शुक्रबार, वैशाख १८, २०८३

विमानस्थललाई सुरक्षित बनाउछौँ : पर्यटनमन्त्री

मेरोन्यूज २०७८ पुष २ गते २१:४७

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मुलुकको हवाई उड्डयन क्षेत्रलाई सुरक्षित र सुदृढ तुल्याउन सरोकारवाला निकाय गम्भीर हुनुपर्ने बताएका छन् ।

Advertisement
NiccNicc

वायुसेवा सञ्चालक संघ, नेपाल (आयोन) को २१औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै मन्त्री आलेले हवाई क्षेत्रमा रहेका समस्या समाधान गर्दै सुरक्षित उडानको सुनिश्चितताका लागि सबै सरोकारवालाले मिलेर काम गर्नुपर्ने समेत बताए । पर्यटनमन्त्री आलेले विमानस्थललाई सुरक्षित बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले बजेट विनियोजन गरेको जानकारी दिए ।

उनले निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साता १० दिनभित्रै क्यालिब्रेसन फ्लाइट गरेर छिट्टै व्यावसायिक उडान सञ्चालन गरिने जानकारी दिए । अर्को निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पनि बढीमा आठ महिनाभित्र क्यालिब्रेसन उडान गरिने बताए ।

कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले हवाई सुरक्षालाई प्रभावकारी बनाउन नियामक र सेवा प्रदायकबीच समन्वय र सहकार्य जरुरी भएको उल्लेख गरे । उनले हवाई उडानका अन्तर्राष्ट्रिय मापदण्डको प्रभावकारी पालना गर्दै हवाई सेवालाई विश्वसनीय जनमुखी बनाउन आग्रह गर्दै त्यसका लागि निजी क्षेत्रसँग मिलेर काम गर्न सरकार तयार रहेको बताए ।

प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले हवाई सुरक्षा अभिवृद्धिका लागि प्राधिकरण लागिपरेको बताए ।

प्रतिक्रिया