलहरु समेत लागेको र राष्ट्रलाई निकास दिन ध्यान नदिएको बताए । पार्टीमा क्रियाशील सदस्यता वितरणदेखि नै ‘सल, बल र छल’ भइरहेको र सत्ताको दुरूपयोग बढिरहेको उनको भनाइ छ ।

यस्ता छन् पौडेलले सार्वजनिक गरेका १० सूत्र

१.वर्तमान संविधानलाई निष्ठापूर्वक कार्यान्वयनमा ल्याऔं । समावेशी नेपाल साकार पारौँ ।

२.काँग्रेसजनले पार्टी विधानको मर्यादामा रहेर न्याय, निष्पक्षता र पारदर्शी मूल्याङ्कनसहित आन्तरिक लोकतन्त्र र पार्टी एकता मजबुत पारौँ ।

३ . विकृति, विसंगति र भ्रष्टाचारलाई तह लगाउँदै देशमा समृद्धि र सुशासन कायम गरौं ।

४. राजनीतिलाई सम्मानित क्षेत्र बनाउन सिद्धान्त र विचारको बहसलाई अघि बढाउँ । राजनीतिमा निष्ठा र नैतिकता स्थापित गर्न संघर्ष गरौं ।

५.आर्थिक सामाजिक, साँस्कृतिक र राजनीतिक रुपले पछि पारिएका महिला, दलित, जनजाति र मधेसी तथा विपन्न जनता केन्द्रित नीति र कार्यक्रम अघि सार्दै कांग्रेसलाई ‘प्याडिकल सेन्टर’ बाटोमा हिँडाउने ।

६.निमुखालाई न्याय, विपन्नलाई आय हाम्रो मूल ध्येय हो । राज्यको सम्पति र स्रोतमाथि एउटै वर्ग र तप्काको मात्रै हालिमुहाली भएमा त्यो लोकतन्त्र हुन सक्दैन । स्रोत र अवसरको असमान वितरणले अन्ततः लोकतन्त्रलाई नै धरापमा पार्छ । मानिसलाई विशुद्ध मानिसको रुपमा हेर्ने सहानुभूतिशील दृष्टिकोण हाम्रो समाजवाद हो, स्वच्छन्दतावादी पुँजीवाद र एकमार्गी साम्यवाद दुवैबाट पृथक छ लोकतान्त्रिक समाजवाद । पहिले सबै बाँचौ अनि प्रतिस्पर्धा गरौं। राज्य जनताप्रतिको जिम्मेवारीबाट पन्छिन सक्दैन । तर, जतासुकै हस्तक्षेप पनि गर्दैन ।

७. विधिको शासन, समयबद्ध कार्यसम्पादन, चिन्तन र कर्मको संयोजन कर्मशील काँग्रेसको नारा हो । सैद्धान्तिक स्पष्टता र उर्जाशील प्रस्तुति तन्नेरी काँग्रेसको निश्चल चरित्र हुनुपर्छ । कसैका एजेन्डा बोक्न पर्दैन, आफ्ना एजेन्डा छोड्न पर्दैन। सात सालदेखि समान्तविरोधी एजेन्डा बोकेको काँग्रेस जसले २०१५ सालमा दुईतिहाइ जनसमर्थन प्राप्त गयो, त्यही लोकतान्त्रिक समाजवादको सैद्धान्तिक आलोकमा काँग्रेसलाई उजिल्याउन अथक प्रयास गरौं ।

८. सबै जनतालाई खान लाउन पुग्ने कृषि क्रान्ति र पर्यटनको विस्तार गरौं । देशलाई समृद्ध पार्न उर्जा क्रान्ति र आफनै विशेषता र सम्भाव्यतासहितको औद्योगिक क्रान्ति गरौं ।

९.नेपाली विशेषता पहिचान गर्दै देशभक्तिको मर्म छुने, असंलग्नतामा आधारित हाम्रो राष्ट्रवादको विचारलाई अघि बढाऔं ।

१०. कम्युनिष्टले छरेका भ्रम र झूटा आश्वासनबाट नेपाली जनतालाई मुक्त गर्दै नेपाली काँग्रेस विचार शून्य र दिशाहीन छैन भन्ने प्रमाणित गर्दै यसलाई नेपाली जनताको भरोसाको केन्द्र बनाऔं ।

राजनीतिलाई सम्मानित क्षेत्र बनाउन सिद्धान्त र विचारको बहसलाई अघि बढाउँ । राजनीतिमा निष्ठा र नैतिकता स्थापित गर्न संघर्ष गरौं । विकृति, विसंगती र भ्रष्टाचारलाई तह लगाउँदै देशमा समृद्धि र सुशासन कायम गरौं ।

प्रतिक्रिया