बिहीबार, वैशाख १०, २०८३

एमालेको केन्द्रीय कमिटी बैठक सुरु

मेरोन्यूज २०७८ मंसिर २५ गते १४:२८

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज भक्तपुरको गट्ठाघरमा सुरु भएको छ । एमालेको दसौँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक दिउँसो करिब १ः२० सुरु भएको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए । बैठकमा शपथ ग्रहण बाँकी भएका केन्द्रीय सदस्यको शपथ ग्रहण गराइएको उनले जानकारी दिए ।

Advertisement
NiccNicc

बैठकमा १५ एजेन्डामाथि छलफल हुने बताइएको छ । कार्य सूचीअनुसार क्रमसँगै छलफल र निर्णय गर्दै जाने तय भएको जनाइएको छ । भोलिसम्मका लागि तय गरिएको बैठकमा केन्द्रीय सदस्यहरुको शपथ ग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय कमिटीमा सदस्यहरुको मनोनयन, पोलिटब्यूरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन हुने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेको जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरियता क्रम निर्धारण र जनसंगठनको सुदृढीकरण अभियान पनि बैठकका एजेन्डामा रहेका छन् ।

बैठकअघि अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बसेको थियो । सचिवालय बैठकले केन्द्रीय कमिटीमा लैजाने एजेन्डाका बारेमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया