कांग्रेस कोषाध्यक्ष र प्रवक्ताका लागि नेताहरु लविङमा व्यस्त

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विधान अनुरुप आफूले मनोनयन गर्न पाउने पार्टी कोषाध्यक्ष र प्रवक्ता मनोनयन गर्ने तयारी गरेका छन् । प्रवक्ता र कोषाध्यक्षसँगै केही नेताहरुलाई केन्द्रीय सदस्यमा पनि मनोनयन गर्ने तयारी देउवाको छ ।
कांग्रेस विधानमा कोषाध्यक्ष बनाउन केन्द्रीय सदस्यमा निर्वाचित एक नेतालाई सभापतिले केन्द्रीय सदस्यमा प्रस्ताव पेस गर्ने केन्द्रीय समितिले बहुमतले पारित गर्नुपर्ने व्यवस्था छ । विधानको यो व्यवस्थाले गत मंसिर २४ देखि २७ गतेसम्म काठमाडौँमा सम्पन्न महाधिवेशनबाट निर्वाचित १२१ केन्द्रीय सदस्य सबै कोषाध्यक्षका लागि योग्य हुन्छन् ।
यसअघि १२ औं महाधिवेशनबाट चित्रलेखा यादव र १३ औं महाधिवेशनबाट सितादेवी यादव कोषाध्यक्ष बनिसकेका छन् । १२ र १३ औंमा कोषाध्यक्ष प्रत्यक्ष निर्वाचित हुने व्यवस्था थियो । १३ औं महाधिवेशनपछि बसेको महासमिति बैठकले पदाधिकारीमा कोषाध्यक्षमात्रै मनोनित गर्ने व्यवस्था विधानमा गरेको थियो । त्यही अनुरुप अहिले केन्द्रीय सदस्यहरु कोषाध्यक्ष बन्न लागिपरेका छन् ।
कोषाध्यक्ष बन्नका लागि राजनीतिक पृष्ठभूमिका नेताहरुदेखि व्यापारिक पृष्ठभूमिका नेताहरु लविङमा व्यस्त छन् । १२ औं महाधिवेशनबाट कोषाध्यक्षमा निर्वाचित र १३ औं महाधिवेशनमा कोषाध्यक्षमा पराजित भएर अहिले प्रदेश २ का तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित चित्रलेखा यादवले पनि कोषाध्यक्षमा दाबी गरिरहेकी छन् ।
उनीसँगै महिला नेतृहरु पुष्पा भुसाल, डिला संग्रौला र अम्बिका बस्नेतले पनि कोषाध्यक्षमा आकांक्षा देखाएर लविङ गरिरहेका छन् । यादव पहिले नै कोषाध्यक्ष बनेको तर परफरमेन्स राम्रो नदेखिएको भन्दै देउवा सन्तुष्ट नरहेको बालुवाटार निकट स्रोतले बतायो ।
महिला कोषाध्यक्ष बन्ने अवस्थामा भुसाल, संग्रौला र बस्नेतमध्येबाट एकजना बन्ने देउवा निकट स्रोतले बतायो । तर, यो पटक महिलाबाट कोषाध्यक्ष बन्ने सम्भावना ज्यादै न्यून रहेको स्रोतहरु बताउँछन् । यसपटक कांग्रेस कोषाध्यक्षका लागि व्यापारी पृष्ठभूमिका तर केन्द्रीय सदस्यमा निर्वाचित विनोद चौधरी र उमेश श्रेष्ठले पनि दाबेदारी प्रस्तुत गरिरहेका छन् ।
दुवैको आर्थिक हैसियत बलियो भएको र व्यवस्थापनमा पनि अब्बल भएकाले चौधरी र श्रेष्ठमध्ये एकजनालाई देउवाले कोषाध्यक्ष बनाउन सक्ने स्रोतले बतायो । दुवै अहिले देउवा निकट छन् ।
त्यतिमात्र होइन महाधिवेशनमा महामन्त्रीका दाबेदार रहेका सुदूरपश्चिमका नेताद्वय एनपी साउद र रमेश लेखक पनि कोषाध्यक्ष बन्न लागिरहेका छन् । स्रोतका अनुसार साउदले कोषाध्यक्षमा दाबी गरेका अरुको सम्भावना कम रहेको पनि निकटस्थहरु बताउँछन् ।
यता प्रवक्तामा भने साउद, लेखकसँगै पहिलो पटक केन्द्रीय समितिमा पुगेका रामहरि खतिवडा, उदयशमशेर राणा, नैनसिंह महर, वर्तमानसरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, गोविन्द भट्टराईलगायत लागिरहेका छन् ।
प्रतिक्रिया