कांग्रेस महाधिवेशन
देउवा पार्टीमा दुई तिहाइको बाटोमा
६२ जनाको नतिजा सार्वजनिक हुँदा संस्थापनको ४७, इतर पक्षका १४ जनाले मात्रै जिते

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसमा संस्थापन पक्ष १४ औं महाधिवेशनको जारी मतगणनामा दुई तिहाइतर्फ अगाडि लम्किएको छ । अहिलेसम्म मतगणना सम्पन्न भएका पदाधिकारी, खुल्ला पुरुष, महिला र विभिन्न कलस्टरका केन्द्रीय सदस्यमा सस्थापन दुई तिहाइ नजिक पुगेको हो । ६२ उम्मेद्वारको नतिजा सार्वजनिक हुँदा संस्थापनपक्षका ४७ उम्मेद्वारले जितेका छन् । संस्थापन इतरका १४ उम्मेद्वार मात्रै निर्वाचित भएका छन् ।
१३ पदाधिकारीमा संस्थापनले सभापतिसहित ८ जना जितेको छ । सभापतिमा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा दोहोरिएका छन् । त्यस्तै संस्थापनबाट उपसभापतिमा पूर्णबहादुर खड्का, सहमहामन्त्रीमा महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’, खस आर्यतर्फ किशोरसिंह राठौर, मधेसीतर्फ महेन्द्र यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, जनजातीतर्फ भिष्मराज आङ्देम्बे र थारुतर्फ उमाकान्त चौधरी विजयी भएका छन् ।
संस्थापन इतर समूहबाट उपसभापतिमा धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार र पिछडिएको क्षेत्रमा बद्री पाण्डे गरेर ४ जना मात्रै विजयी भएका छन् । नेता प्रकाशमान सिंह प्यानलबाट महामन्त्री जितेका विश्वप्रकाश शर्मा सिंहले दोस्रो चरणमा सभापतिमा देउवालाई नै समर्थन गरेपछि देउवातिरै नजिकिएका छन् ।

खुल्लार्फ ३५ केन्द्रीय सदस्यमा संस्थापन प्यानलबाट २५ जनाले जितेका छन् । निवर्तमान महामन्त्री डा. शशांक कोइराला सबैतिर परेर जितेका छन् । संस्थापन इतर समूहबाट ९ जनाले मात्रै केन्द्रीय सदस्य जितेका छन् ।
संस्थापनबाट एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, जिपछिरिङ लामा, जीतजंग बस्नेत, गोपालमान श्रेष्ठ, मोहनबहादुर बस्नेत, सुनिलबहादुर थापा, नैनसिंह महर, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, राजीव ढुंगाना, गुरु बराल, मदनबहादुर अमात्य, गणेश लामा, उमेशजंग रायमाझी, मोहन आचार्य, डा. गोपाल दहित र कृष्णकिशोर घिमिरे विजयी भएका छन् ।
संस्थापन इतर समूहबाट अर्जुननरसिंह केसी, दिलेन्द्रप्रसाद बडू, डा. रामशरण महत, बलबहादुर केसी, दिपक गिरी, सञ्जयकुमार गौतम, डा. गोविन्दराज पोखरेल, अजयबाबु सिवाकोटी, दिनेश कोइराला विजयी भएका छन् ।
त्यस्तै खुल्ला महिलातर्फ केन्द्रीय सदस्यको ९ सिटमा संस्थापनबाट ८ जना विजयी भएका छन् । संस्थापन इतरबाट सरिता पर्साइमात्र विजयी भएकी छन् । संस्थापनबाट डा. डिला संग्रौला, पुष्पा भुसाल, डा. आरजु राणा देउवा, ईश्वरी न्यौपाने, अम्विका बस्नेत, रंगमति शाही, रमा कोइराला पौडेल र सुशीला ढकाल आचार्य विजयी भएका छन् ।

त्यस्तै, अपांगता भएको केन्द्रीय सदस्य एक सिटमा संस्थापनतर्फका उम्मेद्वार मदनकृष्ण श्रेष्ठ विजयी भएका छन् । अल्पसंख्यक तर्फको केन्द्रीय सदस्यमा पनि संस्थापनतर्फकै उम्मेद्वार प्रदीप सुनुवार विजयी भएका छन् । पिछडिएको क्षेत्रको केन्द्रीय सदस्यमा अर्जुनजंगबहादुर सिंह प्रदेश २ महिलामा निर्वाचित चित्रलेखा यादव पनि संस्थापनतर्फकै उम्मेद्वार हुन् ।

प्रदेश २ बाट प्रतिनिधित्व गर्ने खुल्ला दुई केन्द्रीय सदस्यमा संस्थापनतर्फका रमेश रिजाल र आनन्द ढुंगाना निविरोध निर्वाचित भइसकेका छन् ।
प्रतिक्रिया