मंगलबार, वैशाख ९, २०८२

प्रदेश नं १ र लुम्बिनी प्रदेशको विजयी सुरुवात

मेरोन्यूज २०७८ पुष ३ गते २१:२७

काठमाडौँ । धनगढीमा आजदेखि सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगितामा प्रदेश नं १ र लुम्बिनी प्रदेश विजयी सुरुआत गरेका छन् । धनगढीको फाप्ला क्रिकेट मैदानमा शुरु भएको प्रतियोगिताअन्तर्गत आज पहिलो दिनको खेलमा प्रदेश नं १ ले कर्णाली प्रदेशमाथि १६० रनको फराकिलो जित दर्ता गरेको छ । यस्तै लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई सात विकेटले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नं १ ले कप्तान रुविना क्षेत्री र अप्सरी वेगमको अर्धशतकको मद्दतमा २० ओभरमा दुई विकेट क्ष्यतिमा १६६ रन बनायो । कप्तान क्षेत्रीले १० चौका र अप्सरीले ५ चौका प्रहार गरिन् । प्रदेश १ ले २९ रन अतिरिक्त पाएको पायो । कर्णालीका लागि दिव्या धामीले दुई विकेट लिए ।

प्रदेश एकले दिएको १६७ रनको लक्ष्य पछ्याएको कर्णालीले ११ दशमलब चार ओभर खेल्दा सबै विकेट गुमाएर छ रन मात्र बनाउन सक्यो । टोलीका लागि लक्ष्मी रिजाल र अंशु शाक्यले एक/एक रन बनाउँदा सात जना खेलाडी भने शून्यमा आउट भए । प्रदेश नम्बर १ का लागि अलिशा खडियाले पाँच, संगिता राईले दुई र सबनभ राईले एक विकेट लिए । पाँच विकेट लिएकी अलिशा ‘प्लेयर अफ द म्याच’ भइन् ।

आजै भएको अर्को खेलमा बागमती प्रदेशमाथि लुम्बिनी प्रदेशले जित दर्ता गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको बागमती प्रदेशले २० ओभरमा सात विकेटको क्ष्यति ब्यहोर्दै ७५ रन बनायो । बागमतीका लागि हेलिशा गुरुङले २८ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंकको रन छुन सकेनन् ।

बागमतीले १५ रन अतिरिक्त पायो । लुम्बिनीका लागि मधु डिसीले तीन विकेट र सुस्मिता भुसालले दुई विकेट लिइन् । नेरी थापा र कप्तान सरस्वती जिएमले एक/एक विकेट लिइन् । जवाफी ब्याटिङमा उत्रेको लुम्बिनी प्रदेशले १२ दशमलव पाँच ओभरमा तीन विकेट क्षतिमा विजय लक्ष्य हासिल गरेको छ । लुम्बिनीलाई जिताउन कप्तान सरस्वती जिएमले सर्वाधिक २९ रन बनाउनुभयो भने नितु भण्डारीले १४ रन बनाइन् ।

टिमले १४ रन नै अतिरिक्त पायो । बागमतीका लागि अस्मिना कर्माचार्य, आरती विडारी र खुशी डङ्गालले एक÷एक विकेट लिइन् । लुम्बिनीका लागि तीन विकेट लिएकी मधु डिसी ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । नेपाल क्रिकेट संघ र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघद्वारा संयुक्त रूपमा आयोजित प्रतियोगिताको सामाजिक विकासमन्त्री लालबहादुर खड्काले उद्घाटन गरेका थिए ।

पुस ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशका सात प्रदेश र एक विभागीय गरी आठ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा प्रथम हुने टिमले पाँच लाख, द्वितीय हुनेले तीन लाख, ‘ओम्यान अफ द सिरिज’ २५ हजार, बेस्ट बलरले १५ हजार तथा बेस्ट ब्याट्स ओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले र दुई हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया