दास हत्या प्रकरण : आफन्तले बुझे शव

कैलाली । कैलालीको जानकी गाउँपालिका–९ का अर्जुन दासको शव आफन्तले बुझेका छन् । पुस ३ गते बीभत्स हत्या गरेको अवस्थामा मृत फेला परेका दासको शव सोमबार आफन्तले बुझेका हुन् । पोस्टमार्टमपछि उनको शव टीकापुर अस्पतालमै राखिएको थियो । हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने भन्दै उनका आफन्तले अस्पतालबाट शव उठाउन मानेका थिएनन् ।
आइतबार भएको सर्वपक्षीय छलफलपछि जानकी गाउँपालिकाले माग सम्बोधनका लागि ६ बुँदे लिखित सहमति गरेपछि उनका परिवारले आज (सोमबार) शव बुझेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । गाउँपालिका कार्यालयले पीडित परिवारलाई किरिया खर्चबापत तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने, दोषीलाई कारबाहीको दायरामा ल्याउने, मृतककी छोरीलाई उच्च शिक्षा पढाउने जिम्मा लिने, परिवारको एक जना सदस्यलाई रोजगारी लगाउन प्रदेश सरकारसँग अनुरोध गर्ने, सम्बन्धित निकायसँग समन्वय गरेर दासको सालिक बनाउन पहल गर्ने सहमति भएको छ ।
पीडित पक्षले उठाएका शहीद घोषणा र दासको नामबाट अमरावती सामुदायिक वनको नामकरण गर्ने माग गाउँपालिकाको क्षेत्राधिकारभित्र नपर्ने भएकाले यी दुई बुँदामा छलफल नभएको गाउँपालिकाले जनाएको छ । गत शुक्रवार करिब ५ बजेतिर उनी घरबाट निस्केका थिए । शनिवार उनको शव रुखमा बाँधेर टाउको काटिएको अवस्थामा अमरावती सामुदायिक वनमा फेला परेको थियो ।
जंगलमा घाँस काट्न गएकाहरूले उनको शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । यता जिल्ला प्रहरी कार्यालय कैलालीले घटनामा संलग्नहरूको पहिचान भइसकेको र उनीहरूलाई चाँडोभन्दा चाँडो पक्राउ गर्न लागिपरेको जनाएको छ । घटनामा संलग्न आरोपित एक जनालाई पक्राउ गरी अनुसन्धान जारी राखेको डिएसपी जोशीले बताए ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया