कांग्रेसमा नयाँ धुव्रीकरण
शेखर एक्लिए, देउवालाई सिंह, निधि र गुरुङको साथ

काठमाडौं । नेपाली कांग्रेसका सभापतिका लागि दोस्रो चरणमा हुन लागेको मतदानको पुर्वसन्ध्यामा सभापतिका दावेदार रहेका शेखर कोइराला एक्लिएका छन् । प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवालाई भने पहिलो चरणमा सभापतिका आकांक्षी रहेका नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधिदेखि कल्याण गुरुङसम्मको साथ रहने भएको छ ।
देउवाको नेतृत्ववाट अब कांग्रेस नचल्ने भन्दै उम्मेदवार बनेका नेताहरुले अन्तिम समयमा दुई मात्रै उम्मेदवार रहँदा देउवाकै पक्षमा उभिने निर्णय लिएका हुन् । यो सँगै अब फेरि दोस्रो पटक कांग्रेसका सभापतिमा प्रधानमन्त्री समेत रहेका शेरवहादुर देउवा दोहोरिनेमा करिव निश्चित जस्तै भएको छ ।
पहिलो चरणको मतदानमा देउवालाई जम्मा ८२ मत अपुग भएको थियो । ७७ मत त बदर थियो । तर दोस्रो चरणको चुनावी रेसबाट बहिरिएका अन्य तीनै जना सभापतिका उम्मेदवारले देउवालाई साथ दिने निधो गरेपछि शेखर कोइराला एक्लिएका हुन् । देउवा बलियो उम्मेदवार बनेका हुन् ।
कांग्रेस सभापतिका लागि अहिले दिउँसो साढे ३ वजेदेखि हुने पून: मतदानमा देउवा र शेखर कोइराला प्रत्याशी छन् ।
पहिलो चरणमा ४ हजार ७४३ महाधिवेशन प्रतिनधिमध्ये ४ हजार ६७९ मत खसेको थियो । पहिलो चरणमै जित निकाल्नका लागि बहुमत अर्थात् २३४० मत आवश्यक थियो । तर, सभापतिका प्रत्याशी कसैले पनि बहुमत प्राप्त गर्न सकेनन् ।
पहिलो चरणमा देउवाले २२५८, कोइरालाले १७२९, सिंहले ३७१ निधिले २४९ र गुरुङले २० मत प्राप्त गरेका थिए । अब देउवालाई कोइराला वाहेकका अन्य सवै सभापतिका प्रत्याशीले साथ दिने भएपछि देउवा फेरि कांग्रेसको सभापतिमा दोहोरिने लगभग निश्चत जस्तै बनेको हो ।
आफूविरुद्ध बाँकी सबै उम्मेदवार एकताबद्ध भएपछि कोइरालाले आफूनिकट नेताहरूलाई बोलाएर रणनीतिक छलफल थालेका छन् ।
यस अगाडिसम्म देउवा पहिलो चरणमै चुनाव जित्ने रणनीतिमा थिए भने कोइराला लगायतका नेताहरु निर्वाचन दोस्रो चरणसम्म धकेल्ने र त्यसपछि देउवाविरुद्ध सवै उम्मेदवारलाई एकढिक्का बनाएर मोर्चाबन्दी गर्ने तयारीमा थिए । तर परिणाम ठीक उल्टो देउवालाई सबैले साथ दिने र कोइराला एक्लिने गरी कांग्रेसमा नयाँ धुव्रीकरण देखा परेको छ ।
यस्तो बेला अब के गर्ने भन्नेमा शेखर कोइरालाले आफू निकट नेताहरुसँग छलफल गरिरहेका छन् । कतिपय नेताहरुले भने अब देउवासँग सबै नेताहरु मिलिसकेकोले सर्वसम्मत रुपमा देउवालाई नै सभापति छोडिदिने वा के गर्ने भन्नेमा पनि छलफल गर्नुपर्ने बताउन थालेका छन् ।
मत परिमाण आउने वित्तिकै देउवाको दौडधुप
देउवा बिहान साढे ८ बजेको रामचन्द्र पौडेलको चियापानमा सहभागी भए । त्यसलगतै उनी तेस्रो सभापतिका प्रत्यासी प्रकाशमान सिंहलाई भेट चाक्सीबारी पुगे । मतपरिमाण आउनुभन्दाअघि नै देउवाले चाक्सीबारीस्थित सिंह निवासमा बालकृष्ण खाँणलाई पठाए ।
सिंहले सुजता कोइरालासँगको छलफलमा अब हुने दोस्रो चरणको निर्वाचनमा देउवालाई नै समर्थन गर्ने निर्णय भएको बताए । उनले भने, ‘देउवाजीले पार्टीलाई विधिमा चलाउँछु भन्नु भएको छ ।’
सिंहले देशभरका साथीहरुले पनि देउवालाई नै बढी मत दिएको हुँदा आफूले पनि समर्थन गरेको बताए ।
‘प्रकाशमानजी र सुजाताजीले जुन सदासयता, हार्दिकता देखाउनुभयो, मैले दिएको बचन पूरा गर्नेछु, तोड्ने छैन, गर्नेछु’, देउवाले सिहसँगको भेटमा भने, ‘हामी पहिलेका साथी पनि हौँ ।’
सिंह भेटेलगत्तै देउवा निधि निवास पुगे । देउवाले आपूmलाई सभापतिमा सघाउन निधिलाई फोन मार्फत आग्रह गरे । निधिले देउवालाई आफ्नो घरमा चिया खान बोलाए । त्यसपछि देउवा पनि निधि निवास गए । केही समय आफ्नो कार्यकर्तासँगको छलफलपछि बिना सर्त देउवालाई समर्थन गर्ने निर्णय भएको निधिले बताए ।
यसैगरी, कल्याण गुरुङले आफ्ना डेढ सय समर्थकसहित बैठक बसेर देउवालाई समर्थन गर्ने निर्णय गरेको पनि बताएका छन् ।
यता, महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्माले प्रकाशमान सिंह उभिएको ठाउँमा नै आफू पनि उभिने बताए । ‘सर्वसम्मति सर्वोत्तम । दोस्रो चरणमा जानैपर्दा प्रस्ट्याउँदछु । नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उमेदवार भएकाले उहाँ उभिनु भएको ठाउँमा म उभिनुपर्छ । पराजित भएपनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो । सहि निर्णय गर्न सक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु ।’
प्रतिक्रिया