माओवादी महाधिवेशनभित्रको अदृश्य विवादको कहानी

काठमाडौं । माओवादीको महाधिवेशन पुस ११ गतेदेखि चलिरहेको छ । १२ गते वन्दशत्रमा अध्यक्ष प्रचण्डले आफनो दस्तावेज पेश गरे । देब गुरुङले विधान संसोधन प्रस्ताव त्यसैदिन पेश गरे । त्यसपछि २५ ओटा समुहमा झण्डै १७ सय प्रतिनिधिलाई विभाजन गरी दस्तावेज र विधानमाथि वहसका लागि मंगलवार दिनभरको समय छुट्टाइयो ।
बुधबार दिउँसो १ वजेवाट समुहमा छलफलमा आएका सुझाव तथा टिप्पणीहरु समूहवाट चयन भएका टोली नेताहरुले बन्दसत्र हलमा राख्न शुरु गरे । त्यसबेलासम्म माओवादीको महाधिवेशन वन्दशत्र ठिकठाकसँग सामान्य प्रक्रियाकै आधारमा चलिरहेकै थियो ।
बुधबार दोस्रो समुहको सुझाव राख्ने गरी जव प्रदेश २ का दुई समुहमध्ये एकका सत्यनारायण भगत मञ्चमा पुगे, त्यसपछि उनले राखेको लिखित सुझावमा उल्लेखित एउटा शब्दले वन्दशत्रभित्र असहज परिस्थिति सिर्जना ग¥यो ।
उनले विषय राखे, त्यस दिन त ठिक्कै थियो, केही भएन । तर विहिवार भने भगतले राखेको टिप्पणीका कारण नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेलले वन्दसत्रको मुल हलमा प्रवेश नै गरेनन् । अघोषित बहिष्कार गरे उनीहरुले ।
कारण थियो– भगतको लिखित सुझावमा गिरिराजमणि पोखरेलमाथि ‘अपराधी’ को संगीन आरोप ।
त्यसपछि भने पोखरेल र श्रेष्ठले वन्दशत्रमा सहभागिता नै जनाएनन । आफूमाथि गम्भिर आक्षेप लागेको र त्यसले रातभर निदाउनसमेत नसकेको भन्दै पोखरेलले त्यस विषयमा कुनै टुंग्गो पार्टीले नलाउँदासम्म वन्दसत्रमै नजाने अड्डी लिए ।
त्यसपछि भने माओवादीले बन्दशत्रमा चलिरहेको समूह रिपोर्टिङ रोकेर आकस्मिक स्थायी समिति बैठक नै बोलाउनु परेको थियो । अघिल्लो दिन रिपोर्टिङका क्रममा भगतले वोलेको अभिब्यक्तिमा आत्मआलोचना गराउने निर्णय गदै माओवादीको स्थायी समिति विहिवार दिँउसो सकियो ।
त्यसपछि भगतले आफूले वोलेका अभिब्यक्तिमा परेको एउटै मात्र शब्दको आत्मआलोचना लिखित रुपमा गरे । भगतले गरेको आत्मआलोचनामा सुधारेको एउटै शब्द हो –गिरिराजमणि पोखरेललाई लगाएको अपराधीको आरोप मात्र फिर्ता ।
भगत निकट स्रोतले मेरोन्यूजसँग भने,–‘उहाँले जे विषय राख्नुभएको छ, त्यसमा आत्मआलोचना होइन, गिरिराजमणिमाथि अपराधी भनी लगाएको एउटै शब्दमा मात्र स्थायी समितिले आत्मआलोचना गर्न निर्देशन गरेकोले त्यसैमा मात्र गर्नुभएको हो ।’

भएको के हो ?
माओवादी भित्र मात्र नभई कम्युनिष्ट आन्दोलनभित्र पनि रामवृक्ष यादव (मास्टरसाव) स्थापित नेता हुन् । २००३ सालमा यादवको जन्म भएको थियो । माओवादी पार्टीका तत्कालिन केन्द्रीय नेता यादव माओवादीले जनयुद्धको आरम्भ गदैगर्दा २०५१ सालमै मारिएका थिए ।
०५१ भदौ १ गते तत्कालिन पार्टीले नेपाल बन्द आयोजना गरेको थियो । उक्त नेपाल वन्दको कार्यक्रम सफल पारी भोलिपल्ट भदौ २ मा आफ्नो गाउँमा फर्किंदै गर्दा सिभिल डेसका पुलिस र नेपाली काङ्ग्रेसको केन्द्रीय योजना मुताबिक जनकपुरको बरमझियामा यादवको अमानवीय ढङ्गले हत्या गरिएको माओवादीको भनाई छ ।
मास्टरसापका नामले मधेसमा लोकप्रिय माओवादी नेता यादव मारिएपछि माओवादीले उनको नाममा युद्धकालमा जनमुक्ति सेनाभित्र रामवृक्ष स्मृति विग्रेड नै वनाएको थियो ।
यादव माओवादीभित्र यति लोकप्रिय मधेसका नेता थिए भन्ने कुरा कृष्ण सेन इच्छुकले उनका नाममा कविता नै लेखेवाट पनि पुष्टि हुन्छ । सेनले २०५६ भदौं १ मा यादवको सम्झनामा बर्मझिया नामक कविता नै लेखेका थिए ।
हेर्नुहोस् सेनको कविता



