शुक्रबार, फागुन २२, २०८२

माओवादीभित्र मधेसमा नयाँ धुव्रिकरण !

मात्रिका यादव, गिरिराजमणि पोखरेलहरुको बनिबनाँउ समुहमा जन्मियो तेस्रो धार, बहुमत केन्द्रीय नेता तेस्रो धारतिर

शित्तल शर्मा २०७८ पुष ६ गते १२:३२

लालवन्दी । सधैजसो केन्द्रीय नेताहरुको शक्ति स्वार्थका कारण विवादमा रहिरहने माओवादी केन्द्रको प्रदेश २ को पार्टी संरचना निर्माण यसपटक पनि विवादमुक्त हुन सकेको छैन । तर विवाद भएपनि यसपटक प्रदेश २ को सम्मेलनले मधेसको पार्टी संरचनामा नयाँ खालको धुव्रिकरण निर्माण गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कुर्सी तोडफोड विनै माओवादीको पहिलो पटक प्रदेश २ को सम्मेलन सम्पन्न भएको छ । नत्र यस अगाडी गाँउ कमिटि गठन हुँदा समेत कुनै न कुनै लफडा र झमेला आउने गरेको थियो । तर यसपटक प्रदेश सम्मेलनले नेतृत्व चयन नगरी सकेपनि प्रदेश पदाधिकारी चयन अगाडी प्रदेश कमिटि सदस्य चयनमा एउटा विधि माओवादीले बनाएको छ । जसकाकारण सम्मेलन विना कुर्सी तोडफोड नै सकिएको छ । अव सोही विधिका आधारमा लगाइएको भागवन्डाका आधारमा प्रदेश २ का आठ ओटै जिल्लाले समानुपातिक समावेशी हुने गरी नाम सिफारिस गर्नुपर्ने छ । त्यही निर्देशन प्रदेशले मातहातका आठ ओटै जिल्लालाई निर्देशन गरेको छ ।

२५ मंसिरमा उदघाटन भएको सम्मेलन ४ पुसमा बन्दशत्र सम्पन्न भई २६७ जनाको प्रदेश समिति बनाउने गरी जिल्लालाई नै सोही आधारमा प्रदेश समितिमा रहने नेताहरुको नाम टुंग्गो लगाई सिफारिस गर्न निर्देशन गरिएको छ ।

माओवादीको अहिले प्रदेश २ इन्चार्ज गणेश साह छन् ।

प्रदेश २ मा रहेका माओवादी केन्द्रका २६ जना केन्द्रीय सदस्य (एक जना महादेव यादवको निधन) मध्ये वहुमत केन्द्रीय सदस्य यसपटक प्रदेश २ को सम्मेलनमा एकै ठाँउमा उभिएको माओवादीका मधेसका नेताहरुले वताएका छन् ।

प्रदेश २ (मधेस)मा माओवादीभित्र अनेक धार छन् । खासगरी पूर्व एकताकेन्द्र (जनमोर्चा) समुहका नारायणकाजी श्रेष्ठ-गिरिराजमणि पोखरेलहरुको समुह र मात्रिका यादव समुहका नेताहरुका वीचमा चर्काे अन्तरविरोध थियो । एकले अर्काे समुहलाई स्वीकार नगर्ने स्थितीले प्रदेश २ का हरेक जसो संगठन निर्माणमा अनेक वखेडा निम्तँदै आउँथ्यो ।


तर यसपटक भने प्रदेश २ मा नयाँ धुव्रिकरण भएको छ । दुई धारका वीचमा अर्काे तेस्रो धार देखा परेको छ । त्यसमध्ये तेस्रो अहिले सतहमा देखिएको धार बलियो बनेको छ । यो धारको नेतृत्व प्रदेश इन्चार्ज गणेश साहलगायतका नेताहरुले गरिरहेका छन् । यो धारमा साह, युवराज भट्टराई, अजय शंकर नायक, राजु खड्का, रामेश्वर राय यादवहरु देखा परेका छन् । महेन्द्र पासवान पनि निकट निकट देखिन खोजेका छन् ।


मत्रिका यादवसँग भने भरत साह, जगत यादव लगायतको समुह छ । त्यस्तै गिरिराजमणि पोखरेलहरुसँग प्रल्लाद वुढाथोकी, विश्वनाथ साह लगायत छन् । पहिले यही समुहमा रहेका राजु खड्का भने तेश्रो धारमा पुगेका छन् । यसले श्रेष्ठ–पोखरेलको विगत देखि नै रहँदै आएको समुह यसपटक प्रदेश २ मा टुक्रिएको छ । मात्रिका यादव समुहका नेताहरु पनि प्रदेशका वहुमत केन्द्रीय सदस्य एकगठ भएपछि तेस्रो धारको पछि पछि लाग्न थालेको छ ।


