एमसीसी पास नभए मुलुक आर्थिक संकटमा फस्ने : उपाध्यक्ष पाण्डे

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वमन्त्री सुरेन्द्र पाण्डेले एमसीसी सम्झौताबारे सरकार जिम्मेवार नबनेको आरोप लगाएका छन् । उनले एमसीसी संसदबाट पारित गर्ने विषयलाई सरकारले बुद्धिमतापूर्ण ढंगले अघि नबढाए मुलुक राजनीतिक तथा आर्थिक संकटमा फस्ने चेतावनी दिए ।
सोमबार चितवनको भरतपुरमा स्थानीय सञ्चारकर्मीसँग उनले एमसीसीले गर्दा अमेरिकासँगको सम्बन्धमा जटिलता आए त्यसले मुलुकमा राजनीतिक तथा आर्थिक संकट आउने बताएका हुन् । उनले एमसीसी अघि बढाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दलभित्रै गम्भिर असहमति रहेको दाबी गरे ।
‘जनतामा अहिले छलफल भइरहेको छ, त्यो भनेको एमसीसी । तर संसदबाट अनुमोदन गरेर मात्रै त्यो पैसा दिन्छु भनेर अमेरिकाको एमसीसी फण्डले भनिरहेको कारणले अरु धेरै सहायता क्याविनेटले निर्णय गरेर दुई पक्षीय निर्णयमा स्विकृत गर्ने गरिन्छ,’ उनले भने, ‘यो पैसा चाँहि हामीले क्याविनेट निर्णयले मात्रै पुग्दैन, संसदबाटै अनुमोदन चाहिन्छ भन्ने सर्त नेपाल सरकारले पनि मानिदिएकाले अहिले पार्लियामेन्टमा नगईकन यो म दिन्न भन्नेर पैसा लिनुहुन्न भन्ने बहस विवाद पनि तीव्र छ, सर्वदलीय बैठकमा हाम्रो पार्टी सहभागी भएन, सरकार पक्षकै दलहरुका बीचमा विमती पैदा भयो ।’
उपाध्यक्ष पाण्डेले मुलुक अब निर्वाचनतर्फ जानुको विकल्प नरहेको समेत बताए । मुलुक संकटको बीचमा उभिएको र त्यसको समाधान निर्वाचनबाटै हुने भएकाले निर्वाचनमा जाने उनको दाबी थियो ।
उनले भने, ‘मुलुक संकटबाट गुज्रिरहेको छ, यो संकटले के संकेत गर्छ भने यसको समाधान लोकतान्त्रिक ढंगले खोज्नु भनेको हामी संकटको चरणमा छौं, यसको के हो समाधान भन्दाखेरी निर्वाचन भन्दा अरु म केही पनि देख्दिनँ ।
प्रतिक्रिया