यादवको स-परिवार माओवादी युद्दमा सहभागी थिए । पत्नी रामकुमारी यादवकाे शान्ति प्रक्रियामा आएपछि दुर्घटनामा परेर निधन भएकाे थियाे । उनीहरुका एउटा छोरा पनि जनयुद्धका क्रममा शहीद भएका थिए । उनको स्मृति दिवस पनि सम्भवतः हिजो विहिवार नै थियो ।
रामवृक्षका दुई छोरीहरु अहिले पनि माओवादी केन्द्रको केन्द्रीय समितिमा छन् – वोधमाया यादव र सुनिता यादव । वोधमाया अहिले राज्यमन्त्री भएकी छन् संघीय सरकारको ।

यीनै पृष्ठभुमिका यादवको शालिक माओवादीले महोत्तरीको खयरमारामा बनाएको थियो ।
तर माओवादीकै स्थायी समिति सदस्य गिरिराजमणि पोखरेल केपी ओली नेतृत्वको शिक्षामन्त्री भएका बेला निर्मल लामाको नाममा शिक्षालय स्थापनाको निहुँमा भत्काइयो । यो माओवादी युद्ध लडेका नेता कार्यकर्तालाई पचेन । त्यसपछि नै पोखरेलमाथि शहीदको शालिक भत्काउन लगाएको भन्दै भगतले रिपोटिङका क्रममा संगीन आरोप लगाएका हुन् ।
भगतले समूह नेताका तर्फबाट रिपोटिङ गर्ने क्रममा अहिलेसम्म यस अपराधमा संग्लन्न रहेका गिरिराजमणि पोखरेल सहित अन्य कुनै अपराधीमाथी कुनै कारवाही नहुनु पार्टीको गम्भिर कमजोरी भएको मत राखेका थिए ।
हेर्नुहोस भगतले वन्दशत्रमा राखेको लिखित मतको वुँदा

नरायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेलहरु रामवृक्ष यादव मारिदा माओवादीवाट अलग भइसकेका थिए । उनीहरुले तत्काल जनयुद्धको बाटोमा जान नसकिने भन्दै अलग भएका थिए । त्यसपछि नेकपा एकताकेन्द्र नारायणकाजी समुहलाई नै छोडेर प्रचण्डहरुले नेकपा (माओवादी) पार्टी गठन गरेका थिए ।
त्यसैका केन्द्रीय सदस्य थिए रामवृक्ष यादव । निर्मला लामाहरु भने नारायणकाजीहरु तिरै थिए । यसले पनि माओवादीभित्र युद्ध लडेका र त्यसवेला युद्धबाट पन्छिएका नेताहरुकाबीचमा अहिलेसम्म पनि कँही न कँही अन्तरविरोध कायमै छ ।
मधेसमा गिरिराजमणि पोखरेलहरुको एउटा समुह छ, अर्काे मात्रिका यादवहरुको । त्यसमा पनि अहिले तेस्रो ध्रुव नारायणकाजी समूह छोडेका र मधेसमा अलिक सक्रिय क्रियाशिल नेताहरु रहेको तेस्रो धार पनि माओवादीको मधेसमा जन्मिएको छ । यही पृष्ठभूमिमा आयोजना भएको माओवादी महाधिवेशनमा रामवृक्ष यादवको शालिक भतकाउन लगाईएको विषय जोडदार रुपमा उठेको हो ।
भगतले यो विषय उठान गरेपछि भने पोखरेल विहिवारको वन्दशत्रको हलमा सहभागी नै भएनन । प्रज्ञा भवनमै पुगेपनि नारायणकाजी श्रेष्ठ समेत वन्दशत्रमा सहभागी भएनन । नारायणकाजी श्रेष्ठ पक्षधर नेताहरु बैठकमै सहभागी नभएपछि नन्दकुमार प्रसाईले आफनो समूहको रिपोटिङ राख्ने क्रममा केही नेताहरु वन्दसत्रमा किन सहभागी हुनु भएन ? भन्दै प्रश्न उठाएका थिए ।
त्यसपछि फेरि अर्का समूह नेता घनश्याम रजकले पनि रामवृक्षका छोराको स्मृति दिवसको दिन आजै परेको भन्दै श्रद्धान्जलीबाट रिपोर्टिङ शुरु गरेका थिए । उनले प्रचण्डमाथि अनगिन्ती प्रश्न र आलोचना सहभागीले उठाएपनि सुनेर बसेको तर केही नेताहरु आरोप लाग्दैमा आलोचना सुन्नै नसक्ने गरी भाग्न नहुने भन्दै आलोचना गरेका थिए ।
एकपछि अर्काे आलोचना आउन थालेपछि भने पोखरेल पक्षले पनि भगतले लिखित रुपमा आत्मआलोचना गर्नुपर्ने भन्दै हस्ताक्षर अभियान नै चलाएका थिए । कमल बुढाथोकी, रामबाबु बैठा लगायतकाले भगतले आत्मआलोचना गर्नुपर्ने या उनलाई कारवाही गर्नुपर्ने भन्दै हस्ताक्षर गरेर पार्टी नेतृत्वलाई वुझाएका थिए ।
त्यसपछि भने एकपछि अर्काे गरी थप अस्वस्थ आरोप/ प्रत्याराेप हुन थालेपछि प्रचण्डले स्थायी समिति बैठक बोलाएर यस विषयमा छलफल चलाएका थिए । त्यसपछि नै भगतलाई उक्त शब्दप्रति आत्मआलोचना गराउन लगाउने समझदारी माओवादीभित्र बनेको छ ।
पेखरेलले पनि यस विषयमा आफनो लिखित धारणा पार्टी हेर्डक्वार्टरलाई दिएको बताएको छ । उनको पत्र र भगतको लिखित आत्मआलोचनाको पत्र आजकाे बन्दसत्रमा वाचन गरिने गरि हिजो विवाद सामसुम पार्ने प्रयास भएको माओवादीका महाधिवेशन प्रतिनिधिहरुले बताएका छन् ।
प्रतिक्रिया