मंगलबार, वैशाख ९, २०८२

इङ्लिस प्रिमियर लिगमा चेल्सी र लिभरपुल बराबरीमा रोकियो

मेरोन्यूज २०७८ पुष १९ गते ७:५५

काठमाडौं । इङ्लिस प्रिमियर लिगको गएरातीको खेलमा चेल्सी लिभरपुलसँग रोकिएको छ ।

लिभरपुलले खेलको पहिलो हाफमा दुई गोल गरे पनि गोल जोगाउन सकेन । लिभरपुलका साडियो मानेले खेलको नवौं मिनेटमा गोल गरी पहिलो अग्रता दिलाएका थिए भने दोस्रो गोल २६ औं मिनेटमा मोहम्मद सलाहाले गरे ।

तर, पहिलो हाफको अन्तिम समयमा २ गोल गर्दै चेल्सी लयमा फर्किएपछि अन्ततः खेल २–२ गोलको बराबरीमा रोकिएको हो ।

खेलको ४२औँ मिनेटमा चेल्सीका लागि कोभासिचले २० याड टाढाबाट गरेको प्रहारले सोझै जाली चुमेको थियो । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा क्रिस्टियन पुलिसिचको गोलमा चेल्सी लयमा फर्किएको थियो ।

दोस्रो स्थानको चेल्सी र तेस्रो स्थानको लिभरपुलले अंक बाँडेपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको अग्रता १० अंकमा पुगेको छ । सिटी ५३ अंकसहित शीर्ष स्थानमा छ ।

सिटीले शनिबार आर्सनललाई हराउँदै शीर्ष स्थानमा ११ अंकको अग्रता बनाएको थियो । चेल्सी ४३ अंकसहित दोस्रो स्थानमा छ भने तेस्रो स्थानको लिभरपुलको ४२ अंक छ । लिभरपुलले सिटी र चेल्सीको भन्दा एक खेल कम खेलेको छ ।

प्रिमियर लिगअन्तर्गत आइतबार भएको अर्को खेलमा लिड्स युनाइटेडले बनर्लीलाई ३–१ अन्तरले पराजित गरेको छ भने ब्राइटोनले इभरटोनलाई ३–२ ले पराजित गरेको छ ।

प्रतिक्रिया