बुधबार, वैशाख ९, २०८३

छुरा प्रहार गरी हत्या गरेको आरोपमा पाँच पक्राउ

मेरोन्यूज २०७८ पुष ७ गते १५:२१

जनकपुर । छिमेकीलाई छुरा प्रहार गरी हत्या गरेर फरार रहेको आरोपमा सिरहाको गोलबजार नगरपालिका– ६ का पाँच जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका ६ डोहटिया निवासी २६ वर्षीय रामकुमार सदालाई छुरा प्रहार गरी हत्या गरेको र २६ वर्षीय रिकेश सदालाई घाइते बनाइ फरार भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।

Advertisement
NiccNicc

पक्राउ पर्नेमा गोलबजार नगरपालिका ६ निवासी १९ वर्षीय श्रवणकुमार मण्डल, सोही ठाउँका २० वर्षीय कालु भन्ने रोहन विश्वकर्मा, १८ वर्षीय सौकात खान, १९ वर्षीय धर्मेन्द्र यादव र गोलबजार नगरपालिका–२ निवासी २२ वर्षीय भुवनप्रसाद महतो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।

प्रदेश २ प्रहरी कार्यालय जनकपुरधाम, जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारको संयुक्त टोलीले विभिन्न स्थानबाट पाँचै जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए ।

गत शनिबार राति बाटोमा होहल्ला गर्दै आफ्नो घरतर्फ जाँदै गरेका रामप्रसाद सदालगायतको समूहलाई दीपक साहलगायतको समूहले किन होहल्ला गरेको, हल्ला नगरी आफ्नो घर जानु भने पश्चात् सोही विषयमा दुबै पक्षबीच विवाद भई झगडा हुँदा उक्त घटना भएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका रामकुमार सदाको उपचारको क्रममा गोलबजारस्थित भूमिजा अस्पतालमा मृत्यु भएको थियो । रिकेश सदाको भने हाल सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटना पश्चात आक्रोशित मृतकका आफन्त तथा स्थानीयले राजमार्ग अवरुद्ध पार्नुको साथै बजार, पसलसमेत बन्द गराएका थिए ।

प्रतिक्रिया