सम्मेलनमा यसपटक मात्रिका यादव देखि गिरिराजमणि पोखरेलसम्म पनि पुगेनन । लालवन्दीमै रहेका पोखरेल सम्मेलन स्थल पुगेनन । तर उनले त्यही आफु वसेको स्थानवाट सम्मेलनलाई सुक्ष्मरुपमा अध्ययन गर्ने र आफु निकट नेताहरु परिचालन गर्ने काम गरेका थिए । मात्रिका यादव पनि यसपटक आफु सममेलनमा पुगेनन । दुवै नेताविना पनि सम्मेलनमा नयाँ धुव्रिकरणका साथ अगाडी वढेको चर्चा अहिले प्रदेश २ का माओवादीहरुका वीचमा छ ।


पूर्व मन्त्री रामेश्वर राय यादवको अध्यक्षतामा गठन भएको ९ सदस्यीय अध्यक्षमण्डलमा सम्पन्न बन्दशत्रमा प्रल्हाद बुढाथोकीको राजनैतिक प्रस्ताव र युवराज भट्टराई (समीर)को सङ्गाठनिक प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको थियो ।

यसरी लगाइयो प्रदेश कमिटिमा भागवन्डा


माओवादीले प्रदेश २ कमिटिमा कुन जिल्लाबाट कति सदस्य आउने भनी एउटा विधि बनाएको छ । त्यही विधिभित्र रहेर प्रदेश कमिटिमा रहने नेताहरुको नाम टुंग्गो लगाएर प्रदेश कमिटिमा पठाउन निर्देशन गरिएको छ । एक माओवादी नेताले मेरोन्यूजलाई दिएको जानकारी अनुसार, पार्टीको सदस्य अनुपात संख्या, प्रतिनिधी प्रदेश अनुपात संख्या, स्थानिय तह निर्वाचित अनुपात संख्या, संगठन, समानुपातिक मत अनुपात संख्या, महिला खुल्ला, मुश्लिम संख्या, दलित संख्या गरेर प्रतिनिधीको कोटा तोकेर नै एउटा विधीमा ढालेर यसपटक प्रदेश कमिटिमा रहने नेताहरुको नाम जिल्लालाई नै टुंग्गो लगाएर पठाउन आन्तरिक सर्कुलर गरिएको छ ।


अहिले प्रदेश कमिटिमा रहने संख्या कुल २६७ जना रहने गरी वन्दशत्रले संख्यामात्र टुग्गो लगाएको ती माओवादी नेताले बताए । यसका आधारमा अव सप्तरीलाई २९ जना, सिराहलाई ३९ जना, धनुषालाई ३४ जना, महोत्तरीलाई ३७ जना, सर्लाहीलाई ३४ जना, रौतहटलाई ४० जना, बारालाई ३० जना, पर्सालाई २४ जनाको नाम टुंग्गो लगाएर पठाउन भनेको छ ।


दलित र मुश्लिमको संख्याभित्र सम्वन्धित जिल्लाले महिला ३५ प्रतिशत समेटनुपर्ने, प्रत्येकमा युवा २० प्रतिशत नघटने गरी सिफारिस गर्नुपर्ने पनि माओवादीले विधि टुग्गो लगाएको छ ।

‘केही जिल्लामा यो टुग्गाउन पनि विवाद छ, तर केही जिल्लाले भने विवादरहित रुपमा नाम टुग्गो लगाएर प्रदेश कमिटिमा पठाउन थालिसकेका छन्,’ माओवादी नेताहरुको भनाई छ ।

सदस्य अनुपात संख्याका आधारमा २४ जना, प्रतिनिधी प्रदेश अनुपात संख्याका आधारमा २६ जना, स्थानिय तह अनुपात संख्याका आधारमा २४ जना, संगठनका आधारमा २१ जना , समानुपातिक मत संख्याको अनुपातका आधारमा २३ जना महिला खुल्ला ६५ जना, मुश्लिम संख्या ३३ जना, दलित ५१ जना गरी २६७ जनाको प्रदेश कमिटि वन्नेछ ।

हेर्नुहोस प्रदेश कमिटि भागवन्डाको सूची

यस्ता छन् पदाधिकारीका आकांक्षी


प्रदेश २ को नेतृत्वका लागि माओवादीभित्र अहिले ५ जना नेताहरु चर्चामा देखिएका छन् । रामकुमार शर्मा, अनिल श्रेष्ठ, अशोक जैसवाल, दिलिप साह अध्यक्षको दौडमा छन् ।

त्यस्तै सचिवमा राजन पौडेल (बारा), दिपक यादव (धनुषा) लगायतका नेताहरु चर्चामा छन् । पहिले पार्टीको अन्तरिम विधान, समानुपातिक समावेशीता, पार्टीको मत संख्या, पार्टीको अवस्था सहित जिल्लालाई सदस्यहरुको नाम टुग्गो लगाई पठाउन प्रदेशले गरेको निर्देशनका आधारमा नाम आएपछि सर्वसम्मतीको प्रयास गर्ने र टुग्गो लगाउन नसके २६७ जनाको प्रदेश कमिटिवाट पदाधिकारीको चुनाव गराउने तयारीमा अहिले माओवादी लागेको छ ।

प्रतिक्रिया