आइतबार, पुष १३, २०८२

भक्तपुर कार दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

मेरोन्यूज २०७८ पुष १५ गते ९:११

काठमाडौँ । भक्तपुरबाट तीव्र गतिमा काठमाडौँतर्फ आउँदै गरेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् ।

मध्यपुरथिमि नगरपालिका ४ चारदोबाटोस्थित अरनिको राजमार्ग खण्डमा तीव्र गतिमा काठमाडौँ आउँदै गरेको बा ४ च ५७६ नम्बरको कार सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । कारले गुडिरहेको अर्को ट्याक्सीलाई समेत ठक्कर दिएको थियो ।

घटनामा कारमा सवार धनुषा उपमहानगरपालिका १५ घर भई काठमाडौँ महानगरपालिका शान्तिनगर बस्ने वर्ष २२ का अभिषेक शाहको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

दुर्घटना भएलगत्तै घाइते भएका तीनै जानलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा उपचारकै क्रममा शाहको मृत्यु भएको हो । दुर्घटनामा कार चालक सिन्धुली कमलामाई नगरपालिका १२ का २५ वर्षीय सविन घिसिङ गम्भीर घाइते भएका छन् ।

डिभाइडरमा ठोक्किएर पुनः ट्याक्सीसँग ठोक्किएपछि घाइते भएका ट्याक्सी चालक रामेछापको मन्थली नगरपालिका १२ घर भई हाल ललितपुर बस्ने ३२ वर्षीय भीमसेन खत्री भने राति उपचारपछि घर फर्किएका छन् । डिभाइडरमा ठोक्किएको कार पूर्ण रुपमा क्षति भएको छ ।

प्रतिक्रिया