बिहीबार, वैशाख १०, २०८३

कांग्रेस महाधिवेशन

गगन–विश्वप्रकाश प्यानल छुट्टै, मत एउटै !

गगन भन्छन्– आफू यो ठाउँमा आउनुमा विश्वप्रकाशको ठूलो हात

सञ्जिता खनाल २०७८ मंसिर २७ गते १४:०६

काठमाडौं । नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत सोमवार नयाँ नेतृत्वका लागि मतदान भइरहेको छ । निर्वाचनमा मुख्यतः दुई गुट हुने भनिए पनि गुटहरु तितरबितर भए ।

एउटा समूहका नेता अर्को समूहमा, अर्को समूहका नेता अर्कै समूहमा उम्मेदवारी दिएका छन् । तर कतिपय नेताहरु भने प्यानल छुट्टाछुट्टै भए पनि मतहरु एउटै मिलेका भेटिन्छन् ।

कृष्ण सिटौला टिमका उम्मेदवार बनेका गगन थापा शेखर कोइरालाको टिममा महामन्त्री बने । भने देउवा समुहका पूर्व पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा प्रकाशमान गुटबाट महामन्त्रीका उम्मेदवार बने । थापा र शर्माको मत आपसमा मिलेको देखिन्छ ।

युवा पंक्तिमा चर्चित मानिएका यी दुई नेताहरु जुन जुन समूहबाट प्रतिष्पर्धा गरे पनि एकले अर्कालाई सघाइरहेका छन् । शर्माले आफूलाई एक भोट र थापालाई अर्को भोट मागिरहेका छन् ।

सोमवार मतदान हुँदै गर्दा पत्रकारहरुसँग कुरा गर्दै थापाले पनि आफूलाई यहाँसम्म ल्याइपुर्याउने काम विश्वप्रकाशले गरेको भन्दै प्रशंसा मात्रै गरेनन्, शर्माप्रति आभार ब्यक्त गरे ।

शेखरको टिममा विश्वप्रकाश महामन्त्रीका एक्लो उम्मेदवार भएकाले पनि गगनका लागि भोट माग्न सजिलो भए पनि गगनलाई खुल्ला रुपमा शर्मालाई भोट माग्न सहज छैन । शेखर टिममा गगनसँगै महामन्त्रीमा डा. मिनेन्द्र रिजाल छन् ।

‘म उहाँ (विश्वप्रकाश) प्रति आभार व्यक्त गर्छु, म एउटा टिममा छु मेरो टिममा महामन्त्रीमा मिनेन्द्र रिजाल हुनुहुन्छ ।’– विश्वप्रकाशले आफूलाई मत माग्दिएको सन्दर्भमा थापाले भने ।

थापाले मतदान हुँदै गर्दा कांग्रेस कार्यकर्ताहरुप्रति असन्तुष्टी पनि पोखेका छन् । महामन्त्री पदका उम्मेदवार थापाले अरु बेला नेतृत्व परिवर्तनका कुरा गर्नेहरु महाधिवेशनमा मौन देखिएको गुनासो गरे ।

‘हामीले टिम नै समबेशी बनाउनु पर्छ, अहिले महिला सहमहामन्त्रीमा आउने विधानमै व्यवस्था छ’, थापाले भने, ‘कांग्रेसको १५ आंै महाधिवेशनमा पदाधिकारी महिला आउने छन् ।’

आफूसँग धेरै फोटो खिच्ने तर मत नदिने अनुभव रहेको समेत थापाले सुनाए । यो अधिवेशनबाट आम मानिसले भरोसा गर्ने कांग्रेस आउने बन्ने उनको विश्वास छ ।

Advertisement
NiccNicc

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया